.jpeg)
‘अधकट्टी’ र ‘सुश्री सम्पत्ति’का निर्देशक सुब्रत आचार्य ८ वर्षपछि फिल्म निर्देशनमा फर्किने भएका छन् । उनले तेस्रो फिल्मको रूपमा ‘पच्चीस पच्चीस’ बनाउन लागेका हुन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच फिल्म निर्माणको औपचारिक घोषणा गरियो । कार्यक्रममा फिल्मका मुख्य कलाकारहरूलाई पनि चिनाइएको थियो ।
कर्ण इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा अबिषेक खड्का, खुसी कार्की र प्रमोद अग्रहरीको मुख्य भूमिका रहनेछ । यो फिल्मबाट चर्चित कमेडियन अमित सुब्बा (भक्ते भाइ)ले डेब्यू गर्ने भएका छन् । उनी दार्जिलिङ निवासी हुन् । फिल्मको घोषणा कार्यक्रममा उनी ‘द राइजिङ ब्वाइज इन्टरटेनमेन्ट’को टिमसहित उपस्थित भएका थिए ।
कर्ण कार्कीको लगानीमा बन्ने फिल्मको सह–निर्मातामा अजय न्यौपाने र धीरेन्द्र लाल कर्ण रहेका छन् । दीपेन्द्र गौतम (माइकल) कार्यकारी निर्मातामा छन् । लाइन प्रोड्युसरका रूपमा प्रकाश कँडेल र मनिषा राउत रहेका छन् । फिल्मको कथा सुब्रत आचार्य र जया हो भने पटकथा सुशील देवकोटाले लेखेका छन् । फिल्मको छायांकन हरि हुमागाईं गर्नेछन् ।
कार्यक्रममा बोल्दै निर्देशक आचार्यले यो फिल्म नेपाली माटो सुहाउँदो हुने बताए । उनले फिल्मको शीर्षकबारे प्रस्ट्याउँदै भने, ‘हामी प्रायः १ सयलाई ५०–५० र ५० लाई २५–२५ भन्छौं । हाम्रो लागि सय प्रतिशत भनेकै ५० हो, र ‘पच्चीस पच्चीस’ त्यसैको एउटा टुक्रा हो । हामीले कथाअनुसार नै यो शीर्षक रोजेका हौं । टिजर र ट्रेलर आएपछि नामको अर्थ अझ स्पष्ट हुनेछ ।’

