
भारतीय फिल्मको इतिहासमा विश्वव्यापी ३ हजार करोडको आँकडा पार गर्ने पहिलो फ्रेन्चाइज फिल्मको कीर्तिमान ‘धुरन्धर’ले बनाएको छ । यसका दुई श्रृंखला ‘धुरन्धर’ र ‘धुरन्धर : द रिभेन्ज’ले गरी विश्वभर उक्त कमाइ गरेका हुन् । पाकिस्तान, दुबई, कुवेतसहित केही देशमा प्रतिबन्धका बाबजुद पनि दुई फिल्मको कमाइ ३ हजार करोडभन्दा माथि पुगेको हो ।
सन् २०२५ को डिसेम्बरमा रिलिज भएको ‘धुरन्धर’ले भारतमा ८४० करोड नेट र विश्वव्यापी १३०७ करोड कमाएको थियो । यसको ओभरसिजतर्फको कमाइ २९९ करोड थियो । यो व्यापारसहित ‘धुरन्धर’ सर्वाधिक कमाउने हिन्दी फिल्म बनेको थियो । यसअघि ‘पुष्पा २’को हिन्दी भर्सनले ८३० करोड कमाउँदै उक्त रेकर्ड आफ्नो नाममा बनाएको थियो ।
‘धुरन्धर’को दोस्रो श्रृंखलाले पनि विश्व बक्स अफिसमा सानदार कमाइ गरेको छ । अहिलेसम्म यो फिल्मले भारतमा ११२४ करोड नेट र विश्वव्यापी १७६८ करोड कमाइसकेको छ । यसमा ओभरसिजको योगदान ४२३ करोड छ । योसहित ‘धुरन्धर : द रिभेन्ज’ भारतमा सर्वाधिक कमाउने पहिलो बलिउड फिल्म र विश्वव्यापी सर्वाधिक कमाउने दोस्रो भारतीय फिल्म बनेको छ ।
कमाइको यो रेसमा ‘धुरन्धर’ फ्रेन्चाइजले साउथका ठूला फिल्मलाई समेत पछि पारेको छ । यसअघि विश्वव्यापी सबैभन्दा धेरै कमाउने ‘बाहुबली’ फ्रेन्चाइज थियो । यसका दुईवटा श्रृंखलाको कुल कमाइ २४३८ करोड थियो भने ‘पुष्पा’ फ्रेन्चाइजले २२२१ करोड र ‘केजीएफ’ सिरिजले कुल १४५३ करोड कमाएका थिए । अब यी सबै फिल्मका रेकर्ड ‘धुरन्धर’ फ्रेन्चाइजले तोडेको छ ।

