
अभिनेता विराज भट्टको निर्माण तथा निर्देशनमा बन्न लागेको फिल्म ‘१२ गाउँ २’मा कलाकारको लाइनअप रोचक बनिरहेको छ । यही वैशाख अन्तिम साताबाट छायांकन सुरु हुन लागेको यस फिल्ममा विराज स्वयं मुख्य भूमिकामा देखिँदैछन् । उनीसँगै समीर भट्ट, अनुप विक्रम शाही, खुसी कार्की लगायतको पनि फिल्ममा अभिनय रहने तय भइसकेको छ ।
अब भिलेनको भूमिकामा अभिनेता प्रकाश शाहको प्रवेश भएको छ । उनलाई विराजले यसै साता फिल्ममा अनुबन्धित गरेका हुन् । यसअघि उनीहरूले फिल्म ‘साङ्लो’मा सहकार्य गरेका थिए । दोस्रो पटक विराजसँग काम गर्न लागेका प्रकाश फिल्मलाई लिएर उत्साहित देखिएका छन् । फिल्ममा आफ्नो भूमिका प्रभावशाली रहेको उनको भनाइ छ ।
‘ह्यान्डसम भिलेन’का रूपमा चिनिएका उनले सन् २०१९ मा प्रदर्शन भएको फिल्म ‘लभ स्टेशन’बाट अभिनय यात्रा सुरु गरेका थिए । यो फिल्म व्यावसायिक रूपमा सफल नभए पनि उनको अभिनय रुचाइएको थियो । यसपछि प्रकाशले ‘साङ्लो’, ‘रावायण’, ‘हन्टर’, ‘जालो’ लगायतका फिल्ममा काम गरिसकेका छन् । यतिबेला उनी फिल्म ‘मुक्तिपुर’को छायांकनमा व्यस्त छन् ।
‘१२ गाउँ २’को कुरा गर्दा यो एक्सनप्रधान फिल्म हुनेछ । अघिल्लो श्रृंखलाभन्दा फिल्मलाई ठूलो स्केलमा निर्माण गर्ने तयारीमा विराज छन् । त्यसका लागि उनले असिस्टेन्ट डिरेक्टरदेखि द्वन्द्व निर्देशकसम्म दक्षिण भारतबाट लिन लागेको बुझिएको छ । फिल्मको एउटा एक्सन दृश्य खिच्न यतिबेला काठमाडौंको एक स्टुडियोमा सेट निर्माणको काम भइरहेको छ ।

