मिति : २०८१ वैशाख २०, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अतित बिर्सेर बर्तमानको खोजीमा छु - निर्मात्री कृषा चौलागाईं

सुमन गैरे , , २०६६ माघ १३, मंगलवार

नेपाली रजतपटमा महिला निर्मात्रीको रूपमा एउटा नयाँ आयाम हुन् कृषा चौलागाईं । सबैभन्दा कान्छी निर्मात्रीको रूपमा नेपाली चलचित्र क्षेत्रमा पाईला टेकेकी निर्मात्री कृषाले करिब २० बर्षको उमेरमा 'ईन्साफ' नामक चलचित्र निर्माण गरेकी थिईन् । अहिले उनैले निर्माण गरेको अर्को चलचित्र 'कसम हजुरको' प्रदर्शनको तयारीमा रहेको छ । 'कसम हजुरको' प्रदर्शन सँगसँगै उनले पुन: अर्को चलचित्र निर्माण गर्ने घोषणा गरेकी छिन् । निर्मात्री भएर पनि आफ्नै थुप्रै शुभचिन्तक रहेको बताउने कृषाले चलचित्र निर्माणसँगै नयाँ जीवनसाथीको खोजी गरेको खुलासा गरेकी छिन् । बिबाह गर्ने उमेर हुन लागेको बताउने कृषाले अहिले सम्म कोही माग्न नआएको बताईन् । काम प्रति लगाव भएको र आफूलाई बुझ्न सक्ने केटा पाए बिबाह गर्ने सोच बनाएकी निर्मात्री कृषासँग फिल्मीखबर डटकमले गरेको कुराकानी –

 


चलचित्र क्षेत्रमा तपाईको प्रवेश कहिले भयो ?

२०६३/०६४ साल तिर चलचित्र 'ईन्साफ' बाट नेपाली रजतपटमा पाईला टेकेकी हुँ । 

 


पहिलो चलचित्र 'ईन्साफ' बाट कस्तो प्रतिक्रिया पाउनु भयो ?

'ईन्साफ' बाट सोचे जस्तो सफलता पाउन नसके पनि अनुभव भने प्रसस्त पाएँ । यहि अनुभवबाट नै अहिले २ चलचित्रको निर्मात्री भएकी छु । 

 


यो क्षेत्रमा आउनुको कारण ?
 

पहिलो कारण त व्यवसाय नै हो र दोस्रो कारण नाम हो । 

 

त्यसो भए नाम र दाम कत्तिको कमाउनु भयो त ? 

अहिले त शुरूवातको क्रममा नै छु तर पनि मैले सोचेभन्दा बढी शुभचिन्तकहरू पाएकी छु । अहिले त्यो भन्दा बढी आश पनि गरेकी छैन ।

 


निर्मातको कत्तिको फ्यान हुन्छन् जस्तो लाग्छ ?
 

हुनत त कलाकारहरूको जस्तो निर्माता निर्देशकको फ्यान त हुँदैनन् तर पनि मलाई माया गर्ने थुप्रै हुनुहुन्छ । मलाई भेट्न चाहने धेरै शुभचिन्तकहरू हुनुहुन्छ । प्रेमप्रस्ताव राख्नेहरू पनि थुप्रै हुनु हुनुहुन्छ । एकदिन त नवलपरासीबाट एकजना लभलेटर र सिडी लिएर मलाई भेट्न आउनु भएको थियो । तर दुर्भाग्य मैले उहाँलाई प्रत्यक्ष भेट्न पाईन ।

 


कस्तो अनुभव गर्नु भयो र के प्रतिक्रिया दिनु भयो त ?
 

एकदमै खुसी लाग्यो । पर्दापछाडी रहने चलचित्र कर्मीलाई पनि माया गर्ने धेरै चलचित्र प्रेमी दर्शकहरू हुनुहुँदो रहेछ । मैले उहँको लभलेटरको प्रतिक्रिया दिन पाएकी छैन । अब भेटें भने धन्यबाद भएपनि भन्छु ।

 


कति बर्षकी हुनु भयो ?
 

बिबाह गर्ने उमेर भएको छ तर अहिले सम्म कोही माग्न आएको छैन । 

 

बिबाह गर्न मन लागेकै हो त ? 

(हाँस्दै) म सँगैका साथीहरूले बिबाह गरेर पनि बुवाआमा भईसकेका छन् । उनीहरूको देखेर गरूँ गरूँ त लाग्छ तर खै कोही पनि माग्न आउँदैनन् ।

 

जीवनसाथी कस्तो होस् भन्ने चाहनु हुन्छ ? 

(लजाउँदै) तपाईं जस्तै । काम प्रति लगाव भएको, धेरै माया गर्ने र मेरो फिल्डलाई बुझ्न सक्ने केटालाई नै म आफ्नो जीवनसाथी बनाउछु । 

 

हुनेवाला जीवनसाथी कुन फिल्डको होस् भन्ने छ ?
 

जुन फिल्डको भएपनि हुन्छ तर सकेसम्म आफ्नै फिल्डको भए राम्रो । किनकी यो फिल्डलाई राम्रो सँग बुझेको त हुन्छ । 

 


तपाईको सबैभन्दा नजिकका साथीहरू ?
 

रेखा थापा, शिबम् अधिकारी, छबि ओझा, सुमन गैरे, सबिर श्रेष्ठ र प्रकाश सुबेदी ।

 


जीवनमा कसैसँग प्रेम गर्नु भएको छ ?
 

केही समय अगाडी सम्म गरेकी थिएँ तर अहिले हामी नदीका दुई किनारा भईसकेका छौं । 

 

किनारा लाग्नुको कारण ? 

समय । 

 

माया त अझै लाग्छ होला नि ? 

म त्यो बिगत सम्झन चाहन्न । उ मेरो अतित थियो अब बर्तमानको खोजीमा छु । 

 


चलचित्रमा लगानी गर्ने पैसा कहाँबाट प्राप्त गर्नुभयो ?
 

निर्मात्रीको रूपमा मेरो नाम रहे पनी सम्पूर्ण खर्च मेरो बुवाआमाले गर्दिनु भएको हो । मलाई बिस्वास गरेर यति धेरै सहयोग गर्दिनु भएको छ । त्यसैले पनि उहाँहरूलाई मैले भगवान नै मान्छु । 

 


'कसम हजुरको' कस्तो चलचित्र हो ?
 

'इन्साफ' पछी सिकेका अनुभवहरू संगालेर बनाएको चलचित्र हो यो । बिशेष गरि अहिलेका युवायुवतीहरूलाई केन्द्रित गरेर निर्माण गरिएको त्रिकोणात्मक चलचित्र हो 'कसम हजुरको' । यसमा 'टिनेजर्स' मा हुने प्रेम प्रसंगलाई देखाउन खोजिएको छ ।

 


कहिले सम्ममा प्रदर्शन हुन्छ ?
 

बैशाख र जेष्ट महिनाको बिचमा प्रदर्शन गर्ने योजना छ । 

 

तपाईको चलचित्रको कुन पक्षले दर्शकको ध्यान केन्द्रित गर्ला ? 

गीतसंगित, कथाबस्तु, प्रस्तुती, कलाकारको अभिनयले नै मेरो चलचित्रको मुख्य अकर्षण हो । 

 

अब यसपछी कुन चलचित्र निर्माण गर्दै हुनुहुन्छ ? 

अब बन्ने चलचित्र 'के म तिम्रो साथी बन्न सक्छु' पनि प्रेमकथामा नै आधारित हुनेछ । शिबम् अधिकारीले कथा लेख्नु भएको छ । अबको चलचित्रको लागी निर्देशनको जिम्मा सबिर श्रेष्ठलाई दिएकी छु । त्यसैगरी संगितको लागी संगितकार दिनेश सोनामलाई लिएकी छु भने अन्य प्राबिधिक र कलाकारको छनोट हुन बाँकी नै छ । 

 


अहिले प्रदर्शन भईरहेका चलचित्रहरू एकपछी अर्को गरेर असफल हुँदै जानुको मुख्य कारण के होला ?
 

कथा, गीतसँगित, प्रस्तुती र कलाकारको 'केमेष्ट्री' मिलेन भने चलचित्र राम्रो बन्दैन अनि चलचित्र चल्दैन । 

 

नेपाली चलचित्र 'ग्लोबल मार्केट' मा पुग्न नसक्नुको कारण ? 

गुणस्तरीय चलचित्र निर्माण हुन नसक्नु, पुरानै धारमा चलचित्र बन्नु, 'ग्लोबल मार्केट' को बारेमा राम्रो ज्ञान नहुनु र अधिकांश चलचित्रकर्मीहरूमा शिक्षाको कमि हुनुले पनि नेपाली चलचित्र 'ग्लोबल मार्केट' मा पुग्न सकेको छैन ।

 

महिला निर्मात्री हुनुको पिडा ?


महिला हुँदैमा पिडित हुन्छन् भन्ने छैन । म कतैबाट पनि पिडित छैन । शुरूका दिनहरूमा नबुझ्दा केहि दु:ख भएपनि अहिले खासै दु:ख पाएकी छैन । सानी छु त्यसैले सबैले माया गर्छन् । सबैको सहयोग पाईरहेकी छु त्यसैले खुसी छु ।