Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सन्दिप क्षेत्रीको ‘श्री’ फेरि रिलिज गर्ने तयारी

फिल्मीखबर, काठमाडौं, 2021/09/03
कोरोना भाइरसको संक्रमण रोकथामका लागि तीन जिल्लाका प्रशासन कार्यालयले गत बैशाख ६ गते सिनेमा घर बन्द गर्ने निर्णय गर्‍यो । त्यसबेला हलमा अभिनेता सन्दिप क्षेत्री अभिनीत फिल्म ‘श्री’ प्रदर्शनरत थियो । संक्रमण फैलिनबाट रोक्न प्रशासनले सिनेमा हल खोल्न प्रतिबन्ध लगाएपछि फिल्म एक सातामै उत्रियो । जसले गर्दा यो फिल्मले प्रचारमा भएको खर्च समेत उठाउन सकेन ।
 
बिहीवारबाट तीनै जिल्लाका प्रशासन कार्यालयले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर सिनेमा हल सञ्चालन गर्न अनुमति दिएको छ । चार महिनापछि हल खुल्न लागेको कुराले फिल्मकर्मीहरु उत्साहित भएका छन् । हल व्यवसायीहरु पनि बुधवारबाटै सिनेमा घरको सरसफाईमा जुटेका छन् । तर, तत्काल कुन फिल्मबाट सिनेमा घरको टिकट काउन्टर खोल्ने भन्ने निधो भइसकेको छैन । 
 
 
सिनेमा हलसम्म दर्शक आउने माहोल नबनेसम्म नयाँ फिल्म रिलिज गर्न निर्माताहरु तयार नदेखिएको अवस्थामा प्रदर्शनकै क्रममा रोकिएको फिल्म ‘श्री’ लाई नै पुनः प्रदर्शन गर्ने तयारीमा यसको वितरक कम्पनी जुटेको छ । जिजिए ग्रुपका हर्ताकर्ता करण श्रेष्ठले अन्यायमा परेको फिल्मलाई न्याय दिनुपर्ने बताए । रिलिजकै क्रममा रोकिएकाले ‘श्री’ लाई पुनः रिलिज गर्नुपर्ने उनको माग छ । 
 
उनी भन्छन्, ‘फिल्मको पहिलो शोमा ५ जना दर्शक थिए । बलियो माउथ पब्लिसिटीपछि फिल्मले दर्शकको संख्या बढाउँदै लगेको थियो । तर, कोरोनाका कारण सिनेमा हल बन्द भएपछि फिल्म राम्रोसँँग चल्न पाएन । अब फेरि यही फिल्म रिलिज गरेर सिनेमा घरको पर्दा उघार्नुपर्छ । किनकि, रिलिजकै क्रममा रोकिएर यो फिल्ममाथि अन्याय भएको छ । पुनः रिलिज गरेर न्याय दिनुपर्छ ।’
 
कोरोना महामारीभन्दा अगाडि जिजिए ग्रुपसँग वितरण गर्ने फिल्म एक दर्जन बढी थिए/छन् । ‘म यस्तो गीत गाउँछु २, चिसो मान्छे, माइकल अधिकारी, मनसँँग मन’ लगायतका फिल्मको वितरण यही ग्रुपले गर्दैछ । वितरक श्रेष्ठ आउँँदो दशैंमा यीमध्ये दर्शकले प्रतिक्षा गरेको एक फिल्म रिलिज हुने बताए । यसका लागि हल व्यवसायीदेखि वितरकसम्मको साथ चाहिने उनको भनाई छ ।
 
एभरेष्ट सूर्य बोहोराद्वारा निर्देशित ‘श्री’ मा सन्दिप क्षेत्री, रविन्द्र झा, वर्षा सिवाकोटी, बुद्धि तामाङ, राजाराम पौडेल, बसुन्धरा भुसाल, भोलाराज सापकोटा, मोहनकृष्ण श्रेष्ठ, सविता गुरुङ लगायतको अभिनय छ । सविता गुरुङले निर्माण गरेको यो फिल्म सिनेमा घर र ओटीटी प्लेटफर्ममा एकसाथ रिलिज भएको थियो । फिल्ममा शेरबहादुर तामाङको छायांकन र सुजन बडालको सम्पादन छ ।
Most Visited News (monthly)