मिति : २०८१ ज्येष्ठ २, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(26 votes, avg 4.77/5.00)
Text size:-
+
-

नेपाली फिल्मको परिवर्तनका लागी `हाईवे` - दीपक रौनियार (निर्देशक)

फिल्मीखबर, काठमाण्डौ, २०६९ ज्येष्ठ २, मंगलवार

बन्दले गर्दा राजमार्गमा अलपत्र यात्रुहरुको संघर्षका कथाहरूमा केन्द्रित रहेर निर्माण गरिएको फिल्म 'हाईवे' असार १ गतेबाट नेपालका फिल्म हलमा लाग्दैछ । जर्मनीको बर्लिनमा आयोजित बर्लिन फिल्म फेस्टिवलमा प्रिमियर गरिएको उक्त फिल्मलाई अहिले धेरैले आश लाग्दो फिल्मको रूपमा हेरेका छन् । आखिरमा के छ त हाईवेमा र किन बनाईयो हाईवे ? यहि कुरामा आधारित रहेर निर्देशक दीपक रौनियारसँग गरिएको कुराकानीको सम्पादि अंश -
 

हाईवे किन बनाईयो ?
फिल्म भनेको समाजको ऐना हो । फिल्मले समाजमा घटेका घटनालाई नजिकबाट बुझाउने काम गर्छ । अझ भनौं हामीले भोगेको तर महसुस नगरेको घटनालाई पनि फिल्मले देखाउन सक्छ । हो, हाईवे पनि यस्तै फिल्म हो जहाँ हामीले भोगेका तर कति महसुस नगरिएका घटनाहरूलाई प्रस्तुत गरेका छौं । अहिले पनि देख्नु भएकै छ बन्द हडतालले जनमानसमा कस्तो असर गरिरहेको छ । गन्तव्यमा हिंडेको एउटा यात्रुले भोगेको पिडालाई हामीले प्रस्तुत गर्न हाईवे बनाएका हौं । यसका साथै यसमा पाँच उपकथाहरू छन् जुन हाम्रो समाजमा भईरहेका घटना हुन् । खासमा भन्नु पर्दा नेपाली फिल्मको परिवर्तनका लागि हाईवे निर्माण गरिएको हो ।

 

सबैले देखेको भोगेको कथामा फिल्म बनाउनुको उद्देश्य ?
फिल्म रक्सीको पेग मात्र हैन यो एउटा कलेज पनि हो र एउटा इतिहास पनि । कति हामीले नदेखेका घटनालाई पनि हाईवेमा प्रस्तुत गरिएको छ भने देखेका र भोगेका घटनाहरूलाई अझ नजिकबाट बुझाउने प्रयास गरिएको छ । हरेक आम नेपालीले भोगेको यो पिडाको कथा अबको १०० बर्ष पछि पनि हेर्न लायक हुनेछ । यो बेलाको समाजलाई त्यो बेलाको पुस्ताले महसुस गरोस् भनेर पनि फिल्म बनाईएको हो । हाईवे हेरेपछि एक पटक सबैलाई सोच्न बाध्य बनाउँछ र त्यसको असर धेरै दिनसम्म देखिन्छ पनि । बन्द गर्न हुन्न भन्ने समाजिक सन्देश दिन पनि यो फिल्म निर्माण गरिएको हो । साथमा मनोरञ्जन त छदैंछ ।

 

हाईवे बनाउने सोच कसरी आयो ?
म काठमाण्डौमा बस्थें । बस यात्रा धेरै गर्नु पर्थ्यो । यहि यात्राको क्रममा एक पटक ५७ घण्टासम्म बन्दको शिकारले बाटोमा नै समय बिताउनु परेको पिडा छ । त्यो बेला मैले धेरै दु:ख भोगें र अरूको दु:खलाई पनि महसुस गरें । २४ घण्टा त पानीको भरमा समय बिताएको पिडा छ । ति घटनाले मेरो मस्तिष्कमा बिझाईरहेको थियो । त्यसपछि अविनाश विक्रम शाहसँग जिस्किंदा जिस्किंदै बन्दको बारेमा कथा तयार गरियो र अहिले यो फिल्मको रूपमा आयो ।

 

काम गर्न कत्तिको गार्‍हो थियो र अनुभव कस्तो रह्यो ?
हामीलाई यो काम गर्न निकै च्यालेन्जिङ थियो । म पत्रकारिताको बिधार्थी मैले फिल्म पढेर आएको हैन त्यसैले काम गर्दा पक्कै पनि गार्‍हो त भयो नै । तर पनि हामीले एउटा प्रयास गरेका हौं । थिएटरका कलाकारहरूलाई लिएर मैले एउटा राम्रो फिल्म बनाउने प्रयास गरेको छु । जब फिल्म बर्लिन फिल्म फेस्टिभलमा पुग्यो तब मैले राम्रो काम गरेछु भन्ने पनि लाग्यो । यसले मलाई अझ राम्रो काम गर्नका लागि हौस्याएको पनि छ । मलाई लाग्छ ५० बर्षे फिल्म इतिहासमा यसले नयाँ बाटो कोरेको छ ।

 

फिल्म निर्माणमा सक्षम व्यक्ति हुँदाहुँदै पनि अनुदानका लागि भनेर किन हात फैलाईयो ?
पहिलो कुरा त बिदेशमा रहेका नेपाली मात्र हैन बिदेशीलाई पनि नेपाली फिल्ममा प्रत्यक्ष सहभागिता गराउन यो कदम चालिएको हो । दोस्रो कुरा हामी कहाँ पोस्टप्रोडक्सनको काम चित्त बुझ्दो छैन । खासगरी सम्पादनको काममा सन्तुष्ट नहुने देखेर बिदेशमा गर्न खोजियो । त्यसका लागि थोरै खर्चले सम्भव थिएन । एउटा राम्रो फिल्म बनाउनका लागि हामीले सबैसँग सहयोगको हात मागेका हौं । हाम्रो यो अभियानमा धेरै नेपालीहरू त्यसमा पनि पैसा जोगाउन नसक्ने बिधार्थीहरूको सहभागीता पायौं । उहाँहरूले पनि राम्रो फिल्म बन्छ भन्ने आशले सहयोग गर्नु भएको हो र उहाँहरूको त्यो आशलाई हामीले मारेका छैनौं । अर्को कुरा नेपाली फिल्मको मार्केट फराकिलो बनाउन गुणस्तरमा ध्यान दिनुपर्ने भएकाले नेपाली फिल्मको मार्केट खोजीका लागि पनि हामीले यो कदम चालेका हौं । नेपाली फिल्मको अर्न्तराष्ट्रिय बजार खोज्नमा हामी केहि सफल पनि भईसकेका छौं र आशा छ हामी आफ्नो अभियानमा पूर्ण सफल हुनेछौं ।
 

कलाकारहरूलाई पनि पैसा खासै दिनु भएन रे ! पारिश्रमिकमा कन्जुयाईं गरेर कलाकारलाई काम गराउनु भयो । किन गराईयो र कलाकारहरू पनि किन काम गर्न राजी भए ?
हामीले कसैलाई दया गरेका हैनौं । उहाँहरूले पनि आफ्नो फाइदा देखेर काम गर्नु भएको हो । हाम्रो बजेटमा उहाँहरूले काम गर्ने इक्छा व्यक्त गर्नु भयो र हामीले काम गर्‍यौं । अर्को कुरा म प्रतिको उहाँहरूको बिश्वास पनि हो । पूजा र चैकठिबाट मैले पाएको सफलता, हाईवेको कथा अनि म प्रतिको बिश्वासले गर्दा उहाँहरू मसँग काम गर्न इच्छुक हुनु भएको हो र मेरो पनि उहाँहरूसँग काम गर्ने चाहना थियो । दुबै पक्षको सहमतीमा हामीले काम गर्‍यौं । त्यसैले यो बिषयमा कसैलाई चित्त दुखाई छैन जस्तो मलाई लाग्छ ।

 

अहिले नेपाली फिल्म मूल धार र फरक धार गरि दुई धारमा बिभाजित छ भनिन्छ । र, मूल धारका फिल्मको बजार खस्कदैं गएको पनि भनिन्छ । कारण के होला ?
पहिलो कुरा त मूल धार र फरक धार भन्दा पनि फर्मुला र रियालिस्टिक फिल्म भन्न रूचाउँछु म । फिल्म भनेको स्टोरी टेलिङ हो । हरेक मेकरको आ-आफ्नै स्टाईल हुन्छ । यस्तो फिल्म चल्छ यस्तो चल्दैन भनेर भन्न सकिन्न । फर्मुला फिल्म पनि राम्रो स्टोरी टेलिङमा बनेको छ र दर्शकलाई मनोरञ्जन दिन सक्छ भने मज्जाले चल्छ । रियालिस्टिक सबै फिल्म चल्छन् भन्ने पनि छैन । त्यसैले मलाई लाग्छ दुबै खाले फिल्मको बजार छ । मार्केट जता गयो म त्यतै जान्न । म आफ्नो स्टाईलमा फिल्म बनाउँछु र जहिले सम्म बिक्छु बनाउँदै जान्छु । बिक्न छाडे पछि फिल्म बनाउन छाड्छु ।
 

फर्मुला फिल्म बनाउनेले रियालिस्टिक र रियालिस्टिक फिल्म बनाउनेले फर्मुला फिल्म बनाउन सक्दैनन् भन्ने आरोप पनि छ नि ! के अब यि दुई खाले मेकरका बिच ठूलो खाडल बनेको हो त ?
सबै जना सबै कुरामा पर्फेक्ट हुँदैन र जन्मने बित्तिकै सबै कुरा जानेर पनि आएको हुँदैन । आफूलाई परिवर्तन गर्न चाहने हो भने कुनै पनि काम असम्भव छैन । गार्‍हो पक्कै हुन्छ । मेरो पक्षमा कुरा गर्दा म सेलुलोईडमा काम गर्न रूचाउँदिन र इच्छा पनि छैन । म डिजिटलमा नै इन्जोए गर्छु र राम्रो काम गर्छु भन्ने कन्फिडेन्ट पनि छ । जस्लाई जे कुरामा कन्फिडेन्ट छ त्यहि गर्ने हो । फर्मुला फिल्म बनाउनेहरूलाई च्यालेन्जिङ भने पक्कै छ तर असम्भव छैन ।

 

अबको प्रोजेक्ट कस्तो हुनेछ ?
अर्को बर्षको शुरूवातमा नयाँ सोच र टिमका साथ नयाँ कथामा फिल्म बनाउने छु । कथा नयाँ तर हाम्रो आफ्नै कथा हुनेछ । मेरो चाहना हाम्रो कथा बाहिर सुनिनु पर्छ । हामी अर्काको संसारमा बाँच्ने हैन आफ्नै संसारमा बाँच्नु पर्छ । नेपालको कथालाई बिश्वमा परिचित गराउनु पर्छ । यहि सोचले नै हाईवे बनाएँ र अब बनाउने फिल्म पनि यहि सोचको हुनेछ ।