
२०७७ सालको बैशाख १२ गतेलाई फिल्म ‘हिजो आजका कुरा’को प्रदर्शन मिति घोषणा गरिएको थियो । तर, कोरोनाका कारण सरकारले हलहरु बन्द गरेपछि फिल्मको रिलिज स्थगन भयो । तीन पटक हलहरु बन्द भएर खुलेपछि फिल्मको आउँदो असोज २८ गतेलाई नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । मोफसलमा एफडी र राजधानीमा बीके फिल्मस्ले फिल्मलाई वितरण गर्नेछ ।
१८ वर्षसम्म नेपाल टेलिभिजनमा प्रशारण भएको टेलिसिरियल ‘हिजो आजका कुरा’को नाम सापटी लिएर निर्माण भएको फिल्मले कुनै न कुनै तरिकाले विदेशसँग सरोकार राखेका वा राख्न इच्छुक काठमाडौंका चार परिवारको पारिवारिक समस्या, संघर्ष र आतुरतासँगै विदेश जाने सपना पूरा गर्न केही न केही गुमाउनु पर्ने कथालाई उठाएको छ । साकार पन्तले फिल्मका निर्देशक हुन् ।
फिल्ममा सन्तोष पन्त, रमा थपलिया, रीमा विश्वकर्मा, केकी अधिकारी, ऋचा शर्मा, जेविका कार्की, रमेश अधिकारी, सविन शाक्य, नव-कलाकार द्वय विनायक कुइकेल, अनुष्का घिमिरे लगायतको अभिनय रहेको छ । रवि सायमीले खिचेको फिल्मको कथा सन्तोष सन्त र साकार पन्तको हो । पटकथा सन्दीप किस्नाले तयार पारेका हुन् । फिल्मको ‘माया जदौ’ गीत हिट भइसकेको छ ।

