मिति : २०८१ ज्येष्ठ ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

मन छुने चलचित्र नै मौलिक चलचित्र हो - शिव रेग्मी (निर्देशक)

विजयरत्न तुलाधर, , २०६८ कार्त्तिक २, बुधवार

नेपाली चलचित्र जगतमा अत्याधिक संख्यामा हिट/सुपर हिट चलचित्रहरु दिएका निर्देशक हुन्, शिव रेग्मी  । अभिनेता बन्नका लागि चितवनबाट राजधानी पसेका रेग्मीले शुरुमा एउटा भिडियो चलचित्रमा नायकका रुपमा काम गरे । त्यस पछी उनले चलचित्र लेखकका रुपमा यात्रा बढाए । र अन्ततः "आफन्त" शिर्षको चलचित्रबाट निर्देशकको रुपमा अगाडि बढे निर्देशक रेग्मी निर्देशन शिल्पका कुशल शिल्पकार र एक अप्रतिम प्रतिभाका धनी निर्देशक हुन् । उनले दर्जनौं सफल चलचित्र निर्देशन गरिसकेका छन् । "नेफ्टा फिल्म अवार्ड २०६४" मा "मानिस" को लागि र्सवश्रेष्ठ निर्देशकको पुरस्कार जित्न सफल शिव रेग्मीले थुप्रै पुरस्कार एवं सम्मान हासिल गरिसकेका छन् । उनै व्यक्तित्व शिव रेग्मी सितको कुराकानी :

 


शिवजी, हाल के गर्दै हुनुहुन्छ ?
अहिले भर्खरै "फूल", "पर्राई", "साथी म तिम्रो" र "मनले मनलाई छुन्छ" शिर्षको चलचित्रहरुको काम टुंग्याएको छु । 


यो "मनले मन छुन्छ" कस्तो चलचित्र हो ?
चलचित्रको शिर्षले नै भन्छ कि यो सबैको मन छुने खालको चलचित्र हुनेछ । अहिलेको युग भनेको मानिसले चन्द्रमाको धर्ती छोइसकेको युग हो तर कतिपय मानिसले मानिसको मन छुन सकिरहेका छैनन् । आधुनिकताको नाममा मानिस भित्र आत्मियताको ह्रास हुँदै गईरहेको छ । मानिसहरु अनुशासन हिन हुँदै गईरहेका छैन् । त्यसैले यी सब कुरालाई सङ्केत गर्दै अनुशासन बिनाको जीवन र अभिभावक बिनाको घर दिगो हुन सक्दैन भन्ने सन्देश बोकेको चलचित्र हो "मनले मनलाई छुन्छ" ।


तपाईं एक कुशल पटकथाकार/संवादकर्ताका रुपमा चिनिनु हुन्छ । तर "मनले मनलाई छुन्छ" का लागि मौनता श्रेष्ठको साथ लिनुको कारण के होला ?
हेर्नोस् ! मौनता जी अत्यन्तै राम्रो लेखक हुनुहुन्छ । उहाँ जस्तो राम्रो लेखकहरु पाएँ भने म तीन चार जना सित मिलेर पनि पटकथा लेख्न तयार छु । यसमा अप्ठेरो मान्नु पर्ने केही छैन । भुवन केसी दाईको "साथी म तिम्रो" त मैले सुष्मिता केसी, विकास आचार्य, मौनता श्रेष्ठसंग बसेर लेखेको छु । यसरी सबैको मिहेनत पर्दा परिणाम राम्रै निस्कन्छ ।


भुवन केसीको प्रसङ्गमा अक्सर उहाँलाई निर्देशकको नाम ओझेलमा पार्ने निर्माता भनेर भन्छन् । तँपाईंले यो कुराको कतिसम्म हेक्का राख्नु भएको छ ?
भुवन केसी दाईसंग "साथी म तिम्रो" शुटिङ गर्दा मैले त्यस्तो केही पनि फिल गर्नु परेको छैन । उहाँ निकै राम्रो र सहयोगी स्वभावका निर्माता हुनु हुन्छ । कुनै पनि दृश्यमा सम्झौता गर्नु हुन्न ।


तर उहाँलाई त निर्देशकको काममा हस्तक्षेप गर्ने निर्माता पनि भन्छन्...
मलाई त त्यस्तो कुनै हस्तक्षेप गर्नुभएन । सल्लाह सुझाव भनेको बेग्लै कुरा हो । निर्देशक भनेको चलचित्रको नेतृत्व गर्ने मानिस हो र नेतृत्व वर्गले सबै पक्षलाई राम्ररी "हृयाण्डल" गर्न जान्नु पर्छ । निर्देशककै कल्पना क्षमताको आधारमा चलचित्र तयार हुन्छ । त्यसैले उसले आफ्नो कल्पनाको बाटोमा सबैलाई दोर्‍याउन जान्नु पर्दछ । त्यत्ति जानियो भने कसैले पनि हस्तक्षेप वा दबाबमा बस्नु पर्ला जस्तो लाग्दैन ।


हालका दिनहरुमा तँपाईंले तीन पुस्ताका अभिनेताहरु भुवन केसी, श्रीकृष्ण श्रेष्ठ र वीरेन श्रेष्ठले निर्माण गरेका चलचित्रको निर्देशन गर्नुभयो । यी तीन अभिनेताहरु बीच कस्तो भिन्नता पाउनु भयो त ?
भुवनदाई र श्रीले यहाँ धेरै अनुभव बटुलिसकेका छन् । त्यसैले गहिर्राईमा डुबेर काम गर्न रुचाउँछन् । वीरेन अनुभव बटुल्ने क्रममा छ । तर सरल स्वभावका छन् । तीनै जनाको लक्ष्य भने राम्रो परिणाम हो । त्यत्ति मात्रै भिन्नता पाएँ ।


तँपाईंले निर्देशन गर्नु भएका धेरै चलचित्रहरु व्यावसायिक रुपमा सफल भएका छन् भने कुनै कुनै असफल पनि भएका छन् । एउटा चलचित्र सफल हुनका लागि सबैभन्दा बलियो हुनु पर्ने पक्ष के होला ?

भावना । भावनात्मक रुपमा बलियो भएको चलचित्र अक्सर सफल भएको मैले पाएको छ । यसलाई अर्को शब्दमा भन्ने हो भने चलचित्र भनेको मानिसको मुटुलाई छुने खालको हुनुपर्छ । मनलाई जित्न सक्यो भने चलचित्र सजिलै लोकप्रिय बन्नेछ ।


अनि तँपाईं आफैले निर्माण गर्नुभएको चलचित्र "मानिस" ले व्यावसायिक लाभ कमाउन नसक्नुको कारण के होला ?

हेर्नोस् ! एउटा चलचित्रको सफलताको श्रेय जसरी निर्देशकमा जान्छ, त्यसरी नै असफलताको कारण पनि निर्देशकलाई नै मान्नु पर्छ । अवश्य पनि मबाटै कहीं कतै त्रुटी भएको हुनुपर्छ । र कहिले काहीं समयको माग चिन्न नसकेर पनि त्यस्तो हुन जान्छ । जस्तो कि मेरो "मानिस" भन्ने चलचित्र चाहीं मैले समय भन्दा धेरै अगाडि बनाएँ जस्तो लाग्छ । कसैले अपराध गर्‍यो भन्दैमा त्यसलाई जेल मै थुनिनु पर्छ भन्ने छैन । त्यसको आपराधिक भावना अन्त्य गर्राई अपराधीबाट मानिस बनाउने प्रयत्न गर्नुपर्छ भनि भन्न खोज्दा धेरैलाई चित्त बुझेन ।


 "मानिस" त एउटा पुरानो हिन्दी चलचित्र "दो आँखे बारह हात" बाट प्रभावित भएकोले नचलेको भन्छन् नि...
!
त्यस्तो हैन । प्रभावित हुनु र नचल्नु भनेको दुई बेग्लाबेग्लै पाटो हो । जहाँसम्म प्रभावित हुने कुरा छ, यदी शेक्सपियर नभई दिएको भए यहाँ बालकृष्ण सम पनि हुँदैन थिए होला । किन भने शेक्सपियरको कतिपय कृतिबाट समको कृति प्रभावित छ भन्ने कुरा प्रष्टै देखिन्छ ।


तँपाईंको विचारमा नेपाली चलचित्रहरुलाई मौलिक धारतिर डोर्‍याउन के गर्नुपर्ला जस्तो छ ?
यहाँनेर मौलिकधार भन्नुको अर्थ के हो त ? दौरा सुरुवाल, गुन्यु चोली लाउँदा मौलिक हुने अनि जिन्स र र्स्कर्ट लाउँदा मौलिक नहुने हो भने म त्यो कुरा म मान्दिंन । मौलिक कुरा भनेको मानिसको मन हो । त्यसैले मनलाई जित्न सक्ने चलचित्र नै मौलिक हो । र, मौलिक चलचित्र बनाउनु भनेकै मनलाई छुने चलचित्र बनाउनु हो ।


यहाँ त मौलिक र कलात्मक चलचित्र बनाउनेलाई राज्यले आर्थिक अनुदान दिनुपर्छ भन्नेहरु धेरै छन् । तँपाईं के भन्नु हुन्छ ?
अरुको म जान्दिन । शायद आर्थिक अनुदान चाहिन्छ पनि होला । तर मेरो विचारमा राज्यले गर्नुपर्ने र गर्न सक्ने सबैभन्दा ठूलो सहयोग भनेको राष्ट्रियताको पहिचान बोकेका चलचित्र बनाउनेहरुका लागि देशभरी कुनै ठाउँमा निर्वाध शुटिङ गर्न सक्ने वातावरण बनाइ दिनुपर्छ । एअरपोर्ट होस् वा कुनै दरबार वा सैन्य महत्वका स्थलमा नै किन नहोस् कथाको माग अनुसार निर्वाध शुटिङ गर्न राज्यले सहयोग गर्नुपर्छ । त्यत्ति गर्न सक्यो भने चलचित्र बनाउनेले ती स्थलहरुको बदलामा अन्यत्रै शुटिङ गर्नुपर्ने बाध्यताको अन्त्य भई स्वाभाविक दृश्य दर्शकले हेर्न पाउनेछन् ।


र, अन्त्यमा केही भन्नु हुन्छ कि ?
सबैभन्दा महत्वपूर्ण कुरा भनेको हामीले बाँचीरहेको परिवेश हो । हाम्रो देश हो । हाम्रो समाज हो । समाजबाट पर बसी कुनै पनि सामान्य मानिस बाँच्न सक्दैन । त्यसैले कुनै पनि चलचित्र बनाउँदा हाम्रै देश, परिवेश सुहाउँदो बनाउनु पर्छ र त्यस्ता चलचित्रले एउटा मान्छेको मनले अर्को मान्छेको मनलाई छुन सक्नुपर्छ । त्यही नै र्सार्थक चलचित्र हो । मौलिक चलचित्र हो ।