मिति : २०८१ वैशाख २०, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नामबाटै चलचित्र हिट हुन्छ - निर्माता रमेशजंग रायमाझी

सुमन गैरे , , २०६६ पौष २७, आईतवार

नेपाली राजनितीबाट चलचित्रको क्षेत्रमा निर्माताको रूपमा प्रबेश गरेका निर्माता रमेशजंग रायमाझीले निर्माण गरेको चलचित्र 'नाइ नभन्नु ल' प्रदर्शनको तयारीमा रहेको छ । आफ्नै होम प्रोडक्सनमा उनले पुन: अर्को चलचित्र 'भान्जा नं १' निर्माण गर्ने भएका छन् । निर्माता रमेशले आफुले निर्माण गरेको चलचित्र र निर्माण गर्न लागेको चलचित्रको बारेमा फिल्मीखबर डटकमसँग गरेको यो भलाकुसारी -

 

चलचित्रमा लगानी गर्ने सोच कसरी बनाउनु भयो ?

बिकाश आचार्य र म बिराटनगरमा सानै देखि हुर्केको साथी । पछी उहाँ चलचित्रमा प्रबेश गर्नु भयो र म राजनिति तिर लागें । धेरै समय पछाडी हाम्रो अचानक भेट भयो अनि उहाँले आफुसँग भएको कथा मलाई सुनाएर चलचित्र बनाउँ भन्नुभयो । मैले कथा सुनें, एकदम मन पर्यो र उहांमाथि बिश्वास गरेर चलचित्रमा लगानी गरें।

 

लगानी गर्नुभन्दा अगाडी चलचित्र क्षेत्रलाई कसरी बुझ्नु भएको थियो ?

चलचित्र निर्माण गर्नुभन्दा अगाडी म चलचित्रको दर्शक मात्र थिएँ तर अब म निर्माताको रूपमा चलचित्रमा प्रबेश गरेको छु ।  दर्शक हुँदा चलचित्रमा एउटा हिरो, एउटा हिरोईन र केही भिलेनमा मात्र चलचित्र सिमित हुन्छ जस्तो लागेको थियो तर जब म यो क्षेत्रमा प्रबेश गरें अनि थाहा भयो कि एउटा चलचित्र निर्माण गर्न त ठुलै टिमको ठूलै मेहनत चाहिने रहेछ । साँच्चिकै यति धेरै मेहनत गरेर काम गर्ने टिम मैले अहिले सम्म देखेको छैन ।

 

चलचित्रको बजार राम्रोसँग माथि उठ्न नसकेको अवस्थामा चलचित्रमा पैसा खन्याउनुको कारण ?

पहिलो कुरा त निर्देशक बिकाश आचार्य माथिको मेरो बिश्वास हो । दोस्रो कुरा पैसा मात्र ठूलो कुरा नभएर नेपाली कलासंस्क्रितीको जगेर्ना गर्ने एउटा राम्रो माध्यम भएकोले पनि मैले चलचित्र निर्माण गरेको हुँ । र चलचित्रले नेपाली समाजमा राम्रो सन्देश पनि दिन सक्छ । पैसा त आज हुन्छ भोली हुँदैन तर नेपाली कलासंस्क्रिती त बाँचिरहन्छ नि !

 

तपाईं त राजनिती गर्ने मान्छे, राजनितीबाट चलचित्र क्षेत्रमा प्रवेश गर्दा चलचित्र क्षेत्रमा राजनितीकरण त हुँदैन ?

हरेक व्यक्तिको आफ्नो मौलिक स्वतन्त्रता हुन्छ । जो कोही पनि पार्टीको झण्डा बोकेर हिंड्दैमा नराम्रो भन्न मिल्दैन तर पनि कलाकार राष्ट्रको गहना भएकोले उनीहरूले राजनिती गर्न हुँदैन । तपाईंले भने जस्तो राजनितीबाट आएको मान्छेको कारण चलचित्र क्षेत्रमा राजनितीकरण हुँदैन । बरू पहिलेदेखी नै चलचित्र क्षेत्रमा रहेकाहरूले राजनिती गरेको पाईएको छ । मेरो कारणले नेपाली चलचित्रमा कुनै राजनितीकरण हुने छैन ।

 

चलचित्र क्षेत्र र राजनिती मध्ये कुनै एक रोज्न परे के रोज्नु हुन्छ ?

म अहिले जहाँ छु, जे जस्तो अवस्थामा छु, यो सब राजनितीको देन हो । त्यसैले मैले पहिला राजनिती नै रोज्छु तर यसो भन्दैमा चलचित्र क्षेत्रबाट टाढा पनि हुन खोजेको हैन । नेपाली चलचित्रलाई सधैं माया गर्छु र गरिरहन्छु पनि ।

 

तपाईंले निर्माण गर्नु भएको पहिलो चलचित्र 'नाइ नभन्नु ल' लाई कस्तो चलचित्र भन्नु हुन्छ ?

चलचित्र 'नाइ नभन्नु ल' दर्शकहरूलाई सकारात्मक सन्देश दिने चलचित्र हो । बिशेष गरि अहिलेको बर्तमान अवस्थामा युवा केटाकेटीहरूको लागी एउटा राम्रो सन्देश दिने चलचित्र हो 'नाइ नभन्नु ल' । सन्देशको साथसाथै यसले मनोरञ्जन पनि प्रदान गर्नेछ । र यस्को नाम नै हरेक दर्शकको मुखमा झुण्डिने खालको छ । त्यसैले लेखक तथा निर्देशक बिकाश आचार्यको नाम छनोट गर्न सक्ने कलालाई मैले सलुट हान्नै पर्छ ।

 

सेक्सको कुरालाई लिएर नाममा ''भल्गारिटी' देखिएको जस्तो भएन ?

अप्रत्यक्ष रूपमा त्यस्तो देखिन गएपनि चलचित्र हेर्दा र हेरीसके पछी पनि दर्शकले कुनै त्यस्तो महसुस गर्ने छैनन् । चलचित्र पूर्णरूपमा प्रेमकथामा आधरित छ । दर्शकले एकपटक चलचित्र हेरीसके पछी नहेरेका साथीहरूलाई यो चलचित्र हेर्न 'नाइ नभन्नु ल' पक्कै भन्ने छन् ।

चलचित्रबाट कत्तिको आश गर्नु भएको छ ?
नामबाट नै मेरो चलचित्र हिट हुन्छ । त्यसैमाथी कथाबस्तु, प्रस्तुती र गितसंगितले त हरेक दर्शकको मन छुने छ ।
 

 

चलचित्रलाई कहिले र कहाँ कहाँबाट प्रदर्शन गर्ने योजना बनाउनु भएको छ ?

प्रवासमा बसेका नेपालीहरूले नेपालमै बसेको अनुभव गर्न सकुन् भन्ने उद्देश्यले हामिले चलचित्रलाई अष्ट्रेलियाबाट प्रिमिएर गर्ने योजना बनाएका छौं । त्यसको लागी चलचित्रका नायक जीवन लुईटेल अहिले अष्ट्रेलिया पुगेका छन् । त्यसैगरी चलचित्रलाई बेलायत, अमेरीका, मलेसिया लगायतका खाडी मुलुकमा लैजाने तयारी भैइरहेको छ । राजधानी र राजधानी बाहिर भने यहि चैत्र २७ गतेबाट एकैसाथ भव्य प्रदर्शन हुँदैछ ।

 

पहिलो चलचित्र प्रदर्शन हुन नपाउँदै अर्को चलचित्र 'भान्जा नं १' निर्माण गर्दै हुनुहुन्छ रे ! यो कस्तो चलचित्र हो ?

बिकाश आचार्यको कथा र निर्देशनमा बन्न लागेको चलचित्र 'भान्जा नं १' कमेडी चलचित्रको रूपमा रहने छ । मामा र भान्जा बिचको रोमान्टिक कथामा चलचित्र निर्माण हुँदैछ । चलचित्रमा कलकार निर शाहको चुलबुले भान्जाको रूपमा नायक जीवन लुईटेल रहने छन् भने एउटी नयाँ नायिकाको खोजी भइरहेको छ ।

 

सिक्वेल चलचित्र बनिरहेको अवस्थामा पहिलो पटक 'नं १' नाम राखेर चलचित्र निर्माण गर्दै हुनुहुन्छ । अब कुनै नं १ बनाउने सोच त छैन ?

पक्कै पनि यो चलचित्र सफल भयो भने निर्देशक बिकाश आचार्यको आफ्नै जीवनकथामा आधारित रहेर 'निर्देशक नं १' बनाउने छु ।