मिति : २०८१ वैशाख २६, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 4.00/5.00)
Text size:-
+
-

परिवारका लागि म राम्रो मान्छे हैन : छबिराज ओझा (निर्माता)

सुमन गैरे, काठमाण्डौ, २०६९ चैत्र ६, मंगलवार

शुरूमा फिल्मको डिस्ट्रिब्युसन गरेर फिल्म उधोगमा छिरेका छबिराज ओझा अहिले फिल्म उधोगका नम्बर वान निर्माताको रूपमा चिनिन्छन् । बि.सं. २०४६ सालमा राजेश हमाललाई लिएर युगदेखी युगसम्म फिल्म निर्माण गरेर निर्माताको ट्याग भिरेका छबिले चैत्र ३० गते रिलिज हुन लागेको फिल्म 'हमेशा' सम्म आईपुग्दा १४ वटा फिल्म निर्माण गरेका छन् भने अहिले 'लोफर' नामक फिल्मको सुटिङ तयारी गर्दैछन् । फिल्म निर्माणको यो २ दशक यात्रामा यस्तै रहेछ जीन्दगीमा मात्र फेल खाएका छबिले बाँकी फिल्मबाट फस्ट डिभिजन ल्याएको देखिन्छ । उनले निर्माण गरेका सफल फिल्महरू युगदेखी युगसम्म, नाता, जन्मभूमी, कस्तो साईनो, हिरो, अजम्बरी नाता, हिम्मत, किस्मत, हिफाजत, कस्ले चोर्‍यो मेरो मन, रावण र अन्दाज हुन् । फिल्म निर्माणमा सफल निर्माताको रूपमा चिनिएका छबिसँग फिल्मीखबरले गरेको कुराकानी प्रस्तुत छ -

 

युगदेखि युगसम्म देखि हमेशासम्म आईपुग्दा फिल्म उधोगमा के-के परिवर्तन पाउनु भयो ?
त्यो बेला थोरै र राम्रा फिल्म बन्थे अलि धेरै समय पनि चल्थे । जसरी प्रबिधीले फड्को मारेको छ त्यसैगरी अहिले फिल्म निर्माणमा बाढी आएको छ । फिल्मकर्मीहरू पहिला भन्दा अहिले अल्छि हुन थालेका छन् जसले गर्दा राम्रा फिल्म दर्शकले हेर्न पाएका छैनन् । अहिले नबुझिकन नै फिल्ममा हाम फाल्ने गरेको पाईएको छ । परिवर्तनको कुरा गर्ने हो भने सबैभन्दा बढि परिवर्तन दर्शकमा आएको छ । दर्शकहरूले करोडौंमा बन्ने बिदेशी फिल्मसँग लाखमा बन्ने नेपाली फिल्मको तुलना गर्नुहुन्छ । हामीलाई दर्शकले कपि गर्छ भन्नुहुन्छ तर उहाँहरू आफै नै कपि हुनुहुन्छ । दर्शकहरू बिहान उठे देखि बेलुका सुतुञ्जेलसम्म पनि बिदेशी कुराबाट प्रभावित हुनुहुन्छ । अनि उहाँहरूले गरेको कपि चाहिं कपि हैन ?

 

दर्शक कपि छन् भनेर हो तपाईंले निर्माण गरेका अधिकांश फिल्म कपि गरिएका ?
मैले किताव पढेर परिक्षा दिएको हो । म पढेर नै बोर्ड फस्ट भएको छु । कुनै किताव पढ्नु गलत हैन भन्ने मलाई लाग्छ ।

 

किताब पढे पनि परिक्षामा तपाईं चिट चोर्न सिपालु देखिनुहुन्छ नि त !
हो, कति कुरालाई हामीले प्रभावित गरेको हुन्छ । म किताब पढ्छु तर परिक्षामा घोकेर अथवा चिट चोरेर हुबहु सार्दिन । पढेको कुरालाई आफ्नो ढंगले राम्रो भाषा मिलाएर लेख्ने हो भने धेरै अंक आउँछ । र, तपाईंले पनि देख्नु भएकै छ म करिब सबै परिक्षामा फस्ट डिभिजनमा पास भएको छु । कतिमा त डिस्टिङ्सन पनि ल्याएको छु । म आफ्नो भाषाशैली प्रयोग गर्छु र म पास हुन्छु ।

 

फेल चाहिं कति पटक हुनुभयो ?
यस्तै रहेछ जीन्दगी फिल्म निर्माणमा म फेल भएँ । फिल्म आफैमा नराम्रो हैन तर चलेन । सायद त्यो बेला समय खराब थियो । अहिले पनि त्यो फिल्मले मलाई गिल्टी फिल गराउँछ । एक पटक फेल हुँदा धेरै पाठ पनि सिकें । त्यसपश्चात अहिलेसम्म फेल नहुने कोसिस गरिरहेको छु ।

 

त्यसोभए तपाईं पढेरै आज सफल हुनु भएको हो त ?
२५ बर्ष देखि यो क्षेत्रमा निरन्तर लागिरहेको छु । यो क्षेत्रलाई मैले राम्रोसंग बुझेको छु । निरन्तर लगनशिलताले मलाई आज सफल निर्माता बनाएको छ । मैले शैक्षिक योग्यता धेरै हासिल गर्न नसके पनि फिल्म क्षेत्रको शिक्षामा पिएचडी नै गरेको छु ।  म हरेक दिन नेपाली र बिदेशी फिल्म हेर्छु अनि दर्शकको टेस्टलाई बुझेर फिल्म बनाउँछु ।

 

तपाईं आफूले निर्माण गरेका मध्ये कुन फिल्मबाट बढि सन्तुष्ट हुनुहुन्छ ?
व्यापारलाई छोडेर हेर्दा अजम्बरी नाताबाट म सबैभन्दा बढि सन्तुष्ट छु । त्यो फिल्मको कथाबस्तु मलाई अहिले पनि मन पर्छ । जतिले हेरे सबैले यसको कथाबस्तुलाई रूचाए । त्यसपछि कस्ले चोर्‍यो मेरो मन र अन्दाजबाट म अरूभन्दा बढि सन्तुष्ट छु ।

 

तपाईंका अधिकांश फिल्म नारी प्रधान हुन्छन् । किन ?
तपाईं बिगतलाई फर्केर हेर्नुस् जति फिल्म बनेका छन् ति मध्ये अधिकांश सफल फिल्म नारी प्रधान नै छन् । किनकी महिलाको मन छुन सक्ने फिल्म नै सफल हुन्छ । एउटा महिलाको मन जित्नु भनेको उसको परिवारका सदस्यको पनि मन जित्नु हो । तर अहिले समय केहि परिवर्तन भएको छ । त्यसैले नारी प्रधान फिल्म अहिले चलिहाल्छ भन्ने चाहिं छैन । त्यसैले पनि मेरो आगामी प्रोजेक्ट 'लोफर' नारी प्रधान फिल्म हुनेछैन । यो अहिलेका युवाहरूको बिषयमा केन्द्रित फिल्म हुनेछ ।

 

रेखा थापासँग बिबाह गरे पश्चात अझ तपाईंले नारी कथालाई बढि फोकस गर्नुभयो । रेखाजीलाई हिट बनाउन त हैन यस्तो गरिएको ?
रेखाजीको पहिलो फिल्म हिरो पछि अझ बढि नारी प्रधान फिल्म चलेको हो तर मैले उहाँलाई हिट बनाउन फिल्म बनाएको हैन । रेखाजी आफैमा राम्रो कलाकार हुनुहुन्छ । मैले कोईला खानीबाट हिरा निकालेको मात्र हो चमक दिने काम रेखाजीले नै गर्नुभएको हो । मैले शो रूम खोलें ग्राहकलाई तान्ने काम रेखाजीले गर्नुभयो । तर सत्य यो हो कि, रेखाजीलाई हेरेर नै कथा तयार गरिन्थ्यो ।
 

नारी प्रधान फिल्म त बनाउनु भयो तर सेक्सको बिषयमा तपाईंको ध्यान गएको पाईएन नि ! सेक्स कन्टेन्टलाई किन बेच्न चाहनु भएन ?
म परिवार एकसाथ बसेर हेर्न मिल्ने खालको सफा फिल्म बनाउँछु । मेरो फिल्म आउने बित्तिकै परिवारका सदस्यहरू एकसाथ हल भित्र छिर्न हिच्किचाउँदैनन् ।  सेक्सको बिषयलाई उठाएर सस्तो प्रचारबाजी गरेर मलाई फिल्म चलाउनु छैन । बरू म यो क्षेत्र नै त्याग्न सक्छु तर सेक्स बेचेर फिल्म बनाउँदिन । मेरो फिल्ममा सेक्सका सिम्बोलिक सिन नहुने हैनन् तर ति परिवाससँग बसेर हेर्न सकिने खालका हुन्छन् ।

 

हमेशा कस्तो खालको फिल्म हो ?
यो रोनाधोना, एक्सन, गीत, मायाप्रेम सबै मिसिएको मसलेदार मनोरञ्जनात्मक फिल्म हो । २ घण्टा १५ मिनेटसम्म दर्शकलाई यो फिल्मले पूर्ण मनोरञ्जन दिनेछ । त्यसैमाथी कस्ले चोर्‍यो मेरो मनबाट सफल भएका निर्देशक सबिर श्रेष्ठको काम निकै राम्रो छ । मेरो उत्कृष्ट फिल्मको लिस्टमा हमेशा पनि पर्छ ।

 

उही गीत, रोनाधोना, फाईट राखेर सधैं मसलेदार फिल्म मात्र बनाई रहने कि मेकिङमा परिवर्तन पनि गर्ने ?
हुनत मैले हरेक फिल्मको मेकिङमा समयानुसार परिवर्तन गरिरहेको छु । तर यसपटक भने पूरै परिवर्तन गर्दैछु । यसअघिका फिल्म बिना वर्कशप फ्लोरमा जान्थे । कति फिल्ममा त कलाकारले स्पटमा नै कथा सुन्थे । तर यसपाली भने सबै नयाँ टिमलाई लिएर तीन महिना देखि वर्कशप गराएर फिल्म बनाउँदै छु । अब मैले बनाउन लागेको लोफर फिल्मबाट दर्शकले छबि ओझाको नयाँ निर्माणशैली फिल्म हेर्न पाउनेछन् । समयानुसार चल्नुपर्छ भन्ने मैले पनि बुझेको हुनाले अबका फिल्म पहिलाका जस्ता मसलेदार हुँदैनन् तर मनोरञ्जनात्मक कमर्शियल भने हुनेछन् । केहि पूराना ढर्रालाई मैले परिवर्तन गर्नेछु । 

 

छबि ओझा भन्ने बित्तिकै फिल्म क्षेत्रले असल, मेहनती, इमान्दार व्यक्तिको रूपमा लिन्छन् । आफूलाई आफै मूल्याङ्कन गर्दा के-के कमजोरी तपाईंले आफूभित्र पाउनुहुन्छ ?
म फिल्म मेकिङ र फिल्म उधोगका लागि राम्रो मान्छे हो तर परिवारका लागि म राम्रो मान्छे हैन । किनकी मैले बुवाआमालाई समय दिन सकिन । सानै उमेर देखि नै यो क्षेत्रमा लागें । बिभिन्न कारणले श्रीमतीहरूसँगको सम्बन्ध राम्रो हुन सकेन । त्यसैले म पारिवारिक रूपमा असफल व्यक्ति हो । मैले फिल्म क्षेत्रलाई नै परिवार माने जसले गर्दा आफ्नो पारिवारिक जीवन सफल हुन सकेन । सायद यो मेरो कमजोरी होला ।

 

परिवारकै कुरामा रेखाजीसँगको सम्बन्धलाई जोड्न मन लागि हाल्यो । तपाईंहरूको सम्बन्ध किन बिग्रियो ?
सम्बन्ध किन बिग्रियो भन्ने कुरा नखोल्दा नै ठिक होला । समय त मिल्दैन हामी सधैं मिलेर बस्न सक्छौं भन्ने पनि हुँदैन । कुरा यति बुझ्नुस् केहि उहाँका गल्ती होलान् केहि मेरा । हुनत बिहे भन्ने कुरा नै कम्रमाईज हो तर हामी धेरै कम्रमाईज गर्न सकेनौं र टाढियौं ।


अहिले पनि एकअर्काको माया त लाग्छ होला नि !
एक पटक मायाले जरा गाडी सकेपछि उखेलिन गार्‍हो हुन्छ । २/४ दिन भेटेको मान्छेको त माया लाग्छ भने उहाँसँग त मैले १२ बर्ष एउटै छानामुनी बिताएको छु । हामी अलग भए पनि प्रायजसो कुरा भईरहन्छ । उहाँ मेरो अफिसमा आईरहनु हुन्छ । माया भएर नै होला उहाँले अमेरिकाबाट आउँदा केहि उपहारहरू पनि ल्याईदिनु भयो । माया नजिक हुँदा हुने र छुटिदा नहुने भन्ने हुँदैन ।

 

अब साथी खोज्ने कि नखोज्ने ?
अब चाहिं खोज्दिन । मैले अब यो फिल्म क्षेत्रलाई नै आफ्नो जीवनसाथी बनाई सकें । म अब अन्तिम सास सम्म पनि यहि फिल्ममै रहन्छु ।