
तीजको छेको पारेर भदौ २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बेहुली’को एकसाथ ७ देशमा प्रदर्शन अधिकार बिक्री भएको छ । आइतबार निर्माताले अमेरिका, क्यानडा, बेलायत, अष्ट्रेलिया र मध्यपूर्वी देश (दुबई, कतार र बहराइन)मा प्रदर्शन अधिकार बिक्री गरेका हुन् । बेलायतबाहेक अन्य देशमा फिल्म नेपालकै मितिमा प्रदर्शन हुनेछ ।
फिल्मको अस्ट्रेलियाका लागि ‘आशिष् एन्ड नमस्ते इन्टरटेन्मेन्ट’, अमेरिका र क्यानडा (उत्तर अमेरिका)का लागि ‘चलचित्र इन्टरटेन्मेन्ट मुभी डिस्ट्रिब्युसन’, दुबई, कतार र बहराइनलगायतका मध्यपूर्वका देशहरूका लागि ‘साथीभाइ इन्टरटेन्मेन्ट’ र बेलायतका लागि ‘९७७ इभेन्ट्स’ले प्रदर्शन अधिकार खरिद गरेका हुन् । बेलायतमा असोज १६ गते फिल्म रिलिज हुनेछ ।
ट्रेलर समेत सार्वजनिक नभई विदेशमा फिल्मको माग बढ्नुको पछाडि दुई कारण मुख्य देखिन्छ । पहिलो, ‘स्टारकास्ट’ । फिल्ममा पारस बम ठकुरी (कुल ब्वाय) र दिव्या रायमाझीजस्ता लोकप्रिय कलाकारहरूको अभिनय छ । दोस्रो, ‘दिलमा ठाउँ छ’ गीतको लोकप्रियता । यो गीत अहिलेको ‘टप ट्रेन्डिङ’मा छ । टिकटकमा मात्र ४ लाखभन्दा बढी भिडियो बनिसकेका छन् ।
सशान कँडेलको निर्देशन तथा माधव शर्माको लेखन रहेको फिल्ममा पारस र दिव्यासहित सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, विमल यादव, अविरल श्रेष्ठ, समायरा थापा मगर, सविन कट्टेललगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ । फिल्ममा संगीतकार अर्जुन पोखरेल प्रस्तुतकर्ताको रूपमा छन् ।

