मिति : २०८१ वैशाख २५, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(10 votes, avg 2.20/5.00)
Text size:-
+
-

`पुरूषसँग प्रतिष्पर्धा गर्नुको मज्जानै बेग्लै` : रेखा थापा

सुमन गैरे, काठमाण्डौ, २०६९ चैत्र २३, शुक्रवार

यसअघि निर्माण भएका रेखाको फिल्म र अहिले रिलिज हुन लागेको रेखाको फिल्म 'हमेशा'मा के फरक छ ?
रेखाको हरेक फिल्म फरक र नयाँ टेस्टको हुन्छ । त्यसैमाथी मेरो व्यानरमा बनेको हरेक फिल्म दर्शकको रोजाईकै हुन्छ । यसपटक पनि दर्शकको रोजाईलाई ध्यानमा राखेर बिगतका फिल्ममा भन्दा यसमा केहि नयाँ कुरा दिने कोसिस गरेका छौं । अर्को कुरा हिजो गरिएका गल्तीहरूलाई सुधारेर अझ राम्रो फिल्म तयार गरिएको छ ।

 

फिल्म सफल हुने कुरामा कत्तिको ढुक्क हुनुहुन्छ ?
पहिलो कुरा त नयाँ बर्षको उपहार स्वरूप दर्शकलाई नयाँ फिल्म दिन पाउँदा निकै खुसी छु । दर्शकले मेरो उपहारलाई सहर्ष स्विकार्नु हुन्छ भन्ने कुरामा म विश्वस्त छु ।

 

अरू निर्देशक भन्दा सबिर श्रेष्ठसँग काम गर्न सजिलो लाग्छ रे ! सबिरमा के छ त्यस्तो बिशेषता ?
सबिर दाई निर्देशक नबन्दै मैले उहाँसँग काम गरिसकेको थिएँ । उहाँको काम गर्ने शैली, मेहनत, मिलनसार, सहयोगी भावना देखेर नै रेखा फिल्मसले कस्ले चोर्यो मेरो मनबाट उहाँलाई निर्देशक बनायो । त्यसपछि त झन् उहाँ मेरो सबैभन्दा प्रिय निर्देशक हुनुभयो । जस्ले राम्रो काम गर्छ उनी नै प्रिय पात्र हुन्छ । अहिले हमेशामा अझै धेरै मेहनत गर्नुभएको छ । मेरो लागि मात्र हैन उहाँको लागि पनि हमेशा फिल्म महत्वपूर्ण छ ।

 

फिल्म सफल हुनु र असफल हुनुमा सबैभन्दा बढि हात कस्को हुन्छ ?
यहाँ फिल्म सफल हुनु र असफल हुनुको दोष निर्देशकलाई दिईन्छ तर म यो कुराको बिरोधी हुँ । फिल्म सफल र असफल हुनुमा सबैभन्दा महत्वपूर्ण भुमिका निर्माताको हुन्छ । त्यसपछि मात्र निर्देशक, कलाकार, प्राबिधिक अनि सञ्चारकर्मीको भुमिका रहन्छ । रेखा फिल्मको हरेक फिल्म सफल हुनुको मुख्य कारण निर्माता छबि ओझा नै हो । छबि सच्चा निर्माता हो त्यसैले सच्चा निर्माताले बनाएको फिल्म कहिल्लै असफल हुँदैन । यहि क्रममा छबिले बनाएको पछिल्लो फिल्म हमेशा पनि सफल हुन्छ भनेर म ग्यारेन्टी दिन सक्छु । यहाँ निर्माताहरू मोजमस्तीका लागि आउने हुनाले पनि फिल्म असफल हुन गएको हो । हामी कर्ममा विश्वास गर्छौं र सफल छौं ।

 

रेखा थापाको प्रतिष्पर्धा हिरोईनसँग भन्दा पनि हिरोसँग हुन्छ भनिन्छ नि ! तपाईंलाई के लाग्छ ?
खासमा मैले अभिनय गर्ने फिल्म प्राय नारी प्रधान हुन्छन् जसमा मलाई नै हिरो बनाईन्छ । अनि मेरो फिल्मसँग जुध्न आउने अर्को फिल्मको मुख्य पात्र पुरूष हिरो हुने गरेकाले पनि यो प्रतिष्पर्धा भएको हो । अर्को कुरा, पुरूष पात्रले दमन गरेको हाम्रो समाजमा नारीले पुरूषसँग प्रतिष्पर्धा गर्दा नारी र पुरूष समान हुन् भन्ने सन्देश जान्छ। त्यसैले पनि मेरो प्रतिष्पर्धा पुरूषसँग नै हुन्छ । यो प्रतिष्पर्धा पूर्णरूपमा स्वच्छ र सैद्धान्तिक हुन्छ । फेरि पुरूषसँग प्रतिष्पर्धा गरेर जित्नुको मज्जा नै बेग्लै छ नि !

 

तर बोर्ड अध्यक्ष हुने कुरा चलिरहँदा अहिलेका अध्यक्ष पप्पुसँग हारेको जस्तो देखियो । यहाँ पुरूषसँग हार्दा कस्तो लाग्यो त ?
यो मेरो हार हो भनेर कस्ले भन्छ ? अहिले म अध्यक्षलाई नै सल्लाह दिने भएकी छु । मलाई सल्लाहकारको रूपमा नियुक्त गरिएको छ । त्यसैले मैले हारेकी छैन । यो सैद्धान्तिक लडाईं भएकाले हार जीत भन्दा पनि उपलब्धि के भयो भन्ने कुरा महत्वपूर्ण छ । अहिले म सल्लाहकार भएको सुन्दा आश्चर्य लाग्क्न सक्छ तर कालान्तरमा पुग्दा सबैले यसलाई सकारात्मक नै सोच्नेछन् ।

 

रेखा अब राजनीतिमा आउने चर्चा चलिरहेको छ नि !
हो, अब म विस्तारै राजनीतिमा पनि आउँछु तर उपयुक्त समयको पर्खाईमा छु । म मेरा शुभचिन्तकहरूलाई के विश्वस्त पार्न चाहन्छु भने म शत प्रतिशत राजनीतिमा एक दिन पक्का आउने छु ।

 

राजनीतिमा आउनु भयो भने कुन पार्टीको झण्डा बोक्नु हुन्छ त ?
अहिले यहि पार्टीको बोक्छु भनेर भन्न सक्ने अवस्था छैन । धेरै सोचविचार गरेर आउनु पर्छ । अहिले म यो झण्डा बोक्ने बिषयमा विचाराधिन छु ।

 

टिकट पाए अहिले नै चुनावमा भिड्ने कि नभिड्ने त ?
म टिकट माग्दै जान्न । यदि कसैले टिकट दिन्छ भने सोचेर फिल्डमा उत्रन्छु । परि आएको खण्डमा संघर्ष त गर्छु नै । अहिलेको राजनैतिक अवस्था त्यति ठिक नभएकाले चुनावमा आईहाल्ने बारे सोचेको छैन । हेरौं आगामी दिनले कुन मोडमा लैजान्छ ।


अन्तमा आफ्ना शुभचिन्तकहरूलाई के भन्न चाहनुहुन्छ ?
म हेरेक वर्गका दर्शकहरूमा पुगिरहेकी हुन्छु । उहाँहरूले मेरो फिल्मलाई पर्खेर बसेको प्रतिक्रिया दिनुहुन्छ । मैले यति मात्र भन्छु कि हमेशा तपाईं दर्शकहरूकै लागि बनाएको पूर्ण मनोरञ्जनात्मक फिल्म हो । यो फिल्मले तपाईं हाम्रो सम्बन्धलाई हमेशा हमेशा निकट बनाईरहनेछ ।