.jpeg)
संगीतकार हरि लम्सालको डेब्यू निर्देशकीय फिल्म ‘बाः एक योद्धा’ कृष्ण जन्माष्टमीको अवसर पारेर भदौ १९ गते (४ सेप्टेम्बर)बाट प्रदर्शनमा आउने भएको छ । सोमबार निर्माता कम्पनी आर्टिस्टिक इन्टरटेनमेन्टले थिम पोस्टरमार्फत प्रदर्शन मितिबारे जानकारी दिएको हो । उक्त मितिमा अरु दुई फिल्म ‘ककाकिकी’ र ‘स्टेशन’ पनि प्रदर्शन हुँदैछन् ।
यस फिल्ममा अभिनेत्री द्वय झरना थापा र सुहाना थापाले मुख्य भूमिकामा अभिनय गरेका छन् । पहिलो पटक यी आमाछोरी एकसाथ फिल्ममा देखिन लागेका हुन् । निर्देशक लम्सालका अनुसार उनीहरू फिल्ममा आमा-छोरीकै भूमिकामा प्रस्तुत भएका छन् । अभिनेता दिव्यदेव पन्तको पनि फिल्ममा मुख्य भूमिका रहेको छ ।
निर्देशक लम्साल स्वयंको कथा तथा पटकथा रहेको यस फिल्मलाई संगीतकार वसन्त लम्सालले निर्माण गरेका हुन् । उनले यसअघि विपिन कार्की र उपासना सिंह ठकुरीलाई लिएर फिल्म ‘कर्मा’ बनाएका थिए । ‘बाः एक योद्धा’ उनको दोस्रो निर्माण हो । यसमा शिवराम श्रेष्ठको छायांकन रहेको छ भने मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने रहेका छन् ।
यो फिल्मले बाबुको महत्त्व र योगदानलाई केन्द्रमा राखेको निर्देशक लम्सालले जानकारी दिए । उनका अनुसार फिल्ममा एक बाबुले सन्तानका लागि गर्ने त्याग, जीवनभर भोग्ने चुनौती र संघर्षलाई मुख्य कथावस्तुका रूपमा प्रस्तुत गरिएको छ । ग्रामीण र सहरी दुवै परिवेशमा बाबुले बोक्ने जिम्मेवारीलाई फिल्ममार्फत उजागर गरिएको उनको भनाइ छ ।

