मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

`नारीको सौन्दर्यतामा रमाउँछु` : नवल नेपाल (लेखक/ निर्देशक)

सुमन गैरे, काठमाण्डौ, २०७१ आश्विन १०, शुक्रवार

नवल नेपाल, नेपाली फिल्म क्षेत्रमा लामो समय संघर्ष गरेर नाम खोज्दै हिंडेका एक कुशल निर्देशक त्यो भन्दा बढि असल व्यक्ति । सानै उमेरदेखि फिल्म भनेपछि हुरुक्कै हुने नवल आफ्नो सपना खोज्दै बिगत १८ बर्षदेखि फिल्म क्षेत्रमा संघर्षरत छन् । 

 

सुनसरीको तरहरामा जन्मेका नवल बि.सं. २०५३ सालतिर 'सान्नानी' फिल्ममा प्रोडक्सन असिस्टेन्ट बनेर आफ्नो सपना खोज्ने दौडमा लागे । प्रोडक्सन असिस्टेन्ट, थर्ड असिस्टेन्ट निर्देशक, सहायक निर्देशक, मुख्य सहायक निर्देशक हुँदै ०६२/०६३ सालतिर 'युग' नामक डकुड्रामाको निर्देशन गरेपश्चात उनले आफ्नो सपनाको पहिलो खुड्किलो चढे । 

 
'तस्वीर' उनको पहिलो फिचर फिल्म हो । यहि कार्तिक ७ गते रिलिज हुन लागेको 'लज्जा'सहित  'श्रीमान' र 'महसुश' फिल्म निर्देशन गरेका यिनै निर्देशकसँग गरिएको कुराकानी प्रस्तुत छ -  
 

फिल्म क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ? 

मेरो घर (सुनसरी) नजिकै प्रोडक्सन कन्ट्रोलर भक्त कार्की बस्नुहुन्थ्यो । सानैदेखि फिल्ममा रूची राख्ने भएकाले उहाँले नारायण पुरीसँग भेट गराईदिनुभयो । तीन फिल्म 'सान्नानी', 'रगत' र 'शंकर'मा प्रोडक्सन असिस्टेन्टको काम पाएपछी नारायण दाईकै औंला समातेर हिंडे । त्यसपछि 'सगुन' फिल्ममा आएर तेस्रो असिस्टेन्ट निर्देशकको जिम्मेवारी पाएँ । मेरो कामबाट प्रभावित भएर नारायण दाईले छोटो समयमा नै आफ्नो फिल्ममा सहायक निर्देशक बनाउनु भयो । त्यसपछि नारायण दाईसँगै तुलसी घिमिरे, दीपक श्रेष्ठ, किशोर राना, प्रमोद प्रधान, तीर्थ थापा जस्ता व्यक्तित्वहरूसँग मुख्य सहायक निर्देशक भई काम गर्ने मौका पाएँ । ०६२/०६३ सालको जनआन्दोलनको बिषयलाई लिएर विश्व प्रकाश शर्माको निर्माणमा 'युग' नामक डकुड्रामा निर्देशन गर्ने अवसर पाएँ । यसरी मेरो करियरको ढोका खुल्यो । 
 

तपाईं त आँफैं कथा पनि लेख्नु हुन्छ क्यारे !
हो, मैले निर्देशन गरेका सबै फिल्मको लेखन आँफैले गरेको छु । 
 
अरूको कथामा विश्वास नलागेर ? 
हैन । मैले जति म आफूलाई कसैले चिन्दैन । म जे चाहन्छु त्यो दर्शकलाई दिन सक्छु । तर, अरूको स्क्रिप्टमा गर्न सक्दिन भन्ने हैन । छिट्टै अरूको स्क्रिप्टमा पनि काम गर्दैछु । 
 
१८ बर्षको यो दौडमा के पाएँ जस्तो लाग्छ ? 
मैले आफ्नो सपनालाई भेटें । अब त्यो सपना पूरा गर्न दौडदै छु । 
 
फिल्ममा आउन कस्ले प्रेरित गर्‍यो ?
पर्दा भित्रको रंगीन जिवनले मलाई आकर्षित गरेको हो । प्रेरित भएर आएको हैन । 
 
तपाईं त कलाकार बन्न चाहनुहुन्थ्यो क्यारे ! निर्देशक किन बन्नु भो ?
हो, म आफ्नो अनुहार पर्दामा छचल्किएको हेर्न चाहन्थें । जब अप्रत्यासित रूपमा प्राबिधिक पाटो समातें तब त्यसमा नै रमाउन पुगें । कलाकार बन्ने सपना बुनेको ठिटो कलाकार बनाउने पेशामा छ । यसमै म खुसी हुँदै छु । 
 
फिल्म निर्देशन के रै'छ त ? 
फिल्म भनेको एउटा समाज हो । त्यहि समाजको सकारात्मक तथा नकारात्मक पक्षलाई लिएर जनतालाई फिल्मको माध्यमबाट सुसुचित गर्न सक्ने क्षमता राख्ने ठुलो जिम्वेवारी नै निर्देशन जस्तो लाग्छ । 
 
निर्देशकको लागि सबैभन्दा गार्‍हो पक्ष के जस्तो लाग्यो ? 
समाजले आत्मसाथ गर्नसक्ने गरी पर्दामा जीवन देखाउन सक्नु एउटा गार्‍हो र चुनौती हो भने अर्को गार्‍हो पक्ष भनेको निर्माता हो । निर्मातालाई चित्त बुझाएर फिल्म बनाउन धेरै गार्‍हो छ । निर्माताले निर्देशकको क्रियशनमा लगानी गर्छ । त्यहि निर्माताले उसको क्रियशनमा हस्तक्षेप पनि गर्दछ । यदि निर्माताले निर्देशकलाई विश्वास गर्दैन भने त्यो उसको हार हो । 
 
तपाईंको करियरमा यो कुरा कत्तिको लागु भएको छ ? 
मेरा आफ्ना भोगाई नै तपाईं समक्ष शेयर गरेको हुँँ । आफ्नो भोगाई भन्दा बाहिर गएर बोल्ने अधिकार मलाई छैन पनि । 
 
यसको मतलव आफ्नै फिल्मबाट सन्तुष्ट हुनुहुन्न ? 
छैन । सन्तुष्ट भएँ भने त मेरो यात्रा समाप्त नै हुन्छ ।
 
नेपाली फिल्म बजारमा कस्ता फिल्म चल्छन् ?
सपनाका फिल्म चल्छन् । कमर्शियल भ्यालु भएका फिल्म चल्छन् । समाजका कथा चल्छन् । कस्ले कसरी प्रस्तुत गर्दछ भन्ने मात्र हो । 
 
तपाईंको फिल्मले नारीका बिषयलाई मात्र उठाएको पाईन्छ । नारीको कथाबाट अगाडी बढ्न किन सक्नु भएन ? 
यो एउटा संयोग मात्र हो । तरपनि, नारी एउटा फूल हो । फूललाई सबैले मन पराउँछन् । नारीको जस्तो सहजता, चञ्चलता, रोमाञ्चकता, मिठास अनी सहनशिलता पुरूषमा हुँदैन । त्यहि नारीको सौन्दर्यतामा रमाएर कथा लेख्छु । नारीको कथालाई जोसुकैले जतिबेला पनि स्विकार्न सक्छन् । यही कथा दर्शकको पनि पहिलो रोजाईमा पर्छ ।  
 
नारीको बिषयमा कथा तयार पार्न सजिलो लाग्छ हो ? 
नारी शब्द आँफैंमा संवेदनशिल छ । सामाजिक मर्यादाभित्र रहेर नारीको बिषयमा फिल्म बनाउनु 'च्यालेञ्जिङ' काम हो । जब नारीको सौन्दर्यता च्यातिन्छ तब ऊ पीडित हुन्छे । जब नारी पीडित हुन्छे तब देश पीडित हुन्छ । अब भन्नुस्, यस्तो संवेदनशिल बिषयमा कथा लेख्नु सजिलो काम हो त ? 
 
 
आगामी दिनमा पनि नारीको कथामै रमाईरहने हो ? 
सबैकुराले साथ दिएको खण्डमा अबको प्रोजेक्ट नारी र पुरुषलाई समानान्तर रूपमा अगाडी बढ्ने खालको हुनेछ । पुरुष केन्द्रिय पात्र भएको फिल्म पनि राम्रो बनाउन सक्छु भन्ने उदाहरण छिट्टै पेश गर्नेछु । 
 
'लज्जा' कस्तो फिल्म हो ? 
लाज भन्ने कुरा समाजको मर्यादाभित्र रहनु पर्छ । जब लाज समाजको मर्यादा नाघेर निस्कन्छ त्यसपछि खतरानाक विकिरणहरू निस्कन्छन् । त्यहि लाजको विकिरण नै 'लज्जा' हो । यो फिल्म हाम्रै परिवार, समाज र देशसँग नजिक छ । 
 
अघिल्ला नारीका फिल्म र 'लज्जा'मा भिन्नता के छ ? 
'श्रीमान' फिल्ममा श्रीमानबाट अपहेलित नारीको कथा छ । 'महसुश'मा आफ्ना पीडालाई लुकाएर रमाउन चाहने चञ्चले र चुलबुले नारीको कथा छ । 'लज्जा'मा अभावै अभावले थिचिएकी, समाजबाट बिछिप्त भएकी तथा भौतिक सुख पाएपनि आत्मिय सुख नपाएकी नारीको कथा छ । 
 
फिल्म सफल र असफलताले निर्देशकको करियरमा कत्तिको असार गर्छ ?
निर्देशकको सिर्जनामा असार नगरेपनि व्यवसायिकतामा भने असार गर्छ । निर्देशकको पहिलो सफलता भने ऊमाथि भरोसा गरेर लगानी गर्ने निर्माताको खल्ती भर्नु हो । निर्देशकलाई आउने यो ठुलो जिम्वेवारी पनि हो । 
 
'लज्जा'बाट तपाईंको अपेक्षा के छ ? 
निर्माताको अनुहारमा खुसी छाओस् । दर्शकको मन जितेर उदाउँदो निर्देशक भनेर चिनिन पाउँ । 
 
नारी फिल्म बनाउन चाहने नवललाई आफ्नो स्वाभाव कस्तो छ जस्तो लाग्छ ? 
सामान्य प्रोफाईलमा बस्न रूचाउने सरल व्यक्ति हुँँ म । नारीलाई छिटो पढ्न र बुझ्न सक्ने खालको छु । सबैसँग मिलनसार हुने कोशिस गरिरहन्छु । 
 
सरलताले नेपाली फिल्म क्षेत्रमा टिक्न सहज छ ?  
सरलता नै मेरो बाँच्ने आधार हो । यहि सरलतामा आफ्नो सपना पूरा गर्न चाहन्छु । फटाहा भएर २/४ वटा बढि फिल्म गर्नु भन्दा सरल भएर एउटा फिल्म गरेरै रमाउन चाहन्छु ।