
निर्देशक तथा निर्माता शोभित बस्नेत बेला बखतमा कलाकारहरूको महँगो पारिश्रमिकलाई लिएर खरो टिप्पणी गरिरहेका हुन्छन् । बिहीबार आफ्नो नयाँ फिल्म ‘पीआर’को टिजर सार्वजनिक कार्यक्रममा पनि उनी महँगा कलाकारमाथि खनिन छाडेनन् । कुनै कलाकारले आफ्नो पारिश्रमिक मात्रै पनि उठाउने जिम्मा लिए अहिले नै आफू फिल्ममा लगानी गर्न तयार रहेको उनको भनाइ छ ।

शोभित बस्नेतको निर्देशनमा बनेको फिल्म ‘पीआर : पर्मानेन्ट रेसिडेन्ट’को टिजर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक टिजरमा अष्ट्रेलियन पीआर लिन नेपालीहरूले गरेको संघर्ष, उनीहरूबाट परिवारले राख्ने अपेक्षा र अष्ट्रेलियामा गर्नुपर्ने दुःखलाई देखाइएको छ । प्रेम, बदला, धोका, र विछोडको मिश्रण रहेको टिजरको अन्तिम दृश्य मर्मस्पर्शी छ ।

यतिबेला कलाकारहरुले महँगो पारिश्रमिकमा फिल्म सम्झौता गरिरहेको चर्चा चलिरहेको समयमा कलाकार तथा निर्माता निर्मल शर्मा ‘गैंडा’ले भने आफूले खेलेको असफल फिल्मबाट पाउन बाँकी ६६ प्रतिशत पारिश्रमिक नलिने घोषणा गरेका छन् । उनले बिहीबार फेसबुकमा एक पोस्ट गर्दै निर्माता बचाउन आफूले यो निर्णय लिएको जनाएका छन् ।

‘षडङ्ग’ फेम्ड निर्देशक सुरज सुनुवारको निर्देशनमा फिल्म ‘घोस्टेल’ निर्माण हुने भएको छ । बुधबार निर्माता कम्पनी अनन्या फिल्म्सले थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणबारे जानकारी गराएको हो ।

एक महिनादेखि बागलुङको ढोरपाटन क्षेत्रमा छायांकन भइरहेको फिल्म ‘ऐरी’मा लडाइँको दृश्य खिच्ने क्रममा अभिनेता सोनम तोप्देनको खुट्टा भाँचिएको छ । उनको बायाँ खुट्टा भाँचिएको हो । यसको जानकारी उनी स्वयंले सामाजिक सञ्जालमार्फत गराएका छन् । उनले खुट्टाको एक्स-रे तस्वीर फेसबुक स्टोरीमा सेयर गर्दै यो आफ्नो जीवनकै सबैभन्दा दर्दनाक क्षण रहेको बताएका छन् ।

कुनै बेला दीपक-दीपा समूहको फिल्ममा मात्रै सीमित भएका कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले ‘छक्का पञ्जा ५’पछि स्वतन्त्र भएर काम गर्न अनुमति पाएपछि श्रृंखलाबद्ध रुपमा फिल्म सम्झौता गरिरहेका छन् । उनले एक वर्षमा तीन फिल्म ‘जेरी अन टप’, ‘माग्ने राजा’ र ‘माइतीघर’को छायांकन भ्याइसकेका छन् । यसैबीच, उनी नयाँ फिल्म ‘जहाजैमा’मा अनुबन्धित भएका छन् ।

