
लामो समयदेखि नेपाली फिल्ममा कार्यकारी निर्माता र मुख्य सहायक निर्देशकको रूपमा काम गर्दै आएका सौगात बस्नेतले फिल्म निर्देशनमा डेब्यू गर्ने भएका छन् । उनको निर्देशनमा बन्न लागेको फिल्मको नाम ‘पञ्चमी’ राखिएको छ । बुधबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको औपचारिक घोषणा गरिएको हो ।
थिम पोस्टरमा पुरानो टाइपराइटरबाट ‘पञ्चमी’ र ‘आई हेट हु एभर कमस् लेट’ भन्ने लाइन लेखिएको पत्र निस्किँदै गरेको देखिन्छ । पत्रको माथि त्रिशूल र दुई नागको चित्र छ । पोस्टरमा सबैभन्दा माथि शुक्ल पक्षको अर्धचन्द्र र नाग अंकित लकेट देख्न सकिन्छ । यसले फिल्म धार्मिक कथावस्तुमा बन्न लागेको संकेत गर्छ । यद्यपि, यसबारे निर्माण पक्षले केही खुलाएको छैन ।
फिल्मबारे निर्देशक बस्नेतले भने, ‘टाइटलमा जसरी हामीले डिजाइन गरेका छौँ, यो अहिले हेर्दा केही नबुझिने भए पनि फिल्म हेर्दा सरल र सहज देखिनेछ । फिल्मसँग यो सबै ‘रिलेट’ भएर आउनेछ । त्यतिबेला यो थिमको ‘जस्टिफाइ’ हुनेछ । यो एक साइकोलोजिकल मिस्ट्री थ्रिलर हुनेछ ।’ उनका अनुसार एउटा चर्चित उपन्यासमाथि आधारित भएर फिल्म बन्न लागेको हो ।
निर्देशक बस्नेतले यसअघि ‘लाखे’, ‘हरिबहादुरको जुत्ता’ जस्ता फिल्ममा मुख्य सहायक निर्देशक र अर्पण थापाको निर्देशनमा बनेको फिल्म ‘फ्रेन्च किस’मा कार्यकारी निर्माता भएर काम गरिसकेका छन् । यही अनुभवको आधारमा उनले फिल्म निर्देशन गर्न लागेका हुन् । पछिल्लो समय बनिरहेका फिल्मभन्दा ‘पञ्चमी’ फरक शैलीमा निर्माण हुने उनको दाबी छ ।

