
आगामी साउन १६ गते प्रदर्शनमा आउन लागेको फिल्म ‘रियाल रिङ्गेट’को ओएसटी गीत ‘जिन्दगी’ सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक उक्त गीतमा रवि मल्ल र कोसिस क्षेत्रीको शब्द रचना, चन्दन ध्वज केसी र किरण तुलाधरको संगीत तथा केतन क्षेत्रीको स्वर रहेको छ । गीतलाई किरण तुलाधरले एरेन्ज गरेका हुन् ।

किरण राईको निर्देशनमा बनेको फिल्म ‘नाकछोङ’ (बिजुवा)को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा फिल्मका मुख्य कलाकार भुवन सिंह राई चित्रित छन् । उनी निराश भावमा झोला भिरेर कतै हिँडिरहेका देखिन्छन् । पोस्टरको पृष्ठभूमिमा काठमाडौंको दृश्य र ढ्याङ्ग्रो बजाइरहेका झाँक्री पात्रलाई देख्न सकिन्छ । पोस्टरले फिल्मको विषयवस्तु गहन रहेको बुझाउँछ ।

गत चैतमा प्रदर्शन भएको ‘डोरी’का निर्देशक अरुण लामाले दोस्रो फिल्मको रुपमा ‘तथास्तु’ बनाउने भएका छन् । मंगलबार एक पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरियो । सन् २०२७ मा रिलिज लक्ष्य राखिएको फिल्मलाई नेपाली र हिन्दी भाषामा तयार गरिने जनाइएको छ ।

नेपालको कथावस्तुमा आधारित रहेर बनेको हलिउड फिल्म ‘आइस रोड २’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक साढे २ मिनेट लम्बाइको ट्रेलरले फिल्मको कथावस्तुबारे प्रकाश पारेको छ । फिल्मका मुख्य पात्र माइक दिवंगत भाइको अस्तु विर्सजन गर्न नेपालको सगरमाथा क्षेत्रको यात्रामा निस्किँदा आइपर्ने विभिन्न अवरोधलाई ट्रेलरमा देखाइएको छ, जुन खतरनाक छ ।

‘जात्रा’ श्रृंखलाको निर्माता कम्पनी षट्कोण आर्ट्सले निर्माण गर्न लागेको नयाँ फिल्म ‘लालीबजार’मा अभिनेत्री स्वस्तिमा खड्का मुख्य भूमिकामा देखिने भएकी छन् । मंगलबार निर्माण पक्षले फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै फिल्ममा उनको प्रवेशबारे जानकारी गराएको हो ।

केही महिनाअघि निर्देशक झरना थापा र निर्माता सुनिल कुमार थापाले अभिनेता पल शाहसँग भेट गरेको एक तस्वीर बाहिरिएपछि फिल्म ‘ए मेरो हजुर ५’मा उनीहरूबीच सहकार्य हुन लागेको चर्चा चलेको थियो । तर, अब कथामा नयाँ ट्वीस्ट आएको छ । उक्त फिल्ममा पल नभइ अभिनेता अनमोल केसी भित्रिएका छन् । सोमबार साँझ निर्माता थापाले उनीसँग लिखित सम्झौता गरेका हुन् ।

