Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रदीप भट्टराईले किन निर्देशन गरेनन् ‘लालीबजार’ ?

फिल्मीखबर, काठमाडौं, 2026/04/27

Lalibazar Cast and Screw

 

नेपालका सफल निर्देशकमध्ये एक हुन्, प्रदीप भट्टराई । सन् २०१६ मा प्रदर्शन भएको ‘जात्रा’बाट निर्देशकीय यात्रा सुरु गरेका उनले १० वर्षको अवधिमा ५ वटा फिल्म निर्देशन गरिसकेका छन् । र, ती सबै फिल्म व्यावसायिक रूपमा सफल छन् । तर, उनले पहिलो पटक आफू आबद्ध षट्कोण आर्ट्सको नयाँ फिल्म ‘लालीबजार’मा भने निर्देशकीय जिम्मेवारी सम्हालेनन् । 

यही शुक्रबार (१८ वैशाख)बाट प्रदर्शनमा आउन लागेको यस फिल्मलाई यम थापाले निर्देशन गरेका हुन् । फिल्मको कार्यकारी निर्मातामा भने प्रदीप छन् । फिल्मको पटकथा तथा संवाद लेखनमा पनि उनले निर्देशक थापालाई सघाएका छन् । तर, फिल्मको निर्देशन उनी आफैंले नगर्नु चाहिँ धेरैका लागि जिज्ञासा र कौतुहलताको विषय बनेको छ । 

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले ‘लालीबजार’ निर्देशन नगर्नुको कारणबारे प्रस्ट पारे । फिल्मको कथा यम थापाकै भएका कारण उनले नै कथालाई न्याय दिने विश्वासमा निर्देशनको जिम्मेवारी सुम्पिएको उनको भनाइ छ । उनले भने, ‘यो जहाँको कथा हो, यमजी त्यहीँको हुनुहुन्छ । यसैले कथालाई उहाँले नै बढी न्याय गर्नुहुन्छ भन्ने भएपछि मैले निर्देशन नगरेको हुँ ।’
 
उनका अनुसार ‘महाजात्रा’पछि षट्कोण आर्ट्स फरक कथामा फिल्म बनाउने तयारीमा थियो । त्यही क्रममा यम थापासँग भेट हुँदा उनले एउटा कथा सुनाएपछि त्यसमा नै फिल्म बनाउने निर्णय गरिएको प्रदीप बताउँछन् । फिल्मको कथा बादी महिलाको भएकाले पटकथा तयार गर्दा धेरै छलफल र अनुसन्धान गरिएको उनको भनाइ छ । 

उनले भने, ‘यो फिल्म बनाउँदै गर्दा हामी के कुरामा सचेत थियौं भने बादी समुदायमाथि न्याय हुनुपर्छ । यो समुदायले फिल्म हेर्दा गर्व महसुस हुनुपर्छ भनेर लामो छलफल र अनुसन्धान गरेर फिल्म बनाएका हौं । फिल्मले उठाएको जुन कथा छ, त्यो सबै बादी समुदायको भने होइन । केहीले विगतमा बाध्यताले गर्नुभएको पेसा (देह व्यापार)लाई कथाको सेटिङ बनाएका छौं ।’

यस फिल्ममा अभिनेत्री स्वस्तिमा खड्काले मुख्य भूमिकामा अभिनय गरेकी छन् । बादी महिलाको भूमिकामा देखिएकी उनी ‘लालीबजार’ आफूलाई वर्षौंसम्म कलाकारका रूपमा चिनाउने फिल्म बन्नेमा विश्वस्त छिन् । भन्छिन्, ‘मैले देखेको र बुझेकोभन्दा एउटा भिन्नै संसारमा ‘मधुवाला’ पात्र भएर बाच्न पाएँ । मेरा लागि यो कलाकारको रूपमा वर्षौंसम्म सम्झिने फिल्म बनेको छ ।’  

स्वस्तिमाले यो फिल्ममा ‘लुक टेस्ट’का लागि अडिसन समेत दिएकी थिइन् । उनले एक दशक लामो आफ्नो अभिनय करिअरमा अडिसन दिएको यो पहिलो फिल्म हो । फिल्मको विषयवस्तु र षट्कोण आर्ट्सप्रतिको विश्वासका कारण आफूले अडिसन दिएको उनको भनाइ छ । उनी यो फिल्ममा कलाकार भएर अभिनय गर्न पाएकोमा आफूलाई भाग्यमानी ठान्छिन् ।

Most Visited News (monthly)