
अभिनेता तथा ‘बिग बोस १३’ का विजेता सिद्धार्थ शुक्लाको निधन भएको छ । उनको हृदयघातका कारण बिहीवार मुम्बईको कुपर अस्पतालमा निधन भएको हो । ४० वर्षीय शुक्लाले बुधबार (हिजो) राति सुत्नुअघि औषधि खाएर सुतेका तर बिहीवार बिहान उनको हृदयघातका कारण निधन भएको अस्पतालले जनाएको छ । उनको शरीरको बाहिरी भागमा कतै चोटको निशान देखिएको छैन ।
सिद्धार्थको जन्म १९८० को डिसेम्बर १२ मा भएको थियो । उनले मोडलको रुपमा आफ्नो करिअर सुरु गरेका थिए । सन् २००५ मा उनले ‘वर्ल्ड बेस्ट मोडल’ को उपाधि जितेका उनी त्यसपछि टेलिभिजन सिरियलमा देखिन थालेका थिए । ‘ब्रोकेन बट ब्यूटीफुल ३, बालिका वधु र दिल से दिल तक’ जस्ता सिरियलबाट उनी चर्चित बनेका थिए । उनी ‘फियर फ्याक्टर ७’ को पनि विजेता हुन् ।
टिभी इन्डस्ट्रीमा सफलतापछि सिद्धार्थले बलिउड पनि पाइला राखेका थिए । सन् २०१४ मा रिलिज भएको सुपरहिट फिल्म ‘हम्पटी शर्मा की दुल्हनिया’ मा उनी सहायता अभिनेताको रुपमा थिए । उनका एक आमा र दुई दिदी बहिनी छन् । उनले निधनले बलिउड शोकमा डुबेको छ । टिभी इन्डस्ट्रीदेखि बलिउडका ठूला स्टारहरुले उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

