मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(215 votes, avg 4.96/5.00)
Text size:-
+
-

`मेरो कुच्चेको अनुहारलाई कसैले पत्याउथेन` : विल्सन विक्रम राई (तक्मे बुढो)

सुमन गैरे, काठमाण्डौ, २०६९ फाल्गुन १७, बिहिवार

विल्सन विक्रम राई, यो नाम न फिल्म उधोगका लागि नयाँ हो न दर्शकमाझ । बाल्यकालदेखि नै कला क्षेत्रमा संघर्षरत विल्सनले छोटो समयमा पाएको चर्चा र व्यस्तताको साथमा दर्शकको मायाले उनलाई अहिलेका सुपरस्टार भन्दा कसैले आपत्ति जनाउन सक्दैन । बिशेषगरी मेरी बास्यैमा निर्वाह गरेको तक्मे बुढोले उनलाई नाम दाम सबै दिएको छ । हुनत उनले अभिनय गरेका थोरै मात्र फिल्म रिलिज भएका छन् तर जे जति भए ति सबैमा उनको कामको तारिफ गरिन्छ । अहिलेका यिनै युवा सुपरस्टार विल्सनसँग प्रदर्शनको क्रममा रहेको फिल्म 'रिदम' को बिषयमा गरिएको अर्न्तवार्ता प्रस्तुत छ -

 

रिदम फिल्म रिलिज मिती नजिकिंदै गर्दा कस्तो अनुभुती भईरहेको छ ?
गत शुक्रबार अष्टनारायण हलमा एउटा फिल्म हेर्न गएको थिएँ । हल भित्र प्रवेश गर्नै लाग्छ सिठ्ठी र तालीको बर्षा भईरहेको थियो । फिल्म छुट्यो कि भनेर हतार हतार भित्र पस्दा त...(हाँस्दै) रिदमको ट्रेलरमा मलाई देखेर दर्शकले ताली बजाईरहेका रहेछन् । यसले एउटा उत्साह थपेको छ र फिल्मको प्रतिक्रिया लिन आतुर छु । त्यसैमाथी यहि फिल्मको लागि भनेर युके टुरलाई रोकेर बसेको छु । यो फिल्मलाई हिट बनाएर म युके टुरमा जान्छु ।

 

रिदममा के छ त्यस्तो जसले तपाईं आफैलाई निकै उत्साहित बनाएको छ ?
यो फिल्ममा देश र जनताको कुरा छ । माया प्रेमको कुरा छ । त्यसैले यो मेरो मात्र धडकनको सुरताल हैन, यो त सम्पूर्ण नेपालीको धड्कनको सुरताल हो । अहिलेको युवा जो हरेक क्षेत्रबाट ठगिएको छ त्यसको प्रतिनिधि पात्रको रूपमा म यो फिल्ममा देखिंदै छु । वास्तवमा भन्दा साँच्चिकै मैले एउटा राम्रो फिल्ममा काम गर्न पाउँदा खुसी लागेको छ । मेरो यो प्रतिक्षित फिल्म हो त्यसैले पनि म उत्साहित हुनु स्वाभाविक हो ।

 

फिल्ममा त तपाईंले निकै राष्ट्रियताको कुरा गर्नु भएको छ रे ! नेतालाई पनि उत्तिकै व्यङ्ग्य गर्नु भएको छ रे ! तपाईंको भुमिकाबाट दर्शकले के पाठ सिक्ने ?
हुनत लेखकले जे लेख्नु भयो र निर्देशकले जे गर्न भन्नु भयो त्यो मैले गरेको हुँ । तर, यो कुरा सत्य हो कि आम नेपालीले देशको बारेमा बोल्न नसकेको कुरा मैले फिल्म मार्फत बोलेको छु । यसले दर्शकमा देश र नेताको बारेमा बोल्नुपर्छ भन्ने सन्देश दिन्छ । नेपाल र नेपालीको पिडाको एक अंश हो रिदम । अर्को भन्नै पर्ने कुरा, यो फिल्म गर्दा मलाई इम्प्रोभाईजको जरूरी भएन किनकी मैले देखिरहेको र अनुभव गरिरहेको चरित्रलाई सजिलै निर्वाह गरें । मेरो मन नेपाली हो त्यसैले पनि नेपाली मन भएको भुमिका निर्वाह गर्न त्यति गार्‍हो नभएको हुनसक्छ ।

 

विदेशको कार्यक्रम होस् या स्वदेशको तपाईंले रिदमको नाम निकै लिनुहुन्छ । युके टुर पनि रोकेर बसेको छु भन्नु हुन्छ । फिल्मले निकै पैसा दिएको छ कि क्या हो ? कि बिदेशको राईट दिएको छ निर्माण युनिटले ?
मैले आठ लाख चाहिं लिएको छैन र मागेको पनि छैन । किनकी, अहिले निर्मातालाई आठ लाख उठाउन नै हम्मे हम्मे परेको छ । मैले आठ लाख डिमाण्ड गर्नु भनेको मेरो नामले २० लाखको व्यापार गर्नु हो । अहिले नै म २० लाखको व्यापार दिन सक्ने कलाकार भईसकेको छैन जस्तो लाग्छ । जहाँसम्म रिदको नाम लिएको र बिदेश राईटको कुरा गर्नु भएको छ, रिलिज हुन लागेको आफू अभिनित फिल्मको कुरा गर्नु, प्रचार प्रसार गर्नु मेरो धर्म नै हो । म जहाँ जान्छु आफूले अभिनय गरेको फिल्मको नाम लिन्छु । अहिले रिदम चल्न लागेको छ त्यसैले मेरो मुखमा रिदम झुण्डिनु स्वाभाविक हो । अर्को कुरा, मैले भनेर कुनै देशमा मेरो फिल्म रिलिज हुन्छ भने हरेक फिल्म म आफ्नो तर्फबाट रिलिज गर्नेछु । रिदम पनि मैले आफ्नो तर्फबाट केहि देशमा रिलिजको लागि कुरा गरेको छु । सायद उहाँहरूले एउटा राम्रो फिल्म रिलिज गर्नबाट चुक्नु हुनेछैन भन्ने बिश्वास छ ।

 

पछिल्लो समयमा दर्शकले खासै नेपाली फिल्मलाई त्यति रूचाएको पाईएको छैन । तपाईंको विचारमा दर्शकले कस्तो फिल्म रूचाउँछन् जस्तो लाग्छ ?
पिज्जा, बर्गर, हट डग, अमेरिका, लण्डन, अष्ट्रेलियाको कुरा गर्दैमा दर्शकले फिल्मलाई मन पराउँछन् भन्ने छैन र त्यो नयाँ धारको फिल्म पनि हुँदैन । हामी नेपालीलाई त गुन्द्रुक, सिस्नु, ढेंडो, आँटो, डाँडापाखा कै कुरा मन पर्छ र यसले नै नेपाली पन दिन्छ जुन दर्शकको मनमा बसेको छ । गएको एक बर्षमा मैले करिब २० देशको भ्रमण गर्दा अनुभव गरेको कुरा हो यो । ति देशका फिल्ममा कहिं न कहिं उनीहरूको माटोको कुरा उठेको हुन्छ तर हामी अर्काको देशको माटोको कुरालाई बढि जोड दिंदै छौं ।  हामी नेपाली फिल्मकर्मीहरूको फिल्ममा नेपाली पन हराउँदै गएको छ । यो नेपाली पन तपाईंले रिदममा भने पाउन सक्नुहुनेछ ।

 

पिज्जा, बर्गर, हट डग, अमेरिका, लण्डन, अष्ट्रेलियाको कुरा नगर्ने हो भने, दर्शकलाई संसार नचिनाउने हो भने हामीले कसरी बलिउड र हलिउडसँग कम्पिटिशन गर्ने त ?
बन्दुक, हेलिकोप्टर, महंगा गाडी, होटल, रेष्टुरेन्ट, बिदेशका चिल्ला सडक देखाउँदै कनिकुथी गर्दै अंग्रेजी बोलेर हामी बलिउड र हलिउडको दाँजोमा पुग्न सक्दैनौं । हामी उनीहरूसँग यि कुरामा कम्पिटिशन गर्न पनि सक्दैनौं । हामीले मात्र हाम्रो फिलिङग्सले जित्न सक्छौं, हाम्रो नेपाली भावनाले उनीहरूलाई जित्न सक्छौं । हामीले हाम्रै देश भित्रको कथालाई बोकेर बिश्व हाँक्न सक्छौं । यि कुरा पहिलेका फिल्ममा पाईन्थ्यो तर अहिले हामीले हाम्रै नेपाली पनलाई बिर्सदै गएका छौं जसले गर्दा हामी दर्शकको मनमा बस्न सकेका छैनौं ।

 

तपाईं त नयाँ जेनेरेशनको मान्छे, सोच त पुरानै जेनेरेशनको रहेछ नि !
म पुरानै कलाकारको काखमा हुर्केको मान्छे हुँ । म फिल्ममा केहि गर्छु गर्न नसके यहिं मर्छु भनेर आएको मान्छे । त्यसैले नेपाली फिल्मको मर्मलाई, भाषालाई थोरै भए पनि नजिकबाट बुझ्ने मौका पाएको छु । म पुराना कलाकार तथा फिल्मकर्मीलाई सम्मान गर्छु किनकी उहाँहरूला वास्तविक नेपाली मन र नेपाली पन छ । यो भन्दैमा मैले उहाँहरूको चाकरी गरेको पनि हैन । अहिले नयाँ धारका कलाकार आए भनिन्छ तर उहाँहरूले पुराना कलाकारलाई सम्मान गर्नुपर्छ र उहाँहरूबाट केहि पाठ सिक्नुपर्छ । पुरानै कुरालाई दोहोर्‍याउनु पर्छ भन्न खोजेको पनि हैन । पुराना कुरालाई आत्मसाथ गर्दै त्यसलाई नयाँ रूप दिन सक्यो भने हामी दर्शकको मनमा बस्न सक्छौं ।

 

अहिले त पुरानाको दिन गए नयाँको आए भन्ने गरिएको छ त !
यो क्षेत्रमा कोही पनि नयाँ र पुरानो हुँदैन । हामीले कसैलाई रिटायर भयो भन्न मिल्दैन किनकी कलाकार जुनसुकै बेला पनि बिक्न सक्छ । हामी नमरूञ्जेल हाम्रो दिन सकिंदैन ।

 

अहिले तपाईंको दिन निकै आएको हामीले देखेका छौं । संघर्षकालिन समयमा धेरैको पाउ मोल्नु भयो रे ! त्यसैको प्रतिफल हो कि तपाईंको आफ्नो मेहनतको फल ?
तपाईंले बिगतलाई कोट्याईहाल्नु भयो । (अलि भावुक हुँदै) हो, मैले यो क्षेत्रमा आउन धेरैको पाउ मोलें । मेरो कुच्चेको अनुहारलाई कसैले पत्याउथेन । कोरशको पनि पछाडी लगेर राख्दिन्थे तर म हरेश खाईन । जस्ले मलाई पत्याउनु हुन्थेन आज उहाँहरूकै प्रेरणाले त्यहि कोरश नाच्ने ठाउँको अगाडी लिड गरिरहेको छु । यो मेरो आफ्नो परिश्रमले मात्र हैन दर्शकको मायाले पनि हो । आज जुन माया पाएको छु त्यो मलाई कुनै दिन भारी हुनेछैन ।

 

अहिले तक्मे बुढाको नामले निकै परिचित हुनुहुन्छ । देशबिदेश निकै घुमिसक्नु भयो । नामसँगै दाम पनि उत्तिकै कमाउनु भएको छ रे ! तपाईंको सपना चाहिं के छ ?
सर्वप्रथम म तक्मे बुढाको नाम दिने मेरी बास्यै युनिट प्रति आभार प्रकट गर्दछु । तर म तक्मे बुढाको नामले सधैं परिचित हुन चाहन्न । म विल्सनकै नामले चिनिन चाहन्छु किनकी तक्मे बुढा जस्तो पात्र विल्सनले धेरै निकाल्न सक्छ । दाम पनि अलि अलि कमाएको छु । मेरो अबको सपना भनेको सानो घर बनाउने हो । डेराको जीन्दगी धेरै बिताएँ । यसरी नै दर्शकको माया पाएँ भने र मेरो कलालाई विश्वास गर्दै जानुभयो भने केहि समयमा आफ्नो सपना पूरा गर्छु । तर अहिले भने सपना नै देखिरहेको छु ।


घरसँगै जीवनसाथीको घर कहिले बनाउने त ?
(फाट्टफुट्ट निस्केका जुँगा मुसार्दै हल्का मुस्कानका साथ) म अहिले त केटाकेटी नै छु । यो बिषयमा अहिले सोचेको छैन । अझै दर्शकको प्रिय बन्न बाँकी नै छ । अनि मात्र म उनीको प्रिय बन्छु ।


उनी भन्नाले प्रेममा भने हुनुहुन्छ ?
प्रेम त गरेको छु । उनी अहिले सात समुन्द्र पारि छिन् । त्यो सात समुन्द्र पार गरेर उनीलाई वारी ल्याउन अझै केहि बर्ष लाग्नेछ ।

 

अन्तमा ?
हामीले नेपाली दर्शकलाई मात्र समेट्ने गरेका छौं तर यो भुल्नुहुँदैन कि नेपालीभाषीहरू पनि हाम्रो कला र संस्कृतीलाई माया गर्ने दर्शक स्रोता हुन् । त्यसैले हामीले नेपालीभाषी र नेपाली गीतसंगीत तथा कला र संस्कृतीलाई माया गर्ने दर्शक स्रोतालाई नजिक राख्नु पर्छ अनि मातर हामी उहाँहरूको मनमा बस्न सक्छौं ।

 

Rhythm - Nepali Feature film Trailer HD