.jpg)
नयाँ वर्ष २०८३ का दुई फिल्म ‘राम नाम सत्य’ र ‘पहाड’को आधिकारिक बक्स अफिस तथ्यांक सार्वजनिक भएको छ । सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको विवरणअनुसार दुई फिल्ममध्ये ‘राम नाम सत्य’ कमाइमा पाँच गुणाभन्दा बढीले अगाडि देखिएको छ । गत चैत २७ गते प्रदर्शन भएको यो फिल्मले वैशाख १२ गते (शनिबार)सम्म ३ करोडको आँकडा पार गरेको छ ।
बोर्डको विवरणमा यस फिल्मले ३ करोड ३१ लाख ५८ हजार ८२१ रुपैयाँ ग्रस व्यापार गरेको उल्लेख छ । फिल्मको यो कमाइ १ लाख १७ हजार ५६४ वटा टिकट बिक्रीबापत भएको हो । प्रदर्शनको पहिलो ९ दिनमा फिल्मको कमाइ २ करोड ७८ लाख १८ हजार ८४१ रुपैयाँ ग्रस थियो । पछिल्लो ७ दिनमा भने फिल्मले ५३ लाख ३९ हजार ९८० रुपैयाँ कमाएको देखिन्छ ।
नयाँ वर्षको दिन पारेर वैशाख १ गतेबाट प्रदर्शन भएको ‘पहाड’ले भने निकै कमजोर व्यापार गरेको छ । यसले प्रदर्शनको १२ दिनमा जम्मा ६१ लाख ७७ हजार २६२ रुपैयाँ ग्रस कमाएको छ । यो अवधिमा फिल्मका १९ हजार ५३९ वटा टिकट बिक्री भएका छन् । यस फिल्मले प्रदर्शनको ५ दिनमा भने ४६ लाख ७३ हजार ६३७ रुपैयाँ ग्रस व्यापार गरेको थियो ।
तीन करोडको लागतमा बनेको ‘राम नाम सत्य’ र दुई करोडमाथिको लगानीमा निर्माण भएको ‘पहाड’को व्यापार हेर्दा अब दुवैको लगानी घरेलु बजारबाट सुरक्षित हुने सम्भावना देखिँदैन । ‘राम नाम सत्य’ले हलबाटै लगानी उठाउन झन्डै ८ करोड ग्रस व्यापार गर्नुपर्ने हुन्छ भने ‘पहाड’ले ६ करोड अनिवार्य कमाउनुपर्छ । यी दुवै फिल्मलाई यो आँकडा छुन अब असम्भवजस्तै देखिन्छ ।

