Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सलमानले घटाए पारिश्रमिक, वामसीको फिल्ममा लिए ७० करोड

एजेन्सी, काठमाडौं, 2026/08/01

salman khan

 

बलिउडका महँगा अभिनेताको रूपमा चिनिएका सलमान खानले आफ्नो पारिश्रमिक घटाएका छन् । उनले नयाँ फिल्म ‘एसभीसी६३’का लागि ७० करोड भारु पारिश्रमिक लिएको ‘फ्री प्रेस जर्नल’ले जनाएको छ । यो उनले आफ्नो सामान्य पारिश्रमिकको ५८ प्रतिशत मात्र लिएका हुन् । सामान्यतया उनले १२० करोडसम्म पारिश्रमिक लिने गर्छन् ।

सलमानले झन्डै ४२ प्रतिशत पारिश्रमिक घटाएर फिल्म खेल्नुको कारण भने प्रोडक्सन म्यानेजर रफी काजीसँगको मित्रता हो । रफी उनका पुराना साथी हुन् । उनको नाम निर्मातामा रहने भएपछि सलमानले आफ्नो पारिश्रमिक घटाएको जनाइएको छ । तर, उनले फिल्मको नाफामा हिस्सेदारी पाउनेछन् कि छैनन् भन्ने कुरा भने खुलेको छैन । 

‘एसभीसी६३’को यतिबेला मुम्बईको गोरेगाउँमा छायांकन भइरहेको छ । ‘वारिसु’ र ‘महर्षी’जस्ता चर्चित तमिल फिल्मका निर्देशक वामसी पेदिपालीको निर्देशनमा बनिरहेको यो एक्सन फिल्मलाई दिल राजुको श्री वेंकटेश्वर क्रियसन्सले निर्माण गरिरहेको छ । फिल्ममा साउथकी चर्चित अभिनेत्री नयनताराको पनि अभिनय रहेको छ । सलमानसँग उनको यो पहिलो सहकार्य हो ।

भारतीय मिडियाका अनुसार ‘दबंग’ (२०१०)पछि सलमानले अधिकांश फिल्ममा आफ्नो हिस्सेदारी राख्दै आएका छन् । आफ्नो कम्पनी (एसकेएफ)भन्दा बाहिरका फिल्ममा काम गर्दा उनले प्रायः ओटीटी तथा स्याटेलाइट राइट्स (टिभी प्रसारण अधिकार)मा हिस्सेदारी राख्ने गरेका छन्, जसबाट उनको आम्दानी एक सय करोडभन्दा बढी हुने गर्छ ।

सलमानले साथीहरूका फिल्ममा पारिश्रमिक नलिई काम गरेका पनि धेरै उदाहरण छन् । फिल्म ‘सन अफ सरदार’को ‘पो पो’ गीतमा नृत्य गरेबापत उनलाई यसका निर्माता अजय देवगनले चेक दिएका थिए । तर, सलमानले साथीबाट पैसा नलिने भन्दै चेक फिर्ता गरेका थिए । उनले अभिनेता रितेश देशमुखको फिल्म ‘राजा शिवाजी’मा पनि पारिश्रमिक लिएका थिएनन् ।