मिति : २०८१ ज्येष्ठ ३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राम्रो बनाउने प्रयासमा कुनै कसुर छोडिएको छैन : सुरेशदर्पण पोखरेल (निर्देशक)

शान्तिप्रिय, , २०६८ फाल्गुन ६, शनिवार

के मा व्यस्त हुनुहुन्छ ?
मैले बनाएको पछिल्लो चलचित्र ‘मिस यू’ फागुन ५ गतेदेखि सार्वजनिक प्रदर्शनमा आएको छ । मैले आफूले केही नयाँपनका साथ बढी मेहनत गरेर बनाएको चलचित्र भएका कारणले मिस यू प्रतिको अपेक्षा अलिकति धेरै छ । दर्शकहरुले पनि यसलाई प्रतिक्षाको चलचित्र बनाइदिनु भएको छ भने संचारकर्मी साथीभाइहरुले पनि आशातित चलचित्रको रुपमा मिस यूलाई लिनुभएको छ । यस रुपले हेर्दा संचारकर्मी, चलचित्रकर्मी, दर्शकदेखि हाम्रो टिमसम्म सबैजना मिस यूको सफलताको प्रतिक्षामा छौं । पछिल्लो चरणमा चलचित्रहरुले केही सुधारात्मक व्यापार गर्न थाले पछि मिस यूले पनि आफ्नो आशा अझै बढाएको छ । एउटा राम्रो चलचित्र बनाइसकेपछि सो चलचित्र राम्रो बनेको छ भन्ने जानकारी दिनु पनि निर्माण पक्षको काम हो । यसैले यसको पब्लिसिटीदेखि लिएर चलचित्रलाई सहजीकरणका रुपमा कसरी चलाउन सकिन्छ भन्ने हिसाबले म लागिरहेको छु ।


मिस यू कस्तो खाले चलचित्र हो  ?
यो ट्रयाङगल लभस्टोरी हो । खासगरी भन्नुपर्दा यो मायाको चलचित्र हो । भ्यालेन्टाइन डेलाई मायाको पर्वको रुपमा लिने भएकै कारणले मिस यूलाई पनि यही भ्यालेन्टाइनकै अवसरमा रिलिज गरिएको हो । माया गर्नेहरुका लागि माया चाहनेहरुका लागि अथवा मायाको परिभाषा खोज्नेहरुका लागि भ्यालेन्टाइनमा मायाको उपहार मिस यू हो । मिस यू भित्र जसरी पात्रहरु मायाको खोजीमा सल्बलाएका छन् त्यसैगरी भ्यालेन्टाइनलाई लक्षित गरेर माया गर्नेहरुलाई हामीले मिस यू उपहार दिएका छौं । प्रविधिको प्रयोग गर्दै पछिल्लो जमानाको उत्कृष्ट प्राविधिक प्रस्तुतिकरण र संयोजनले मिस यू राम्रो चलचित्र बनेको छ । त्यहीँमाथि कतार भएको प्रिमियरले यसको सफलता आँकलन गर्ने बाटो दिइसकेको छ । आशा छ, हाम्रा दर्शकहरुले यो चलचित्रलाई राम्ररी नै मन पराउनुहुनेछ ।


संचारकर्मीहरुले चलचित्रभित्र समेटिएका प्राविधिकदेखि निर्देशकसम्म एवं कलाकारहरुसम्मलाई यो चलचित्रको व्यवसायिक सफलताले प्रभाव पार्ने बताइरहेका छन्, यसमा तपाईं के भन्नुहुन्छ ?
पक्कै पनि एउटा चलचित्र बनाइसकेपछि चलचित्रसँग सम्बन्धित निर्देशकदेखि स्पटब्वाइसम्म सबैलाई प्रभाव पार्छ । यसैले चलचित्रको क्रुमेम्बरहरु सबैले यो चलचित्रका बारेमा आशा राख्नु कुनै नवीन कुरा होइन । अब नम्रता श्रेष्ठकै कुरा गर्दा पछिल्लो स्थितिमा उहाँको लागि एउटा राम्रो चलचित्र आवश्यक छ । त्यसका लागि मिस यू सर्वोपरी हुनसक्छ । दिलिप रायमाझीको कुरा गर्ने हो भने उहाँले खेलिरहेका चलचित्रबाट हटेर अलिकति नविनता खोज्नलाई मेकिङमा आउनु भएको हो । केही गरौँ र नयाँ शैलीमा गरौँ भन्ने सोचले नै उहाँले मलाई निर्देशक बनाउनु भयो । अब मैले आफ्नो ठाउँबाट उहाँलाई कतिको आशावादी बनाउन सकेँ अथवा उहाँ यो चलचित्रबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ भन्ने कुरा दर्शकहरुले निर्धारण गरिदिने हो । हामी निर्माता निर्देशकको पक्षबाट भने चलचित्रलाई राम्रो बनाउन कुनै कसुर बाँकी राखेका छैनौँ । यसैले यो चलचित्र कसका लागि आवश्यक छ वा कसका लागि हो भनेर भनिरहनुभन्दा पनि हामी निर्माणपक्षका सबैजना आशावादी छौँ र यो चलचित्र विशुद्ध दर्शकहरुले मनोरञ्जन प्राप्त गर्नसक्ने चलचित्र हो भनेर भन्न सकिन्छ ।


चलचित्र जुधिरहेका छन्, तपाईलाई आफ्नो चलचित्रप्रति कत्तिको आशा छ ?
मैले भन्नैपर्ने कुरा के हो भने यो चलचत्रिबाट म साँच्चिकै आशावादी छु । म स्वीकार्न डराउने मान्छे होइन । मेरो पहिलो चलचित्र निशानाले जुन सुपरहिट हुने मौका पाएको थियो बीचका चलचित्रहरु त्यो स्थितिमा पुगेनन् र पनि म एउटा राम्रो चलचत्रि दर्शकहरुलाई दिऊँ भनेर लागिपरेको मान्छे हो । यसैले मिस यूलाई मैले ड्रिम प्रोजेक्टकै रुपमा लिएको छु । यो जति मायाको चलचित्र हो त्यति नै दर्शकहरुसँग मेरो माया र मसँग दर्शकहरुको माया बाँड्ने चलचित्र पनि हो । यसैले म आशावादी मात्रै होइन, एक्साइटेड समेत छु । यो मेरो आशालाई दर्शकहरुले पूर्णता दिनुहुन्छ भन्ने कुरामा म ढुक्क छु । त्यहीँमाथि कतारमा भएको प्रदर्शनमा दर्शकहरुले जुन भरोसा देखाइदिनुभयो त्यसले एक शोका लागि कतार गएको हाम्रो टिम धेरै सो गर्नुपर्ने अवस्थामा पुगिसकेको छ भने आर्थिक रुपमा पनि अन्तर्राष्ट्रिय बजारबाट मिस यूलाई केही लाभांश मिल्ने भएको छ । प्रिमियर हामीले कतारमा गरे पनि नेपालमा गरे पनि दर्शकको छनौटको कुरा हो । दर्शक छनौटको आधारमा मिस यू हिट हुने पक्का ग्यारेन्टी छ ।


कसरी लागिरहेको छ मिस यू ?
हाम्रो फिल्म अहिले डिसिएनको सर्भरबाट देशभरका करिब ४ दर्जन सिनेमा घरमा चलिरहेको छ । चलचित्र बनाउन जति गाह्रो छ, त्योभन्दा धेरै गुणा गाह्रो चलाउन छ । यसैले भनेजस्तो बेलामा भनेको जस्तो हलहरु नपाउनु नेपाली चलचित्रको दुर्भाग्य हो । तर मैले जुन दर्शकलाई लक्षित गरेको छु, ती दर्शकहरुले आफ्ना नजिकका हलमा जसरी पनि चलचित्र हेर्नुहुनेछ भन्ने मलाई लाग्छ । त्यहीँमाथि क्यूएफएक्स, जयनेपाल एवं बिग सिनेमाहरुले मेरो चलचित्रलाई अझै दर्शकसमक्ष पुर्‍याउन सकारात्मक भूमिका खेल्नेछन् भन्नेमा विश्वस्त छु ।


अन्त्यमा के भन्न चाहनुहुन् छ ?
म नियमित रुपमा चलचित्र बनाइरहने मान्छे हुँ । म एउटा निर्देशक मात्रै नभएर राम्रो मेकर बन्ने प्रयासमा पनि छु । यसै बीचमा बनेको मिस यू एउटा राम्रो चलचित्र बनेको छ । मलेसिया जस्तो ठाउँमा सम्पूर्ण सुटिङ गरिएको छ । ए ग्रेडका कलाकार एवं ए ग्रेडका प्राविधिकहरु यसमा संलग्न छन् । चलचित्रलाई प्राविधिकदेखि प्रस्तुतिका माध्यमसम्म राम्रो बनाउने प्रयासमा कुनै कसुर छोडिएको छैन । यसैले आशा छ, दर्शकहरुले मेरो परिकल्पनालाई हाम्रो टिमले बनाएको विश्वासलाई निराशामा बदल्नुहुने छैन । आगामी दिनमा अझै मेरा लागि मिस यू प्रेरणादायी बनोस् म यही भन्न चाहन्छु ।


फिल्मीखवर साप्ताहिक