मिति : २०८१ वैशाख २०, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

म दु:खसँग डराउदिन - श्रीकृष्ण श्रेष्ठ

फिल्मीखबर, काठमाण्डौ, २०६६ श्रावण ६, मंगलवार

नायक श्रीकृष्ण श्रेष्ठद्वारा पहिलोपटक निर्मित चलचित्र कहाँ भेटिएलाले यही साउन ९ गतेबाट राजधानीका हलमा पालो पाउने भएको छ भने २१ गतेदेखि राजधानी बाहिरका हलमा रिलिज हुने भएको छ। प्रस्तुत छ उनै नायक तथा निर्मात श्रीकृष्ण श्रेष्ठसँग फिल्मीखबरले गरेको कुराकानी -

 

एउटा निर्माता भएर चलचित्र निर्माण गर्न र प्रदर्शन गर्न कत्तिको गार्‍हो हुने रहेछ ?
- चलचित्र भित्रको ५०% मात्र जिम्मेवारी लिएर काम गरेको मान्छेलाई १००% कामको जिम्वेवारी आउँदा पक्कै पनि गार्‍हो त हुन्छ नै  तर पनि जति गार्‍हो हुन्छ त्यतिनै मजा पनि आउँछ ।


चलचित्र कुन कुन ठाँउबाट प्रदर्शन गर्दै हुनुहुन्छ ?
- यहि साउन ९ गते देखि उपत्यकाका बिभिन्न हलहरूमा प्रदर्शन हुदै छ भने २१ गते देखि उपत्यका बाहिरबाट प्रदर्शन हुँदै छ ।


समग्रमा भन्नु पर्दा चलचित्रले कस्तो कथाबस्तुलाई समेटेको छ ?
- हाम्रै देशको कुनै एक ठाउँको बास्तविक जीवनलाई लिएको छु जहाँ एउटा होटलमा काम गर्ने युवतीको कथालाई नै मुख्य रूपमा समेटिएको छ। समग्रमा भन्नु पर्दा चलचित्र 'म्युजिकल लभ स्टोरी' मा बनेको छ ।


चलचित्र निर्माण गर्न भन्दा पनि चलचित्रकी नायिका खोज्न निकै दु:ख पाउनु भयो भन्ने सुनिन्छ नि ?
- पक्कै पनि हो । जब मैले कथा तयार गरें अनि नयाँ नायिकाको खोजी गरें । किन भने मेरो कथासँग सुहाउनको लागि १८/१९ बर्षकी केटी चाहिएको थियो । त्यसैले नायिका खोज्न अलि दु:ख खेप्नु पर्‍यो। 

चलचित्रकी नायिका खोज्ने क्रममा रमाईलो घटना पनि घट्यो । नायिका खोज्न जाँदा केटी पक्षका बुवा आमाले छोरीसंग तपाईले बिबाह गरेमा मात्र छोरीलाई नायिका बनाउँछौ भन्नु भयो रे ! के यो सत्य हो ?

- (लामो हाँसो) पक्कै पनि हो । मेरो साथीले उक्त केटीलाई देखाए पछि हामी कुरा गर्न गयौं। केटी मेरो कथा सँग मिल्ने खालकी राम्री पनि थीइन् । उनको इच्छा पनि फिल्म खेल्ने रहेछ तर उनको परिवारले भने फिल्म खेल्न जान बाट रोक लगाएको रहेछ । अनि हामी गएर उनको बुवा आमा सँग कुरा गर्‍यौं । तर उहाँहरूले छोरीसँग बिहे गरेमात्र फिल्ममा खेल्न दिन्छौ भन्नु भो । तर उहाँहरू मेरो एकदमै फ्यान हुनु हुँदो रहेछ । उहाँको घरमा मेरो फिल्मकै सबै भन्दा बढी डिभिडीहरू रहेछन् तर नेपालको चलचित्र क्षेत्रकी नायिकाहरूमा नाम भन्दा बढी बदनाम छ त्यसैले हामिले छोरीलाई चलचित्रमा खेल्न जान दिदैनौं भन्नु भयो । अनि हामीले अर्की खोज्दै जाँद स्वेतालाई भेट्यौं ।

 

नवनायिका स्वेता खड्काको भुमिका के कस्तो छ ?
- चलचित्रको मुख्य पात्र नै स्वेता जि हुनुहुन्छ । चलचित्रको सम्पूर्ण कथा नै उहाँको वरिपरि घुमेको छ । अब के छ ? त्यो चाहिं चलचित्र हेरेर नै थाहा पाउनुहुने छ ।


नायिकाबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
- म एकदमै सन्तुष्ट छु । किन भने स्वेता जी ले निकै मेहनतका साथ काम गर्नु भएको छ। उहाँमा अभिनय कला पनि एकदमै राम्रो पाएँ मैले । उहाँमा नायिकामा हुनु पर्ने गुण छ । त्यसैले मैले चलचित्र क्षेत्रमा राम्रो कलाकार प्रवेश गराएको छु जस्तो लागेको छ ।


चलचित्रमा निरूता सिंह पनि हुनु हुन्छ । उहाँको भुमीका कस्तो छ ?
- चलचित्रमा निरूता जि को स्वेता जी को जत्तिकै महत्वपूर्ण भुमीका रहेको छ तर अहिले यो 'सस्पेन्स' भने खोल्न चाहन्न । एकपटक चलचित्र हेरेपछि दर्शकहरूले पक्कै पनि उहाँको अभिनयको कदर गर्नुहुने छ ।


तपाईको भुमीका कस्तो छ ?
- म यस चलचित्रमा बक्सिङको राष्ट्रिय खेलाडीको भुमीकामा देखिएको हुन्छु । जुन आफ्नो बुवाको सपना पूरा गर्नको लागि बक्सर खेलाडी भएर जे पनि त्याग गर्न तयार भएको हुन्छु । तर यस्तो व्यक्ति जो आफ्नो बुवाको सपना भन्दा पनि देशको समस्यालाई मुख्य समस्या देखेर त्यो समस्याको समाधान गर्न तर्फ अगाडी बढ्छ । सच्चिकै भन्नु पर्दा अहिले सम्म जति मैले अभिनय गरेका चलचित्र छन् ति चलचित्रमा भन्दा यो चलचित्रमा अभिनय गर्न एकदमै गार्‍हो भयो । अहिले मेरो बुवा हुनुहुन्न । मेरो बुवा बिरामी हुँदा जुन दु:ख पाउनु भएको थियो त्यो दु:ख को महसुस मैले यो चलचित्रमा गरेको छु ।मैले आफ्नो बुवाको जिवन्त अभिनय देखेर निर्देशक शिव रेग्मीका आँखा रसाएका थिए । अनि उहाँले भन्नु भो कि - 'तपाईले यस्तै जिवन्त अभिनय गर्नु हुन्छ र त मैले आफ्नो कथामा तपाईलाई नै लिने गर्छु' । जब उहाले यस्तो कुरा गर्नु भो अनि मेरा आँखा पनि साच्चिकै रसाए ।


चलचित्रको नामको बारेमा के भन्नु हुन्छ ?
- मलाई नायिका खोज्न जत्तिकै गार्‍हो नाम खोज्न भयो । नायिका कहाँ भेटिएला त भएको थियो तर नाम पनि कहाँ भेटिएला नै भयो । ७०/८० वटा नाम खोजी सक्दा पनि उपयुक्त नाम भेटिएन । अनि के नाम राख्ने भन्दै सोच्दै जाँदा संगितकार शम्भुजित बाँस्कोटाले चलचित्रको गित 'सुनकोशिले सुसेलेको दुधकोशीले सुन्छ, यो मनले सुसेलेको कसले सुनि दिन्छ ?,रूपै खोज्ने आँखाहरू धेरै धेरै आउँछन्, मन खोज्ने मायालुलाई कहाँ भेटिएला....' यो गितले नै चलचित्रको कथाबस्तु सबै भएको हुन्छ । त्यसैले यो चलचित्रको नाम कहाँ भेटिएला नै उपयुक्त हुन्छ भन्नु भयो । यसो सोचे हो मेरो चलचित्रको लागि यो भन्दा राम्रो नाम अरू हुनै सक्दैन भनेर हामिले कहाँ भेटिएला नाम नै राख्यौ । त्यस पछि मैले हरेक सडक, हाईवे अनि गाडीमा कहाँ भेटिएलाको पोस्टर र स्टिकर टाँसे । अनि सबै जनाले नामको प्रशंशा पनि गर्नु भयो । अहिले आएर नामबाट पनि म निकै सन्तुष्ट भएको छु ।


चलचित्र प्रदर्शन गर्न निकै समय कुर्नु पर्‍यो । के कस्ता अबरोधले गर्दा चलचित्र प्रदर्शन हुनबाट बन्चित हुनु पर्‍यो ?
- अबरोध के चाहिँ आएन भन्नु । चलचित्र प्रदर्शन गर्दा आएका अबरोधहरू यति धेरै भए कि अहिले सम्झेर नै सकिदैन । जे जस्ता अबरोध आएको भए पनि म अहिले समुन्द्र पार गर्ने क्रममा छु । म दु:खलाई देखेर डराएर भाग्ने मान्छे हैन । दु:ख सँग खेल्नुमा नै मलाई आनन्द आउँछ । सुखमा हाँस्दा त के मजा हुन्छ र ? तर यो दु:ख सँग लड्न तपाईहरूले सहारा दिनु भएको छ यसमा म तपाईहरू प्रति क्रितज्ञ छु र आभार प्रकट गर्न चाहन्छु ।


चलचित्र निर्माण गर्नुको उद्दश्य ?
- मैले २० बर्ष भन्दा बढि बिताई सकें । अब मैले के गर्ने त? त्यसैले यो चलचित्र क्षेत्रलाई निरन्तरता दिनको लागी मैले निर्माण पक्षमा हात हालेको हुँ ।

 

पहिला नायक हुँदा पारिश्रमिक लिनु हुन्थ्यो तर अहिले दिनु परेको छ । कलाकारहरू र प्रबिधिकहरूलाई पारिश्रमिक दिन कत्तिको कन्जुस्याई गर्नु भयो ?
- हेर्नुस ! म काम गधाले जस्तै गर्छु तर खान र सुत्न राजा महाराजाको जस्तै चाहिन्छ । काम हामिले त्यसैको लागि त गर्ने हो नि । मलाई थाहा छ सिनेकर्मिहरू कति धेरै मेहनत गर्छन् । म उनिहरूको समस्या राम्रोसँग बुझ्छु । त्यसैले मैले पारिश्रमिक दिन कन्जुस्याई गरिन ।


आगामी दिनहरूमा निर्मात भएर देखिने कि नायक भएर ?
- बास्तवमा अहिले तपाईले मलाई निर्माता भन्दा पनि लाज लागेको छ । म अझै निर्माता भएको छैन । जब मेरो चलचित्र प्रदर्शन हुन्छ र दर्शकहरूले मन पराईदिनु हुन्छ अनि बल्ल म निर्माता हुने छु । नत्र म अहिलेलाई कलाकार नै हुँ । अब मलाई निर्माता बनाउने तपाईहरू र दर्शकहरूको हातमा छ ।


चलचित्र नेपालमा मात्र प्रदर्शन गर्नु हुन्छ कि बिदेशमा पनि प्रदर्शन गर्ने सोच बनाउनु भएको छ ?
- मैले सेप्टेम्बरमा साहारा युकेको आयोजनामा बेलायतमा प्रदर्शन गर्दै छु । यसै गरि अमेरीका, जापान, कोरिया र अन्य देशहरूमा पनि कुरा भैइरहेको छ । हेरौं के हुन्छ ।


अन्तमा दर्शकहरूलाई के भन्न चाहनु हुन्छ ?
- जति पनि दर्शकहरू हुनुहुन्छ जसले नेपाली चलचित्रलाई माया गर्नु भएको छ र श्रीकृष्ण  भनेर स्विकार्दै आउनु भएको छ । मैले निकै मेहनतका साथ तपाईहरू कै लागि भनेर चलचित्र 'कहाँ भेटिएला' निर्माण गरेको छु । अवश्य पनि एकपटक हेरिदिएर मेरो कमि कमजोरी औंल्याईदिनु हुने छ भन्ने पूर्ण आशा राखेको छु र नेपाली चलचित्र र नेपाली कलाकारलाई सधैं भरि माया गरि दिनु होला । अन्तमा फिल्मीखबरले आज मेरो र मैले निर्माण गरेको चलचित्रको बारेमा मेरा प्यारा दर्शकहरू समक्ष पुर्‍याईदिनु भएको मा फिल्मीखबरलाई धेरै धेरै धन्यबाद दिन चाहन्छु । धन्यबाद !