मिति : २०८१ ज्येष्ठ २, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

मेरो सिर्जनाले फूललाई अझै सिंगारेको छ : रेखा पौडेल (संगीतकार)

शान्ति प्रिय, काठमाण्डौ, २०६९ वैशाख १४, बिहिवार

'फूल' रेखा पौडेलद्वारा संगीतबद्ध फिल्म हो । यसो त रेखाकै हिसाबमा भन्नुपर्दा उनी विभिन्न स्कुलहरुमा संगीत पढाउँछिन् भने आफ्नै संगीत स्कुल पनि उनले खोलेकी छिन् । यस हिसाबमा सांगीतिक क्षेत्रमा उनको व्यस्तता निकै नै छ भन्दा फरक पर्दैन । आधुनिक गीतसंगीतका माध्यमबाट आफूलाई सक्रिय बनाइरहेकी रेखाले फिल्मको संगीतमा फूल मार्फत नै हात हालेकी हुन् । यिनै महिला संगीतकार रेखा पौडेलसँग फिल्मीखबर साप्ताहिकले गरेको भलाकुसारी -

 


 आजभोलि के गर्दै हुनुहुन्छ ?
एल्बमहरुको काम भइराखेको छ । संगीत स्कुल सञ्चालन गरिरहेको छु भने स्कुलहरुमा पढाउने काम पनि भइरहेको छ । तर खासगरी यतिबेला मैले संगीत गरेको फिल्म फूल यही २२ गतेबाट सार्वजनिक प्रदर्शनमा जाँदैछ । यसको रिजल्ट कस्तो होला, यसले मलाई कुन उचाइ देला र आफ्नो कामको मूल्यांकन कस्तो हुने भन्नेमा नै बढी सतर्क छु ।


फिल्म रिलिज पूर्व नै तपाईंको गीतसंगीतले सामान्य चर्चा पाइसकेको छ अझै कस्तो आशा राख्नुभएको छ ?
फिल्मको संगीत भनेको सामान्य रुपमा भन्दा संगीतले प्रसिद्धि पाएर मात्रै पनि हुँदो रहनेछ । फिल्मको संगीत कथासँगै बग्ने रहेछ । फिल्म हिट भयो, फिल्मले सफलता पायो, फिल्म सँगसँगै संगीत गयो भने मात्रै फिल्मको संगीतकारका रुपमा स्थापित बन्न सकिने रहेछ भन्ने बुझ्दैछु । तैपनि मैले गरेको संगीत सामान्य रुपमा भन्नुपर्दा स्रोता वर्गले मन पराउँदै जानु भएकोमा खुशी नै लागेको छ । सँगसँगै फिल्म चलिदियो र यसले हिट हुने मौका पायो भने संगीत पनि सँगसँगै हिट हुने हुनाले प्रदर्शनको मिति कुरिरहेको छु र यसको रिजल्ट प्रति एक्साइटेड पनि छु ।


कस्तो बनेको छ त फिल्म फूल ?
म त एउटा संगीतकार हुँ । संगीतकारको हिसाबमा निर्देशक शिव रेग्मीले जसरी फिल्मको विषयवस्तु बताउनुभयो त्यसलाई न्याय हुने हिसाबले मैले संगीत सिर्जना गरेको छु । सबल एवं सफल निर्देशकको रुपमा चिनिनु भएका निर्देशक शिव रेग्मीले पक्कै पनि फिल्म राम्रो बनाउनु भएको छ यसमा कुनै दुईमत छैन । तर फिल्मको विषयवस्तु उठानमा मेरो संगीतले कुन किसिमको भूमिका खेल्यो भन्ने नै प्रमुख कुरा हो । यसैले राम्रो फिल्म बन्दाबन्दै पनि संगीत राम्रो बन्यो कि बनेन भनेर मैले भन्नुभन्दा पनि दर्शक एवं स्रोताले मूल्यांकन गर्ने कुरा हो । तर आशावादी छु मेरो संगीतका कारणले फिल्मको सफलतालाई सहयोग गर्छ र सफलताले मेरो संगीतलाई अझै माथि उठाउँछ ।


फिल्मको संगीत र सुगम संगीतको अन्तर के पाउनुभयो ?
मूल रुपमा भन्नुपर्दा सुगम संगीत भने पनि फिल्मको संगीत भने पनि अथवा अन्य कुनै संगीत भने पनि त्यो एउटा सिर्जनाको माध्यम हो । सुगम संगीतको सिर्जना गर्दा त्यो एउटा गीतको भावले भन्न खोजेको कथालाई संगीतका माध्यमले पुष्टि गर्न सक्नुपर्छ भने फिल्मको संगीतको हिसाबमा गीतको शब्द मात्र नभएर पुरै फिल्मको कथालाई संगीतको सिर्जनाले समेट्न सक्नुपर्दछ । तर दर्शक स्रोता समक्ष जाँदा त्यो एउटा संगीत नै भएर जान्छ । त्यसको सिर्जनशीलतामा भावना, सम्वेदना एवं मनोरञ्जन हुनुपर्ने गुणहरु सबै हुनुपर्छ । एउटा गीतकार सफल बन्नको लागि वा गायक सफल बन्नको लागि संगीतले जसरी उल्लेख्य भूमिका खेल्छ त्यसैगरी फिल्म सफल बनाउनका लागि पनि संगीतले उत्तिकै भूमिका खेल्न सक्नुपर्दछ । मेरो सिर्जनाले फिल्म फूललाई अझै सिंगारेको छ । यसको मूल्यांकन सम्पूर्ण चलचित्रकर्मी, संगीतकर्मी, सञ्चारकर्मी एवं दर्शकवर्गबाट हुनेछ ।

 
अन्त्यमा स्रोता एवं दर्शकलाई के भन्न चाहनुहुन्छ ?
म महिला संगीतकार भएको हिसाबले एउटा महिलाले गरेको सिर्जना कस्तो होला भनेर हेर्न आउनुहोस् भनेर म अनुरोध गर्दिन । म सिर्जनशील संगीतकार हुँ । मेरो काम के भयो र मलाई कुन रुपमा मूल्यांकन गर्नुहुन्छ भन्ने मेरो आशा हो । मैले गरेको प्रयासलाई, मैले गरेको सिर्जनालाई तपाईहरुले धाप मारिदिन जरुरी छ । यति हुँदाहुँदै पनि कामको मूल्यांकन भने हुनैपर्छ । नराम्रो संगीतलाई प्रश्रय दिएर राम्रा संगीतले पछाडि पर्ने अवस्था हुनु हुँदैन । यस अर्थमा मैले गरेको काम कस्तो भएको छ भन्ने खुलदुली म भित्र छ । जसरी फिल्मको प्रोमो एवं संगीत रिलिज भएपछि केही उत्साह ममा बढेको छ त्यसरी नै रिलिज सँगसँगै मेरो उत्साहले अझै पूर्णता पाउनेछ भन्नेमा मेरो पूर्ण आशा छ । यसैले दर्शक एवं स्रोता वर्गबाट मूल्यांकनको अपेक्षा राख्ने २२ गतेदेखि सार्वजनिक प्रदर्शन हुँदै गरेको फिल्म फूल हेरिदिनका निमित्त आग्रह गर्दछु ।