मिति : २०८१ वैशाख १९, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'नाइ नभन्नु ल' - नवनायिका ऋचा सिंह ठकुरी

सुमन गैरे , , २०६६ माघ २७, मंगलवार

म्युजिक भिडियो हुँदै नेपाली चलचित्रमा प्रवेश गरेकी नवनायिका ऋचा सिंह ठकुरीले पहिलो पटक अभिनय गरेको चलचित्र 'नाइ नभन्नु ल' प्रदर्शनको क्रममा रहेको छ । आफूमा केही कुराको कमी नदेख्ने ऋचालाई शुरूमा अभिनय गर्न निकै गार्‍हो भएछ तर पनि आफूले पहिलो पटक अभिनय गरेको चलचित्र 'नाइ नभन्नु ल' बाट उनी पूर्ण रूपमा सन्तुष्ट छिन् । उनले सञ्चार माध्यममा अनलाईन पत्रकारितालाई सबैभन्दा बढी मन पर्ने बताईन् । उनै ऋचासँग फिल्मीखबर डटकमले गरेको रमाईलो कुराकानी – 

 

चलचित्रमा आउनु भन्दा अगाडी के गर्नु हुन्थ्यो ? 

पढ्दै थिएँ । अनि एउटा म्युजिक भिडियोमा पनि अभिनय गरेकी थिएँ । 

चलचित्रमा प्रवेश गराउने माध्यम को बन्यो ? 

चलचित्रका निर्देशक बिकाश आचार्यको माध्यमबाट म चलचित्रमा प्रवेश गरेकी हुँ । 

पहिलो पटक चलचित्रमा अभिनय गर्दाको अनुभव ? 

शुरूमा त एकदम डर लागेको थियो । के हुने हो ? कसरी बोल्ने होला ? भनेर निकै डराएकी थिएँ तर पछी मिथिला दिदीको सहयोगले पहिलो टेक डराई डराई ओके गरें । 

पहिलो टेक कस्तो थियो ? 

मेरो शुरूको टेकमा नै रूनु पर्ने थियो । आफ्नो बानी भन्दा ठिक उल्टो काम पहिलो पटक गर्नु पर्दा निकै गार्‍हो भयो । एकछिन त सक्दिन जस्तो पनि लागेको थियो तर खै कसरी पहिलो सट ओके गरेँ थाहा नै पाउदिन । 

चलचित्रमा प्रवेश गर्नुभन्दा अगाडी चलचित्रको बारेमा कस्तो कल्पना गर्नुहुन्थ्यो र प्रवेश गरिसके पछि कस्तो पाउनु भयो ? 

मैले त अभिनय गर्न सजिलो हुन्छ होला भनेर सोच्ने गर्थें तर अभिनय गर्न निकै गार्‍हो हुदों रहेछ । पहिला पहिला चलचित्र हेर्दा कलाकारहरूको अभिनय प्रति निकै कमेन्ट गरिन्थ्यो तर अहिले आफूलाई परेपछि थाहा भयो कि अभिनय गर्न कत्तिको गार्‍हो हुन्छ भनेर । त्यसैले चलचित्रको अभिनयमा मैले सोचेको भन्दा एकदमै फरक पाएँ । 

आफ्नो अभिनयबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ? 

यो भन्दा बढी सन्तुष्ट म हुनै सक्दिन । 

यत्तिको अभिनय गर्न सक्छु जस्तो लागेको थियो ? 

मलाई त बिश्वास नै थिएन कि मैले यत्तिको अभिनय गर्न सक्छु भनेर । मैले त शुरूमा नै बिकाश दाईलाई म यो काम गर्न सक्दिन अरू कलाकार नै खोज्नुस् भनेकी थिएँ तर उहाँले मलाई बिश्वास गरेर तलाईं नै अभिनय गराएर छाड्छु भन्नु भयो र गराएर पनि छाड्नु भयो । अब मैले आफैले भन्नु भन्दा पनि चलचित्र हेरीसके पछि दर्शकले आफैं मूल्याङ्कन गर्नु हुनेछ कि मैले कस्तो अभिनय गरेकी छु भनेर । मलाई त आफ्नो अभिनय मन परेको छ । आशा छ दर्शकहरूले पनि मेरो अभिनयलाई मन पराईदिनु हुनेछ ।    

चलचित्रमा अभिनय गर्दाको कुन क्षण बिर्सन सक्नु हुन्न ? 

चलचित्रको छायाँकन अबधिभर मैले बोलेका हरेक शब्द नै मेरो लागी अविश्मरणिय छ ।    

कुन दृश्यमा अभिनय गर्दा अलि बढि गार्‍हो भयो ? 

पहिलो दिनको दृश्य नै मेरो लागी सबैभन्दा गार्‍हो थियो । तर पछि काम गर्दै गएँ, कतै पनि गार्‍हो भएको अनुभव भएन ।    

नवनायिकाहरूको भिडमा आफूले आफूलाई कसरी चिनाउनु हुन्छ ? 

साच्चि भन्नु पर्दा म अझै नायिका भैसकेकी छु जस्तो लागेको छैन ।    

नायिका कहिले हुन्छु जस्तो लागेको छ त ? 

२ महिना पछि जब मैले अभिनय गरेको पहिलो चलचित्र 'नाइ नभन्नु ल' दर्शक सामु पुग्ने छ र दर्शकले मनपराई दिनुहुनेछ अनि मात्र म नायिका हुन्छु ।  नत्र म नायिका नै हुन्न । ऋचा सिंह ठकुरीलाई नायिका बनाउने या नबनाउने भन्ने कुरा दर्शकको हातमा छ ।    

तपाईंले आफूमा के कुराको कमी महसुस गर्नु भएको छ ? 

म अलि जिद्दी छु नत्र ममा कुनै कुराको कमी छ जस्तो मलाई लाग्दैन ।    

चलचित्रको छायाँकन अबधी भर मन नपरेको केही कुरा छ की ? 

सबै कुराको व्यबस्था राम्रो थियो तर ड्रेस चेन्ज गर्न भने निकै गार्‍हो हुन्थ्यो । ड्रेस चेन्ज गर्न पर्‍यो कि भ्यान भित्र पस्नु पर्थ्यो । यो समस्या हरेक चलचित्रमा देखिँदै आएको छ ।    

सञ्चार माध्यमको भिडमा अनलाईन पत्रकारितालाई कसरी हेर्नुहुन्छ ? 

मलाई त अनलाईन पत्रकारिता भन्दा राम्रो अरू कुनै लाग्दैन । जुनसुकै समयमा पनि जुनसुकै ठाउँबाट आफूले चाहेको बेला बिश्वका हरेक कुराको जानकारी छिटो भन्दा छिटो पाईने भएकोले मेरो पहिलो रोजाईमा अनलाईन पत्रकारिता पर्छ । म मात्र हैन, अहिलेको युवापुस्ताको पहिलो रोजाई नै अनलाईन हो ।    

कुन वेबसाइट बढी हेर्नुहुन्छ र किन ? 

अवस्य पनि म सबैभन्दा बढी फिल्मीखबर डटकम नै हेर्छु । किनभने चलचित्रका बारेमा थाहा पाउन फिल्मीखबर डटकम हेरे पुग्छ । अरू केही हेर्नै पर्दैन । फिल्मीखबर डटकम सञ्चालनमा आए देखी मैले पत्रपत्रिका पनि कम हेर्ने गरेकी छु ।    

चलचित्र 'नाइ नभन्नु ल' लाई एउटा कलाकारको तर्फबाट के भन्न चाहनु हुन्छ ? 

म अहिलेको जेनेरेशन हो । म यस चलचित्रको कलाकार नभएको भएपनि मैले यो चलचित्र अवश्य हेर्थें । किनभने यस चलचित्रले अहिलेको जेनेरेशनलाई प्रतिनिधित्व गरेको छ । चलचित्रमा काम गरेका हरेक व्यक्तिको मेहनत यस चलचित्रमा झल्किन्छ । यदि जसले यो चलचित्र हेर्न पाउनु हुन्न र हेर्नु हुन्न, उहँहरूले एउटा राम्रो नेपाली चलचित्रलाई मिस गर्नु हुनेछ। त्यसैले यो चलचित्र हेर्न 'नाइ नभन्नु ल' !