मिति : २०८१ वैशाख २४, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

परिश्रमको उचित मूल्याङ्कन हुनुपर्छ - निर्देशक सबिर श्रेष्ठ

सुमन गैरे , , २०६७ आषाढ १३, शनिवार

नेपाली चलचित्रमा सहायक निर्देशक भई १० बर्ष बिताएर रेखा फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र 'कसले चोर्यो मेरो मन' बाट डेब्यू गरेका निर्देशक सबिर श्रेष्ठ अहिले निर्माताको रोजाईका निर्देशक बनेका छन् । 'कसले चोर्यो मेरो मन' निर्देशन गरे लगत्तै उनले उमा बेबी, कृषा चौलागाईं सुनिल रावलको चलचित्र  निर्देशन गर्ने अवसर पाएका छन् । उनले निर्देशन गरेको उमा बेबीको चलचित्र 'इशारा' को अहिले सम्पादन भईरहेको छ । 'इशारा' को सम्पादन कक्षमा भेटिएका निर्देशक सबिरसँग फिल्मीखबरको कुराकानी –    

 

इशारा कस्तो चलचित्र हो ? 

नारी माथि हुने हिंसा, अत्याचार, शोषणका बिरूदको आवाजलाई उठाईएको एक नारी प्रधान चलचित्र हो 'इशारा ' । यसको साथै यो चलचित्रमा माया प्रेममा आउने उतारचढावलाई पनि प्रस्तुत गरिएको छ ।    

 

सबिरले 'इशारा' मा दिएको नयाँ कुरा ? 

'इशारा' को कथाबस्तु नै नयाँ हो । बिशेष गरी यस मैले चलचित्रमा सेक्स भिडियो सार्वजनिक भएपछि देखिने समस्याहरूलाई पर्दा मार्फत देखाउने प्रयास गरेको छु । जुन अहिलेका टिनेजर्स केटाकेटीहरूमा देखिएका समस्याहरू हुन् ।    

 

चलचित्रको छायाँकनको लागी सिक्किम पुग्नुको कारण ?
प्राय नेपाली चलचित्रहरू चोभार, मुडे, रानीबारी, भैंसेपाटी जस्ता स्थानहरूमा छायाँकन हुने गर्दछ । सधैंजसो एउटै स्थान हेरेर वाक्क भएका दर्शकहरूलाई नयाँ ठाँऊको स्वाद दिन र चलचित्रलाई स्तरीय बनाउन सिक्किमका रमणिय स्थानहरूमा छायाँकन गर्न गएका हौं ।

 

लामो समयदेखि चलचित्र क्षेत्रबाट ओझेलमा परेका नायकद्वय उत्तम प्रधान र भुपेन चन्दलाई 'इशारा' मा लिनुको कारण ?    

म चलेको कलाकारलाई लिनु पर्छ भन्ने कुराको बिरोधी हुँ । चलेका अनुहारहरूले अभिनय गरेका अधिकांश चलचित्र असफल भएका उदाहरण प्रसस्तै छन् । उत्तम र भुपेन नेपाली चलचित्र क्षेत्रका राम्रा कलाकार भएकोले मैले उनीहरूलाई लिएको हो । उनीहरूले मेरो चलचित्रको कथालाई न्याय गरेका छन् ।    

 

एउटा नेपाली चलचित्र निर्माण गर्दा निर्देशकले कति समय खर्चनु पर्छ ? 

करिब ६ महिनामा चलचित्रको सम्पूर्ण कार्य सकिन्छ ।    

 

६ महिनाको पारिश्रमिक कति हुन्छ ? 

बढीमा ५ लाख । 

 

एउटा नायकले चलचित्र निर्माणमा कति समय खर्चन्छ र उसको पारिश्रमिक कति हुन्छ ? 

नायकले बढीमा २५ दिन समय दिन्छन् र उनीहरूको पारिश्रमिक ४ लाख सम्म हुन्छ ।    

 

कामको हिसाबले निर्देशकको पारिश्रमिक नायकको तुलनामा कम भए जस्तो लाग्दैन ? 

लागेर के गर्नु ? निर्देशकहरू आँफैले आफ्नो डिमाण्ड नगर्दा यस्तो भएको हो ।  थोरै पैसामा धेरै चलचित्र निर्देशन गरेर चर्चा आउन खोज्ने प्रवृत्तिले गर्दा निर्देशकहरूले आफ्नो पारिश्रमिक आँफै घटाएका छन् । त्यसको प्रत्यक्ष असर अन्य राम्रा निर्देशकमा परेको छ । हामी निर्देशकहरूले आफ्नो परिश्रमको उचित मूल्य नपाउँदा दु:ख लाग्ने गर्छ । 

 

तपाईंहरूको पारिश्रमिक कति हुनुपर्छ जस्तो लाग्छ ? 

यति उती भन्नु पर्दा पनि हाम्रो परिश्रमको उचित कदर गर्नुपर्छ । रातदिन चलचित्रकै काममा खटिने हुनाले नाफाको केही प्रतिशत हामीलाई पनि दिनुपर्छ जस्तो लाग्छ तर यो आवाज सुनिदिने को ? 

 

नेपाली चलचित्रमा राम्रा निर्देशकको नाम लिनुपर्दा क-कस्को नाम लिन चाहनुहुन्छ ?    

प्रताप सुब्बा, उगेन छोपेल, अनिश कोईराला र आकाश अधिकारीलाई मैले राम्रा निर्देशकको रूपमा लिन्छु ।   

 

यी मध्ये तपाईको मुखले सबैभन्दा पहिला कस्को नाम उच्चारण गर्छ ? 

अनिश कोईराला । किनकी उहाँ मेरो गुरू हुनुहुन्छ ।    

 

आफूले आफूलाई कसरी परिभाषित गर्नुहुन्छ ? 

नेपाली चलचित्रलाई अन्तरार्ष्ट्रिय बजार सम्म पुर्‍याउन रातदिन चलचित्र निर्माणमा मरिमेट्ने सिकारू चलचित्रकर्मी हो सबिर श्रेष्ठ । 

 

तपाईंको कुनै सपना ? 

जीवनको उत्तरार्धमा निर शाहले निर्माण गरेको ऐतिहासिक चलचित्र 'बसन्ती' लाई पुन: निर्माण गर्ने सपना छ ।