.jpg)
वर्षौंदेखि नेपाली फिल्म हलिउड र बलिउड फिल्मको डरले बाँच्दै आएको छ । अब साउथ फिल्मको हिन्दी डबबाट पनि नेपाली फिल्म डराउनु पर्ने स्थिति सृजना भएको छ । गत पुषमा साउथ फिल्म ‘पुष्पा’को डरले नेपाली फिल्म ‘चपली हाइट ३’ले प्रदर्शन मिति छाड्नु परेको थियो । यसैक्रममा, फिल्म ‘हेल्लो जिन्दगी’ले पनि साउथ फिल्म ‘आरआरआर’का कारण रिलिज सारेको छ ।
यसअघि चैत ११ गते (अप्रिल २५) लाई फिल्मले प्रदर्शन मिति घोषणा गरेको थियो । तर, यही मितिमा साउथ फिल्म ‘आरआरआर’ आउने भएपछि ‘हेल्लो जिन्दगी’ एक हप्ता पछि सर्दै चैत १८ गतेबाट प्रदर्शनमा आउने भएको छ । अहिलेसम्म यो मितिमा अरु नेपाली र विदेशी फिल्मले प्रदर्शन घोषणा गरेका छैनन् । यो मितिबाट भने फिल्म पछाडि नसर्ने निर्माण टिमले दाबी गरेको छ ।
‘भैरे’ फेम्ड निर्देशक एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशन रहेको फिल्ममा विक्रम डि जोशी, दीपिका प्रसाई, प्रियंका कार्की, विल्सन बिक्रम राई, बिक्रान्त बस्नेत, एभरेष्ट सूर्य बोहरा, सबिता गुरुङ, सनमकुमार बैराग, बिभिया श्रेष्ठ, जानकी पन्त, ध्रुव दत्त, कुमुद पन्तलगायतको अभिनय छ । त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको फिल्मको सम्पूर्ण छायांकन बेलायतमा भएको हो ।
सत्य घटनाबाट प्रभावित फिल्मको निर्मातामा विक्रम डि जोशी र हिराल जोशी छन् भने कार्यकारी निर्मातामा सृजना जोशी महर्जन र सह-निर्मात्रीमा सबिता गुरुङ छिन् । फिल्मको कथा लेखनमा निर्देशक बोहरालाई विक्रम डि जोशीले सघाएका छन् । पटकथा तथा संवाद भने बोहरा र अभिमन्यु निरवीले मिलेर तयार पारेका हुन् । ‘हेल्लो जिन्दगी’मा पुरुषोत्तम प्रधानको छायांकन रहेको छ ।

