मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सन्तानको करियर बनाउन म भासिंएँ : सरोज खनाल (अभिनेता)

सुमन गैरे, काठमाण्डौ, २०६९ पौष ११, बुधवार

भिड देखि भिडसम्म फिल्मबाट नेपाली रजतपटमा प्रवेश गरेका कुनै बेलाका चर्चित अभिनेता सरोज खनालको नामलाई फिल्म उधोगले बिर्सन सक्ने छैन । ३२ वटा फिल्ममा उनले गरेको योगदानको अझै पनि चर्चा हुने गर्दछ । अझ भन्नु नै पर्दा चर्चित फिल्म प्रेमपिण्डमा उनले गरेको अभिनयको अझै पनि तारिफ हुने गर्दछ । बिगत १६ बर्ष देखि अमेरिकामा बस्दै आएका सरोज अब भने नेपाल फर्केर नेपाली फिल्म उधोगमा सक्रिय हुने तयारी गर्दैछन् । केहि दिन अगाडी नेपाल आएको क्रममा यिनै अभिनेता खनालसँग गरिएको अन्तरङग -
 

नेपाल आउनुको बिशेष कारण ?
खास अहिले त पारिवारिक कारणले नेपाल आएको हुँ । तर अब यो नेपाल र अमेरिका आउने जाने क्रम बिस्तारै कम हुन्छ किनकी अब मैले अमेरिका छोड्ने निर्णय गरेको छु ।


नेपालमा बसेर के गर्ने सोच बनाउनु भएको छ त ?
नेपाली फिल्ममा पुन: सक्रिय भएर लाग्छु र केहि व्यवसाय पनि अंगाल्छु होला ।

१६ बर्ष सम्म अमेरिका बस्दा नेपाली फिल्मले आकर्षित गरेन ?
म हरेक दिन नेपाली फिल्म र आफ्ना साथीभाईहरूलाई सम्झिरहन्थें । सायद कुनै दिन थिएन होला मैले फिल्म क्षेत्रलाई नसम्झेको । हारपल नेपाली फिल्म र आफूले गरेका कामहरूको सम्झनाले सताईरहन्थ्यो ।


त्यसो भए किन फर्कने मन गर्नु भएन त ?
मैले आफ्नो करियर त फिल्ममा नै बनाएको थिएँ तर फिल्मी करियरले मेरो परिवारलाई सुख दिन सकेन । मुख्यत आर्थिक समस्याकै कारणले गर्दा परिवार लिएर अमेरिका जान बाध्य भएको हुँ । सन्तानको करियर बनाउन म बिस्तारै भासिंदै गएँ ।

 

यसको मतलव नेपाली फिल्मबाट आर्थिक स्टाटस बनाउने सक्ने अवस्था देख्नु भएन ?
त्यो बेला मनकामना फिल्म गर्दा २० हजार रूपैंया पाएको थिएँ । एउटा फिल्म बनेर रिलिज हुन करिब एक बर्ष कुर्नु पर्थ्यो । थोरै फिल्म बन्ने गर्थे त्यसमा पनि कतिले त थोरै पैसामा काम गर्न भन्थे जसले गर्दा परिवार पाल्न फिल्मबाट आएको रकमले पुग्थेन । २४ घण्टामा २२ घण्टा काम गर्दा पनि केहि हुन सकेन । रेष्टुरेण्टमा काम सानै भए पनि आठ घण्टाको मेहनतले मेरो परिवारलाई खुसी राख्न सक्ने अवस्था देखें अनि मन हुँदाहुँदै पनि यो क्षेत्र छोड्न बाध्य भएँ ।

 

नेपालमा नाम कमाईरहेको बेला अमेरिका पुगेर रेष्टुरेण्टमा काम गर्दाको अनुभव ?
अमेरिका पुगेपछि पहिलो पटक म पाकिस्तानी सेभेल इलाभेन रेष्टुरेण्टमा काम गर्थें । उक्त रेष्टुरेण्टमा सिसा राखिएको थियो जसले गर्दा भित्र बाहिरको सबै हेर्न सकिन्थ्यो । मैले त्यहाँ काम गर्दा प्राय रेष्टुरेण्ट अगाडी मानिसहरूको भीड देखिन्थ्यो । उनीहरू बाहिरै उभिएर मलाई हेर्थे अनि जान्थे जुन कुरा मेरो म्यानेजरले 'वाच' गरिरहेको रहेछ । म नेपालको कलाकार रहेको थाहा पाएपछि म्यानेजरले सोध्यो, 'तँ यसरी घुमीघुमी सामान मिलाउँदा नेपालमा हिरोईनहरूसँग घुमीघुमी नाचेको याद आउँदैन ?' त्यो बेला साँच्चिकै मैले आफ्नो मन थाम्न सकिन । एक छिन रोएँ पनि । त्यसपछि मैले म्यानेजरलाई यस्तो कुरा नगर्न आग्रह गरें । यस्तो मन नै दुख्ने घटनाहरू धेरै घटे र धेरै पटक यो मन रोएको पनि छ ।

 

कस्ता कस्ता कुराले तपाईंलाई बेला बेला झक्झकाई रहन्थ्यो ?
अमेरिका जाने प्राय कलाकारहरू मेरै घरमा बस्नुहुन्थ्यो । उहाँहरूले फिल्म ल्याउनु हुन्थ्यो र मैले हेर्ने मौका पाउँथे । खुसी लाग्थ्यो आफूसँगै काम गरेका साथीहरूको फिल्म हेर्न पाउँदा । जब फिल्म चल्दै जान्थ्यो अनि मैले त्यहाँ भित्र आफूलाई पाउँथे । त्यो ठाउँमा म भएको भए यस्तो गर्थे उस्तो गर्थें भन्दै सोच्थें । कुनै बेला त म नभएर नै यो हिरोले पाएको भन्ने सोच्थें । तर जे लेखेको हुन्छ त्यो भएरै छाड्छ । बेला बेला नेपाली फिल्महरू हेर्दा यि यस्तै कुराहरूले झकझकाई रहन्थ्यो ।
 

नेपाली फिल्म उधोगलाई जुन बेला सरोज खनालको आवश्यकता थियो त्यो बेला तपाईंले लत्याएर जानु भयो । अब फेरि दर्शक तथा फिल्मकर्मीले तपाईंलाई स्विकार गर्न सक्छन् त ?
हो, मैले फिल्म उधोगलाई लत्याएर नै गएको हुँ जुन मेरो बाध्यता थियो । हुनत सबैले बलेको आगो नै ताप्ने हो । तर, मैले त्यो बेला जे सिकें र जे जाने त्यो अहिले सम्म पनि यथावत नै छ । सिकेको कुरा बिर्सन सकिन्छ तर रगतसँग जोडिएको कुरा नमरिञ्जेल हराउँदैन । त्यसैले मैले अहिले पनि राम्रो काम गरेर देखाउन सके भने पक्कै सबैले जनाले स्विकार्नु हुन्छ । मौका पाएको खण्डमा म पुनर्जिवित हुनेछु तर पाईन भने पनि चित्त दुखाउँदिन ।

 

फिल्म निर्माण गर्ने योजना बनाउनु भएको छैन ?
अब अमेरिका गएर फर्के पछि एउटा फिल्म बनाउने तयारी गर्छु । त्यसको केहि होमवर्क पनि भईरहेको छ । भोलीका दिनमा फिल्म निर्माणलाई निरन्तरता दिने कुराको बारेमा अझै सोचिसकेको त छैन तर एक दुई वटा फिल्म बनाउने सोच बनाएको छु । त्यसमा मैले मैले अभिनय गरेको 'मौन आकाश' को रिमेक गरौं कि भन्ने लागेको छ ।

 

मौन आकाश नै रिमेक गर्ने योजना बनाउनुको कारण ?
म त्यो फिल्ममा बहिरो र लाटोको भुमिकामा थिएँ जुन अहिले पनि गर्न मन छ । त्यो फिल्ममा उमेरको परिबन्ध छैन । त्यो फिल्मको कथालाई केहि नयाँ रूप दिने हो भने अहिलेका दर्शकले पनि रूचाउनु हुन्छ भन्ने बिश्वास छ । त्यो फिल्मको कथा मैले आफैले पनि लेखेको थिएँ ।

 

तपाईंको सहकर्मी राजेश हमाल अझै पनि हिरोईनहरूसँग कम्मर मर्काई रहनु भएको छ । तपाईंमा त्यो जोश जाँगर कत्तिको छ ?
राजेश दाईको जोश हेरेर मात्र भएन, मलाई त्यस्तो कम्मर मर्काएर नाच्ने रहर छैन । तर, आफूलाई सुहाउँदो र गर्न सक्ने भुमिका भए त्यो जोश निकाल्न सक्छु । निरन्तर फिल्ममा नलागेकाले दर्शकले मलाई त्यस्तो भुमिकामा स्विकार्नु हुन्छ जस्तो लाग्दैन । कथाले मागि हाल्यो भने नाईं पनि भन्दिन ।

 

१४ बर्ष पछि कमव्याक भनिएको फिल्म 'मानव' मा त  १६ बर्षे नायिका दीपशिखा शाहीसँग निकै रोमान्टिक हुनु भयो रे । अझ फिल्ममा त किस सिन पनि राखिएछ त्यो कथाको माग थियो या तपाईंको जोश ?
म अमेरिका जाँदा उनी ४ बर्षकी थिईन् । मलाई निकै गार्हो लागेर निर्देशकलाई सिन काट्न आग्रह गरेको थिएँ । उहाँले काट्न नमिल्ने भने पछि हल्का ओठ जोड्ने काम मात्र गरिएको हो । त्यसैमाथी किस सिन त मैले मनकामना फिल्म देखि नै दिंदै आएकोले गार्‍हो भएन । दीपशिखालाई भने निकै गार्‍हो भएको मैले अनुभव गरें अनि ओठ मात्र जोडें । उनीसँग अनस्क्रिन रोमान्स गर्दा म पनि १६ बर्षको उमेरमा झरेर काम गर्ने प्रयास गरेको छु । तर कति सिनमा १६ बर्षको हुन नसक्दा गार्‍हो भने भएको थियो ।

 

'मानव' फिल्ममा तपाईंको भुमिका कस्तो छ ?
यो फिल्मको कथा निकै मन परेकाले मैले अभिनय गर्ने निर्णय गरेको हुँ । यसमा मेरो दुई वटा चरित्र देख्न सकिन्छ । अब भुमिका नै भनौं भने फिल्म हेर्दा खल्लो होला । दर्शकलाई धेरै आशावादी बनाउँदिन तर दर्शकलाई मैले आफ्नो चरित्रबाट दु:खी हुन दिएको छैन जस्तो लाग्छ । अब निर्माण टिमले कत्तिको राम्रो काम गर्न सकेको छ त्यो भने फिल्म रिलिज भएपछि मैले पनि थाहा पाउने हो ।