.jpg)
यस वर्षको दोस्रो सुपरहिट फिल्म ‘गौँथली’ले दोस्रो साता पनि बक्स अफिसमा आक्रामक व्यापार गरेको छ । सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको सिनेपाः विवरणमा फिल्मले पछिल्लो ७ दिनमा ६ करोडभन्दा बढी कमाएको देखिन्छ । योसँगै १७ साउन (आइतबार)सम्म फिल्मको कुल कमाइ साढे १३ करोड नाघेको छ ।
फिल्मले १७ दिनमा ४ लाख ९४ हजार ९१५ वटा टिकट बिक्री गर्दै १३ करोड ६४ लाख ४६ हजार ५३५ रुपैयाँ कमाएको बोर्डको विवरणमा उल्लेख छ । यसमा ७ करोड ४२ लाख ७३ हजार ८५९ रुपैयाँ पहिलो १० दिनको कमाइ हो । पछिल्लो ७ दिनमा भने फिल्मले ६ करोड २१ लाख ७२ हजार ६७६ रुपैयाँ कमाएको छ । यो पहिलो ७ दिनको भन्दा बढी कमाइ हो ।
प्रदर्शनको तेस्रो सातामा रहेको ‘गौँथली’को व्यापारिक रफ्तार अझै घटेको छैन । गत बिहीबारबाट प्रदर्शनमा आएको हलिउड फिल्म ‘स्पाइडर म्यानः ब्रान्ड न्यू डे’का कारण फिल्मको व्यापार केही विथोलिएको भए पनि उपलब्ध अधिकांश शोमा दैनिक ८० प्रतिशतसम्म अकुपेन्सी देखिएको छ । यही रफ्तार कायम रहे अबको १०-१२ दिनमा २० करोडको आँकडा पार हुने देखिन्छ ।
बोर्डले ‘गौँथली’सँगै गत जेठ १५ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘रोल नं. १’को पनि कमाइ विवरण सार्वजनिक गरेको छ । फिल्मले साउन १७ गतेसम्म १ करोड ७८ लाख ६२ हजार ६९८ रुपैयाँ ग्रस कमाइ गरेको छ । यसमा ११ हजार रुपैयाँ पछिल्लो ७ दिनको कमाइ हो । फिल्मको अहिलेसम्म ७१ हजार ५७२८ वटा टिकट बिक्री भएका छन् ।

