Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘चिसो एष्ट्रे’ प्रिमियर : हलिउड स्तरको फिल्म भन्दै प्रशंसा

फिल्मीखबर, काठमाडौं, 2022/03/16
यही शुक्रवार (चैत ४) बाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘चिसो एष्ट्रे’ले प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया बटुलेको छ । मंगलवार साँझ सुन्धाराको सिभिल मलमा आयोजना भएको प्रिमियरमा फिल्मकर्मीहरुले निर्देशकिय पाटो, कलाकारको अभिनय, छायांकन पक्ष, कथावस्तुको मुक्तकण्ठले प्रशंसा गरेका थिए । केही फिल्मकर्मीले हलिउड स्तरको फिल्म भन्दै प्रशंसा पनि गरे ।
 
नेपाली फिल्मको प्रिमियरमा कमै उपस्थित हुने अभिनेता राजेश हमालले ‘चिसो एष्ट्रे’ राम्रो बनेको प्रतिक्रिया दिए । उनले भने- ‘विशेषगरी युवापुस्ताले फिल्मलाई बढी रिलेट गर्नुहुन्छ होला । फिल्ममा युवापुस्ताको आकांक्षा, प्राप्ति, हार, जित, मित्रता सबै समेटिएको छ । काठमाडौंमा बस्ने जो कोहीलाई फिल्मको कथाले छुन्छ । ‘चिसो एष्ट्रे’ सिनेमाको पारखीहरुले नछुटाइ हेर्नुपर्ने फिल्म हो ।’ 
 
chiso ashtray rajesh hamal
 
कलाकार, लेखक तथा निर्देशक खगेन्द्र लामिछाने आफूले नियमित हेर्ने गरेको फिल्म र अभिनय गर्दै आएको फिल्मभन्दा ‘चिसो एष्ट्रे’ एकदमै फरक रहेको बताउँछन् । कथा भन्ने शैली अझ फरक तरिकाले प्रस्तुत भएकोमा उनले खुसी व्यक्त गरे । त्यस्तै, निर्देशक निश्चल बस्नेतले फिल्ममा सबै पक्ष राम्रो रहेको बताउँदै भिजुअल ल्याङ्वेजलाई निकै सशक्त रुपमा प्रस्तुत गरिएको धारणा राखे ।
 
‘फिल्ममा धेरै पक्षहरु राम्रो छ । फिल्ममा देखिनेभन्दा सोचिने कामहरु बढी भएको छ । फिल्ममा सिनेम्याट्रिक प्रस्तुति कुन लेभलमा हुनुपर्छ भन्ने ‘चिसो एष्ट्रे’ले देखाउँछ । भिजुअल ल्याङ्वेजलाई सशक्त रुपमा प्रस्तुत गरिएको छ । हरेक कुरालाई फिल्ममा निकै राम्रोसँग प्रस्तुत गरिएको छ । यद्यपि, केही कमजोरी भने नखड्किने होइन तर फिल्म जस्तो छ राम्रो छ,’ निर्देशक बस्नेतले भने ।
 
‘जात्रा’ निर्देशक प्रदीप भट्टराई भने ‘चिसो एष्ट्रे’लाई हलिउड स्तरको फिल्म भन्न रुचाउँछन् । उनी भन्छन्, ‘नेपाली फिल्मको कथावाचन शैलीमा ‘लुट’पछि ठूलो परिवर्तन आएको थियो । अब ‘चिसो एष्ट्रे’ले भिजुअल ल्याङ्वेजमा अर्को फड्को मार्छ भन्ने आश जगाएको छ । नेपाली फिल्म हलिउड स्टाइलको भएन भन्ने धेरैको गुनासो हुने गरेको छ । यो फिल्म चाहिँ हलिउड लेभलकै बनेको हो ।’ 
 
कलाकार सन्तोष पन्तले पनि ‘चिसो एष्ट्रे’ हलिउड स्तरको रहेको बताए । ‘फिल्म हलिउड स्तरको जस्तो छ । युवापुस्ताले फिल्मलाई साह्रै नै मन पराउनेछन् । फिल्मको स्टाइल एकदमै राम्रो छ,’ उनले भने, ‘कलाकारहरुले जुन-जुन चरित्रमा अभिनय गर्नुभएको छ, त्यसमा पूर्ण न्याय गर्नुभएको छ । हरेक कलाकारको अभिनय लाजबाब छ । सबैले एकपटक फिल्म हेर्नैपर्छ जस्तो लाग्छ ।’ 
 
CHISO ASHTRAY
 
फिल्मको प्रिमियरमा कलाकार सन्दिप क्षेत्री, अभिनेत्री ऋचा शर्मा, पूर्व मिस नेपाल माल्भिका सुब्बा, गायक बालेन, अभिनेता महेश त्रिपाठी लगायतको उपस्थिति रहेको थियो । प्रियिमरमा फिल्मकर्मीबाट प्राप्त प्रतिक्रियाले निर्माण टिम उत्साहित देखिएको छ । निर्माणको ७ वर्षपछि प्रदर्शनमा आउन लागेको फिल्मले काठमाडौंका विभिन्न गल्लीहरुमा बस्ने पात्रहरुको कथालाई देखाएको छ ।
 
भूपि शेरचनको कविता ‘चिसो एष्ट्रे’बाट प्रभावित भएर निर्माण भएको फिल्ममा दिव्य देव, सृष्टि श्रेष्ठ, सुशील पाण्डे, निकुन श्रेष्ठ, नवीन लम्साल र रविन तामाङको मुख्य भूमिका छ । दिन्स पाल्पालीले निर्देशन गरेको फिल्मको निर्माण महेशबाबु तिमल्सिनाले गरेका हुन् । प्रवीण स्याङ्बा र सुष्मिता पराजुली निर्माता रहेको फिल्मको सह-निर्मातामा रुपेश ढुंगाना, नवीन ढुंगाना र सुजन खतिवडा छन् । 
Most Visited News (monthly)