Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रेखाले ‘काउकुती’ बनाउने, निर्देशकमा ‘कमेडी दरबार’की ऋद्धा

फिल्मीखबर, काठमाडौं, 2026/04/28

rekha thapa and Shraddha Prasai

 

अभिनेत्री रेखा थापाले ८औं फिल्मको रूपमा ‘काउकुती’ निर्माण गर्ने भएकी छन् । उनले मंगलबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै फिल्म निर्माणको औपचारिक घोषणा गरेकी हुन् । फिल्मको घोषणाअघि उनले सोमबार साँझ भारतको उत्तराखण्डस्थित कैंची धाम (हिन्दू सन्त नीम करोली बाबाका कारण परिचित मन्दिर)मा विशेष पूजाआजा गरेकी थिइन् । 

हास्य कथावस्तुमा बन्न लागेको यस फिल्मलाई चर्चित टेलिभिजन शो ‘कमेडी दरबार’की निर्देशक तथा प्रोजेक्ट हेड ऋद्धा प्रसाईंले निर्देशन गर्नेछिन् । ‘प्रेमगीत २’ र ‘दर्पण छायाँ २’की अभिनेत्री समेत रहेकी उनले यसअघि फिल्म ‘ककाकिकी’को निर्देशन गरेकी थिइन्, जसमा रेखाको मुख्य भूमिका रहेको थियो । यस फिल्ममा ऋद्धाको काम गर्ने शैलीबाट रेखा प्रभावित भएकी थिइन् । 

नवराज श्रेष्ठ र बलराम शाही ठकुरी (रेखाका श्रीमान्) निर्माता रहेको यस फिल्ममा रेखा स्वयंको मुख्य भूमिका रहने जनाइएको छ । यसमा उनको जोडी नव-अभिनेतासँग बाँधिनेछ । ती अभिनेताको नाम र तस्वीर केही दिनमा सार्वजनिक गर्ने तयारीमा निर्माण टिम रहेको छ । फिल्ममा विक्की अग्रवाल र विनेश राईको कथा छ भने पटकथा विनेश स्वयंले तयार पारेका छन् । 

आगामी असोजमा छायांकनको तयारी गरिएको यस फिल्ममा प्रशान्त सिवाकोटीको संगीत रहनेछ । प्रशान्त तिनै सर्जक हुन्, जसले तयार पारेका ‘न्याउली वनैमा’, ‘काँधेकुरी’ जस्ता गीत चर्चित छन् । फिल्मको एउटा गीत चर्चित र्‍यापर लिल झोला (आकाश क्षेत्री)ले गाउने जनाइएको छ । उनले यही फिल्मबाट पार्श्व गायनमा डेब्यू गर्न लागेका हुन् ।

 

Most Visited News (monthly)