
अभिनेत्री नीता ढुंगानाको डेब्यू निर्देशकीय फिल्म ‘पार्वती’को टिजर सार्वजनिक गरिएको छ । बुधबार गुरु पुर्णिमाको अवसर पारेर निर्माण पक्षले २ मिनेट लामो टिजर दर्शकमाझ ल्याएको हो । टिजरले फिल्मको कथावस्तुबारे संक्षिप्तमा प्रकाश पारेको छ । दिदीभाइबीचको भावनात्मक सम्बन्धलाई टिजरमा मर्मस्पर्शी ढंगले प्रस्तुत गरिएको छ ।
टिजरअनुसार फिल्ममा नीता अटिजम (स्नायु विकाससम्बन्धी समस्या) भएकी युवतीको भूमिकामा छिन् । उनी स्पष्ट बोल्न सक्दिनन् । उनको भाइको भूमिकामा गायक समेत रहेका अशोक दर्जी छन् । टिजरमा नीता र अशोकबीचको मनछुने संवाद सुन्न सकिन्छ । पृष्ठभूमिमा सुनिने अशोकको गीतले टिजरलाई थप सशक्त बनाएको छ । यो टिजर साहिल खानले तयार पारेका हुन् ।
जनै पूर्णिमाको अवसर पारेर भदौ १२ गतेबाट प्रदर्शन हुन लागेको यस फिल्ममा नीता र अशोकसहित दीपाश्री निरौला, राज पंगेनी शर्मा, सिरु विष्ट, राधिका कँडेल, राजेन्द्र नेपाली, आशा पौडेल, सुवास गजुरेललगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्मलाई ज्योतिष तथा अभिनेता हरिहर अधिकारीले निर्माण गरेका हुन् । कार्यकारी निर्मातामा शंकर पाण्डे रहेका छन् ।
नीता फिल्म्सको प्रस्तुति रहेको फिल्मको कथा नीता स्वयंको हो भने पटकथा तथा संवाद शिवम् अधिकारीले तयार पारेका हुन् । फिल्ममा सुदीप बरालको छायांकन, साहिल खानको सम्पादन, एलिस कार्की र शिवम् रसाइलीको पार्श्व ध्वनी, रामजी लामिछानेको नृत्य निर्देशन तथा प्रशान्त सिवाकोटी, बाबुल गिरी, सिद्धार्थ सरकार पौडेल र दीपक शर्माको संगीत रहेको छ ।

