मिति : २०८१ वैशाख २६, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(12 votes, avg 4.67/5.00)
Text size:-
+
-

`करिष्माको सुन्दरतासँग आफूलाई दाँज्थें` : रूवी राणा

सुमन गैरे, काठमाण्डौ, २०७० वैशाख १२, बिहिवार

नेपालको पहिलो मिस नेपाल रूवी राणालाई दर्शकले लामो समयको अन्तराल पश्चात ठूलो पर्दामा देख्दैछन् । मिस नेपाल भएपश्चात भुतुक्कै भएँ नि र अनमोल फिल्ममा अभिनय गरेकी रुवी लामो समय व्यवसाय र पारिवारिक कारणले अल्झिरहिन् । यहि जेठ ३ गते रिलिज हुन लागेको फिल्म 'अन्तराल' मार्फत उनको कमव्याक हुँदैछ । ४० बर्षको उमेरसम्म आईपुग्दा पनि आफ्नो सुन्दरतालाई कायम राखेकी रूवीलाई दर्शकले कत्तिको रूचाउँछन् त्यो भोलीको कुरा । अहिले भने उनै सुन्दरीसँग फिल्मीखबरले गरेको बिशेष कुराकानी प्रस्तुत छ -
 

 

कुरा अन्तरालबाट नै शुरू गरौं, फिल्म नगर्ने मुड बनाएर बसेकी रुवीलाई के कुराले आकर्षित गर्यो ? अझ भनौं, फिल्म खेल्न किन राजि हुनुभयो ?
फिल्म नै गर्दिन भनेर बसेकी चाहिं थिईन । मलाई उचित समयको पर्खाई थियो जुन लामो अन्तराल पश्चात दीपा बहिनी (निर्देशक)ले राम्रो कन्सेप्ट ल्याउनु भयो । मैले अन्तरालको स्क्रिप्टलाई निकै गहिरिएर अध्ययन गरें । फिल्मको कथाले मलाई यसरी बाँध्यो कि गर्दिन भन्न नै सकिन र मैले कमव्याक हुने निर्णय गरें ।

 

अन्तरालमा निर्वाह गर्नुभएको भुमिकाका लागि तपाईं पहिलो र अन्तिम विकल्प भएको भन्दै दीपाजीले तपाईंलाई भेट्न र अभिनयको प्रस्ताव राख्न निकै दु:ख पाउनु भएछ । तपाईंलाई भेट्न यति गार्‍हो हुनुको खास कारण के थियो ?
उहाँले कति दु:ख पाउनु भयो त्यो त मलाई थाहा भएन । फिल्म क्षेत्रमा लामो ग्याप भएका कारण धेरै जनासँग घुलमिल नहुँदा मलाई भेट्न अलि गार्‍हो भएको हुनसक्छ । फेरि भेट्न खोज्ने सबैलाई समय दिन पनि गार्‍हो नै हुन्छ । दीपा बहिनी जुन सोच लिएर कन्फिडेन्टका साथ मलाई भेट्छु नै भनेर आउनु भयो मैले नाईं भन्न नै सकिन । उहाँले जब मलाई भेट्नुभयो तब उहाँको आँखामा जुन कन्फिडेन्ट देखें त्यतिले मात्र पनि मलाई अन्तरालसँग गाँसिन बाध्य बनायो । त्यसैमाथी उहाँले हुबहु फिल्मको झलक यसरी प्रस्तुत गर्नुभयो कि मैले यो फिल्म गर्नै पर्छ भन्ने लाग्यो । र, आज म यहि फिल्म हेर्न र प्रतिक्रिया लिन एकदमै आतुर छु ।

 

भुतुक्कै भएँ नि र अनमोल पश्चात किन गायब हुनुभयो ?
पहिलो कुरा त मेरो परिवार, व्यवसाय र अध्ययनका कारण चाहेर पनि फिल्म क्षेत्रमा आउन सकेकी थिईन् । अर्को कुरा, त्यतिबेलाको वातावरण मैले खोजेजस्तो थिएन । नेपालको फिल्म उधोगको पनि परिपक्व भईनसकेको फिल गरेकी थिएँ । अहिलेको वातावरण खोजे जस्तै पाएकी छु र फिल्म उधोग पनि परिपक्व भएको छ । अब सायद गायब हुन्न ।

 


यो बिचमा फिल्मका लागि कत्तिको अफर आए ?
धेरै नै अफर आए । एक किसिमले दुई वटा फिल्म गरेर नै म थकित भईसकेकी थिएँ जसले गर्दा मलाई फिल्म गर्ने जोश आएन । अब अहिले मेरो हातमा दुई फिल्म (अन्तराल र आधि बाटो) छ । म यि दुई फिल्मको प्रतिक्षामा छु । यि दुई फिल्मले नै मलाई हराएको जोश निकाल्न मद्दत गरेको छ ।

 

के-के कारणले तपाईंलाई थकित बनायो ?
मुख्यत: जति दु:ख गरिन्थ्यो त्यो अनुसारको प्रतिफल पाईन्थेन । पारिश्रमिकको कुरा देखि लिएर थुप्रै समस्याहरू थिए जसले गर्दा काम गर्ने उत्साह पनि आउँथेन । करिष्मा, मौसमी, गौरी, निरूता जसरी संघर्ष गरेर लागिरहेको भए सायद म हराउँथिन होला । तर मलाई एक्स्पेक्टेशन धेरै थियो जुन पाउन सकिन । अहिले जस्तो सोचेकी छु त्यस्तो पाएकी छु । हुनसक्छ भोलीका दिनमा मेरा सन्तान पनि फिल्ममा आउन सक्छन् ।

 

मिस नेपाल हुनु पूर्व पनि अफर त आएका थिए होला नि !
मिस नेपाल हुनुभन्दा अगाडी फिल्ममा त अफर आएन तर भारतिय अभिनेता सुनिल सेठ्ठीको पर्सनल फेसन डिजाईनरले एउटा फेसन शोका लागि अफर गर्नुभएको थियो । त्यस्तै म भारतमा जन्मेको हुनाले र बुवा भारतिय आर्मीमा हुनुभएकाले म मिस इण्डियाको लागि सर्ट लिस्टमा परेकी थिएँ तर फाईनान्सियल्ली मैले त्यसलाई पूरा गर्न सकिन । त्यसपश्चात मैले नेपालमा नै आफ्नो अध्ययनलाई अगाडी बढाउन व्यस्त भएँ । सँगै पकेट मनिका लागि मैले स्कुलमा टिचिङ पनि गरें, ट्युसन पढाएँ । पछि गोरखापत्रमा मिस नेपालको फर्म खुलेको देखेर सहभागी हुने निर्णय गरें र पहिलो मिस नेपालको ताज पनि भिरें । फिल्म क्षेत्रबाट टाढा रहेकाले त्यो बेला म नेपाली फिल्मको दर्शक मात्र थिएँ ।

 

त्यो बेलाको स्ट्रगल लाईफ कस्तो थियो ?
म भारतको देहरादूनमा जन्मेकी हुँ । बुवा भारतिय सैनिक भएकाले नै भारतका बिभिन्न मुलुकमा हाम्रो बसाई हुन्थ्यो । बाल्यकाल भारतमा बिताउँदा खासै दु:ख थिएन । बुवा रिटाएर भएपछि हामी नेपाल सिफ्ट भयौं अनि हाम्रो स्ट्रगल लाईफ शुरू भयो । त्यो बेला पूर्णरूपमा बुवामाथि नै हामी डिपेन्ड थियौं । बुवाले कहिले पैसा दिनुहोला र सपिङ गरौंला भन्ने हुन्थ्यो । बुवालाई सधैं कति दु:ख दिनु भनेर १० कक्षा पढ्दाको बेला नै बिरगञ्जको कपडा पसलहरूमा गएर ड्यामेज साडीहरू बटुलेर त्यसलाई कटिङ गर्थें र त्यसलाई कुर्ता बनाएर बेच्थें । त्यो बेला देखि नै मैले आफ्नो स्ट्रगल लाईफ शुरू गरें । त्यसपछि पनि पकेट मनिका लागि स्कुलमा पढाएँ, ट्युसन पढाएँ र अहिले पनि म आफ्नो व्यवसायमा स्ट्रगल नै गरिरहेको छु ।

 

त्यो बेला कस्ता कस्ता सपना बुन्नु हुन्थ्यो ?
एसएलसी दिने बित्तिकै मैले ग्ल्यामर फिल्डमा लाग्ने सपना बुनेकी थिएँ । अझ त्यसमा पनि फिल्म इन्डष्ट्रीमा लाग्ने सपना देखेकी थिएँ । आफूलाई सधैंभरि नै स्टाईलिस गेटअपमा प्रस्तुत गर्न रूचाउँथे । तर त्यो बेलाको नेपाली परिवेशमा फेसन, स्टाईल र ग्ल्यामरले राम्रो स्थान थिएन । जसले गर्दा मैले यो कुरालाई निरन्तरता दिन गार्‍हो देखेर एयर होस्टेजका लागि तयारी गरेकी थिएँ । अचानक लाईफमा यस्तो मोड आयो कि म नै नेपालको पहिलो मिस नेपाल बन्न पुगें ।

 

यस्तै युवाहरूले देखेको सपनालाई मुख्य बिषय बनाएर निर्माण गरेको फिल्म 'अन्तराल' रिलिजको सँघारमा छ । तपाईंको बुझाईमा अन्तराल कस्तो फिल्म हो र यसले आम दर्शकमा कस्तो छाप छोड्ला ?
मैले मात्र हैन यौवना उमेरमा हरेक युवाहरूले देखेका सपना र भोगेका पिडाहरूलाई अन्तरालले देखाउने प्रयास गरेको छ । मलाई लाग्छ हरेक उमेर समुहका दर्शकहरूका लागि अन्तराल एउटा राम्रो फिल्म हुनेछ । दुई शब्दमा भन्दा आम नेपालीको भोगाईको फिल्म हो 'अन्तराल' ।

 

नेपाली फिल्म कत्तिको हेर्नुहुन्थ्यो ?
मैले पहिलो पटक कुसुमे रूमाल फिल्म हेरेकी थिए जुन असाध्यै मन परेको थियो । त्यसपछि थुप्रै फिल्महरू हेरें । बिशेषगरी करिष्मा मानन्धरको फिल्म निकै हेर्थें अनि उहाँको सुन्दरतासँग आफूलाई दाँज्थें । साँच्चिकै उहाँ जति राम्री हुनुहुन्थ्यो त्यति नै राम्रो अभिनय पनि गर्नुहुन्थ्यो । मलाई त्यो बेला फिल्ममा आउन सजिलो थिएन तरपनि करिष्मा जस्तो बन्ने सपना बुन्थें । त्यसैगरी कृष्टी मैनालीको अभिनय पनि मलाई निकै मन पर्थ्यो ।

 

कहिले काहिं फिल्ममा ढिला प्रवेश गरें भन्ने लाग्दैन ?
मनमा कता कता खड्किरहन्छ तर पछुतो भने छैन । त्यो बेला नै फिल्ममा आएको भए करिष्मालाई टक्कर दिन्थें जस्तो लाग्थ्यो र अहिले पनि लाग्छ । सायद समयको माग थियो र म त्यो बेला नआएर अहिले आएकी छु । अब हिरोको पछाडी साडी, गुन्यूचोली र स्कर्ट लगाएर नाच्न त सक्दिन र रहर पनि छैन । तर, बोल्ड खालको भुमिका पाएँ भने न्याय गर्नसक्छु भन्ने लाग्छ । समयको अन्तराल लामो भएपनि पूरा गर्न नसकेर आधि बाटोमा छोडेका सपनाहरूलाई अब पूरा गर्दैछु । फिल्मी भाषामा भन्दा हिरोको इण्ट्री अन्तिममा हुन्छ भने जस्तै अब रुवीको इण्ट्री हुँदैछ । सायद केहि सकारात्मक सन्देश दिन सकिन्छ कि !

 

रुवी राणा ४० बर्षको उमेरमा आईपुग्दा सुन्दरतामा अझै निखार आउँदै जानुको रहस्य के होला ?
(लामो हाँसो) सबैभन्दा पहिला त म जतिसुकै दु:ख परेपनि त्यसलाई म कहिल्लै झल्काउँदिन, सकारात्मक सोच राख्छु । त्यतिले मात्र पुग्दैन, म योगा गर्छु, स्विमिङ गर्छु, ज्यास्मिन हेल्थ क्लब जान्छु र अझै फिट हुनलाई किक बक्सिङ जाँदैछु । यस्तै राम्रो सोच राख्छु अनि राम्रो खाना खान्छु । म आफ्नो सुन्दरता र शारीरिक स्वास्थ्यमा निकै ध्यान दिन्छु ।

 

अभिनयमा त लाग्नु भयो । मेकिङमा लाग्ने सोच छ कि नाईं ?
मेरो अन्तिम लक्ष्य भनेकै फिल्म मेकिङ हो । मैले श्रीमानसँग पनि कुरा गरिसकेकी छु । पहिला फिल्म अभिनयसँगै यो क्षेत्रलाई नजिकबाट बुझ्छु अनि निर्देशन सहित प्रोड्क्सनमा आउनेछु । यदि निर्देशन गरिहाले भने सबैभन्दा पहिला लभ स्टोरी फिल्म बनाउनेछु । त्यसपश्चात एक्सन फिल्म बनाउनेछु ।

 

छोरीलाई पनि हिरोईन बनाउने कि !
जेठी छोरी अहिले बल्ल १५ बर्षकी भएकी छ र उ पढ्दै छ । मेरो सोच उसले अभिनय गरोस्, डान्स सिकोस् भन्ने नै छ । उसले फिल्म क्षेत्रमा चासो देखाई भने सबैभन्दा पहिला म आफ्नै प्रोडक्सनबाट इन्ट्रोड्यूस गराउँछु ।

 

मिस नेपालहरूले फिल्म प्रति खासै चासो देखाएको पाईंदैन । तपाईंलाई के लाग्छ यसको कारण ?
मिस नेपाल भन्ने बित्तिकै सामाजिक कार्यमा लाग्नुपर्छ भन्ने दबाब छ । फिल्म क्षेत्रलाई त्यति राम्रो नजरले हेरेको पाईंदैन । म मिस नेपाल भएको नाताले के भन्छु भने, मिस नेपालहरूले आफूलाई चिनाउन र आफ्नो कला प्रस्तुत गर्न यो सजिलो र राम्रो क्षेत्र हो । जसको उदाहरण झरना बज्राचार्य, माल्भिका सुब्बा, मलिना जोशीहरू हुन् ।

 

अन्तमा के भन्न चाहनुहुन्छ ?
रुवी राणालाई मिस नेपालको रूपमा भन्दा पनि अब कलाकारको रूपमा हेर्न आग्रह गर्छु । अन्तराल रिलिज हुँदैछ एक पटक हेरेर प्रतिक्रिया दिन दर्शक तथा शुभचिन्तकहरूलाई बिनम्र अनुरोध पनि गर्छु ।