Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सिनेमा हलमा के देखाउने भन्ने चिन्ता छैन : मधुसुदन प्रधान

फिल्मीखबर, काठमाण्डौ, 2021/09/02
कोभिड १९ का कारण नेपालमा कुनै व्यवसाय चौपट भएको छ भने त्यो सिनेमा हल हो । मानिसको भीडभाड रहने क्षेत्र भएकाले संक्रमण फैलिन सक्ने भन्दै गत चैतमा सरकारले सिनेमा हल बन्द गर्ने निर्णय गरेको थियो । त्यसको करीब ९ महिना सिनेमा हल बन्दै रहे । माघबाट भने सरकारले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर ५० प्रतिशत अनुपेन्सीमा हल खोल्न अनुमति दियो ।
 
९ महिनापछि खुलेको सिनेमा हलमा हल व्यवसायीहरुले सुरुमा पुराना फिल्म रिलिज गरे । तर, त्यसले दर्शक तान्न सकेन । पछि केही नयाँ फिल्म रिलिज गरे । कोरोनाको भयले नयाँ फिल्म हेर्न पनि दर्शक हलसम्म पुगेनन् । गत चैत अन्तिममा केही आशातित फिल्म रिलिजको तयारीमा थिए । तर, ती फिल्म रिलिज हुन नपाउँदै कोरोनाको दोस्रो महामारीले फेरि सिनेमा हल बन्द भए । 
 
 
बिहीवारबाट काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य सुरक्षा अपनाएर तीन क्षेत्रका सिनेमा हल खोल्न अनुमति दिएको छ । सिनेमा हल खोल्न दिने प्रशासनको निर्णयलाई फिल्मकर्मीहरुले स्वागत गरेका छन् । तर, सिनेमा हल खुले पनि सुरुवात कुन फिल्मबाट गर्ने भन्ने प्रश्न अनुत्तरित छ । किनकि, तत्काल नयाँ फिल्म रिलिज हुने सम्भवना अत्यन्त न्यून छ ।
 
हल व्यवसायीहरुको संस्था नेपाल चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले हलमा कुन फिल्म चलाउने भन्ने चिन्ता नरहेको बताए । उनले भने, ‘सम्बन्धित निर्माता तथा वितरकसँग हाम्रो निरन्तर कुरा भइरहेको छ । अहिले हामी होमवर्कमा छौं । सकभर नयाँ फिल्म देखाउन प्रयास गरिरहेका छौं ।’ अबको एक हप्ता हलको सरसफाई लगायतका काममा समय लाग्ने उनको भनाई छ ।
 
पुरानो फिल्म रिलिज गरेर सिनेमा हल चलाउन नसकिने बताउँँदै उनले हलसम्म दर्शक तान्न नयाँ फिल्म नै चाहिने बताए । ‘फेरि पुरानो फिल्म चलाउने प्रयास गरे असफल भइन्छ । त्यसैले नयाँ फिल्ममै जोड दिइरहेका छौं । हामीसँग केही पाइपलाइनमा फिल्म छन् । विभिन्न निर्मातासँग छलफल पनि गरिरहेका छौं । त्यसैले सिनेमा हलमा कुन फिल्म देखाउन भन्ने चिन्ता छैन,’ उनले भने । 
 
हल व्यवसायीहरुसँग सिनेमा हल खोल्नुको विकल्प रहनेको पनि उनको भनाई छ । ‘रोइरहनुभन्दा गाइरहनु बेस भनेझैँ सिनेमा हल बन्द गरिरहनु भन्दा खोल्नै ठिक हो,’ उनले अगाडि भने, ‘सिनेमा हल बन्दको बन्द हुँदा अब यो नखुल्ने पो होकि भन्ने मानिसले सोच्न थालिसकेका छन् । त्यसलाई चिर्न पनि हल खोल्नु पर्छ । हामीलाई विभिन्न खाले तनाव भए पनि हल खोल्नुको विकल्प छैन ।’ 
Most Visited News (monthly)