.jpg)
फिल्म ‘प्रेमगीत ३’बाट नायकको रुपमा डेब्यू गरेका मनिष राउत डेब्यू फिल्म रिलिज नहुँदै नयाँ फिल्ममा अनुबन्ध भएका छन् । उनले फिल्म ‘शमशेर’मा अभिनय गर्न लागेका हुन् । बुधवार निर्माण टिमले फिल्मको निर्माण घोषणा गर्दै फर्स्टलुक पोस्टर पनि सार्वजनिक गरेको छ । पोस्टरमा मनिष हातमा खुकुरी बोकेर देखिएका छन् । उनको अनुहारमा रिस र विद्रोही भाव देखिन्छ ।
फिल्म सम्बन्धि अध्यापन गराउँदै आएको एभरेष्ट फिल्म एकेडमी र डिआर डेनिमको संयुक्त लगानी रहने फिल्म एक्सन जनरामा बन्न लागेको हो । फिल्ममा सुमन थापा, सबिन शाक्य, रुपेश कार्की, रुपेश लामा, आशिष पराजुली लगायतका कलाकारको पनि अभिनय रहनेछ । अर्जुन पोखरेलको संगीत रहने फिल्मका लागि मनिषको अपोजिटमा अभिनेत्रीको भने टुंगो लागिसकेको छैन ।
चैत अन्तिम साताबाट छायांकन सुरु हुन लागेको फिल्मलाई गौरी शंखर र विकाश सिटौलाले मिलेर खिच्नेछन् । काठमाडौँ, दुबई, सोलुखुम्बु र ढोरपाटनमा खिचिने फिल्मको निर्माणमा सीबर्ड्स इन्टरटेनमेन्टले सहकार्य गरेको छ । मनिषले फिल्मको कथावस्तु र आफ्नो चरित्र मन परेकाले काम गर्न लागेको जानकारी दिँदै फिल्ममा आफूले भिन्न भूमिका निर्वाहा गर्न लागेको बताएका छन् ।

