मिति : २०८१ ज्येष्ठ २, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`सुनगाभा` भर्जिन स्टोरी हो : सुवर्ण थापा (निर्देशक)

फिल्मीखबर, काठमाण्डौ, २०६९ मंसिर ११, सोमवार

नेपाली फिल्म नेपाली समाज झैं विविधता र बहुलताको बाटो खन्दैछ । हिजोका दिनमा फर्मुला श्रेणीका बलिउडका कथाको अनुवादमा मग्न नेपाली फिल्म केही समय यता आफ्ना कथामा फर्कन लागेको छ । यस्तै एउटा फरक कथाबस्तुमा सुवर्ण थापाले फिल्म निर्माण गरेका छन् । समलिङ्गी महिलाको कथामा निर्माण भएको फिल्म सुनगाभालाई सबैले अपेक्षाको नजरले हेरिरहेका छन् । स्नो फ्लावर्सबाट सुनगाभा बनेको यो फिल्मका निर्देशक सुवर्ण थापासँग फिल्मीखबरले छोटो कुराकानी गरेको थियो । सोही कुराकानीका मुख्य अंशहरु -
 


सुनगाभा कस्तो फिल्म हो ?
बिधाको हिसाबले भन्नु हुन्छ भने यो प्रेमकथा प्लस सोसल ड्रामा हो । दुई महिलाले एकआपसमा गर्ने प्रेमलाई फिल्मले आफ्नो कथा बनाएको छ । त्यो सँगसँगै तपाईंले फिल्ममा नेपाली समाज र संस्कृतिको झल्को पाउनुहुन्छ ।

सेम सेक्स बिचको प्रेम अलि अनयुजवल स्टोरी भएन ?
भयो पनि र भएन पनि । तर मेरो एजम्सन के हो भने यदि ५०–६० कटेका मान्छे प्रेममा पर्न सक्छन् भने दुईटी महिला प्रेममा पर्नु के अनौठो भयो ? सँगसँगै यो फिल्म लेस्बियन इस्युलाई उठाउने भन्दा पनि उनीहरुको भोगाईलाई देखाउन खोजेका छौं ।

नेपालमा त अझ पनि समलिङ्गी प्रेमलाई सहज रूपमा हेरेको पाईंदैन, दर्शकहरुले कसरी लेलान् यो फिल्मलाई ?
यो विषय अहिले पनि त्यति धेरै बहसमा आएको छैन । उनीहरुलाई आइडेन्टिटीको क्राइसिस छ । र, मलाई लाग्छ नेपाली फिल्मको इतिहासमा यो भर्जिन स्टोरी हो । मलाई धेरै साथीहरुले कस्मोपोलिटियन इस्यु हो धेरै दर्शकले रिलेट गर्दैनन् भनेर पनि भन्नु भएको छ । तर म यही विषयमा फिल्म बनाउन रेडी भएँ भने हेर्ने दर्शक पनि पक्कै रेडी हुनुहुन्छ, मलाई विश्वास छ ।

तपाईं थिएटर ब्याकग्राउन्डको मान्छे फिल्ममा आउन केले प्रेरित गर्यो ?
ड्रामा र फिल्म परफर्मेन्स आर्टका नजिकका दाजुभाइ हुन् । तिनमा थोरै मात्र भिन्नता हुन्छ । त्यो हिसाबले मलाई नाटकसँगसँगै फिल्ममा पनि लगाव थियो । मैंले आफ्नो क्यारियर नाटकबाट शुरु गरेको हुँ । नाटकमै फ्रान्सबाट छात्रवृत्ति पाएर केही वर्ष देखि उतै बसिरहेको छु । र, उतै बस्दा मैंले सरुभक्तको नाटक मलामीमा आधारित एउटा सर्ट फिल्म बनाएपछि मलाई फिचर लेन्थ फिल्म बनाउनु पर्छ जस्तो लाग्यो । सुनगाभा त्यही सोचको परिणाम हो ।

कथा र विषय कसरी तय गर्नुभयो ?
फिचर लेन्थ फिल्म बनाउने भएपछि केही नयाँ विषयमा बनाऊँ भन्ने थियो । मैंले कता कता समलिङ्गि भएका कारणले मानिसले पाएका दुखका कथाहरु पढेको थिएँ, नेपाली फिल्ममा यो विषय नौलो पनि हुने जस्तो लागेर यसैमा फिल्म बनाउने निश्चय गरें । तर कथा तयार भएपछि मलाई अर्थोडक्स फेमिली ब्याकग्राउन्डको क्यारेन्टर चाहिन्थ्यो । हाम्रो नेपाली समाजमा नेवारी समाज पनि परिधि भित्र बस्नुपर्छ भन्ने सिद्धान्तमा आधारित समाज हो र ब्राम्हण पनि । यस हिसाबले मलाई नेवारी र बाहुनी केटी चाहिएको थियो । साथीहरुसँग सल्लाह गर्दा दिया र निशा उपयुक्त हुने लागेर फाइनल गर्यौं ।


आजभोलि नयाँ फिल्म मेकरहरु फिल्मले समाजलाई लिड गर्नुपर्छ भन्ने विचार राख्नुहुन्छ, तपाईं कहाँ निर स्ट्यान्ड गर्नुहुन्छ ?
फिल्मले समाज बदल्छ र बदल्नु पर्छ भन्ने कुरामा म सहमत छैन । मेरो विचारमा फिल्मले सोच मात्र दिन्छ । म यही विचारको पक्षपाती हो ।