Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अमिताभ बच्चनको फिल्म नेपालमा खिचिने

फिल्मीखबर, काठमाडौं, 2021/09/01
 
‘प्रेम रतन धन पायो’ फेम्ड निर्देशक सूरज बडजात्याले आफ्नो नयाँ फिल्मको छायांकन नेपालमा गर्ने भएका छन् । फिल्म ‘उचाइँ’ को छायांकनका लागि उनीसहित कलाकारहरु बोमन इरानी, परिणिती चोपडा, अनुपम खेर, निना गुप्ता नेपाल आउँदैछन् । फिल्मको हिमाली क्षेत्रमा सुटिङ गर्नुपर्ने भएकाले निर्देशक बडजात्याले नेपाललाई रोजेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
 
फिल्ममा अभिनेता अमिताभ बच्चन पनि मुख्य भूमिका छन् । तर, उनी नेपाल आउने छैनन् । स्वास्थ्य अवस्थाका कारण उनलाई परिवारले चिसो ठाउँमा पठाउन नमानेपछि उनीबाहेकको टिम नेपाल आउन लागेको हो । अक्टोबरबाट नेपालमा छायांकन हुने फिल्मको नेपाल व्यवस्थापन थ्री ह्विलर्स कम्पनीले हेरेको छ । फिल्मको लुक्ला, नाम्चे, लाङटाङ र मनाङ क्षेत्रमा छायांकन हुनेछ ।
 
मित्रताको कथामा निर्माण हुन लागेको फिल्मको ४० देखि ४५ दिनसम्म नेपालमा छायांकन हुने भारतीय अनलाइन पिंकभिल्लाले उल्लेख गरेको छ । निर्देशक बडजात्या लामो समय फिल्मको छायांकनका लागि एक सुरक्षित स्थानको खोजीमा थिए । लोकेशन खोज्न उनी विदेशका विभिन्न ठाउँमा समेत पुगेका थिए । तर, पछि उनले हिमाली क्षेत्रको छायांकनका लागि नेपाल रोजेका हुन् । 
 
फिल्मको छायांकनको विषयमा छलफल गर्न केही समय अगाडि निर्देशक बडजात्या नेपाल आएका थिए । करीब दुई साता नेपाल बसेर उनले छायांकन स्थलको टुंगो लगाएका हुन् । फिल्मको छायांकन अनुमतिका लागि नेपाल व्यवस्थापन हेर्ने कम्पनी थ्री ह्विलर्सले सञ्चार मन्त्रालयसँग अनुमति मागेको छ । यो फिल्ममार्फत सुरज र अमिताभले पहिलो पटक सहकार्य गर्न लागेका हुन् । 
Most Visited News (monthly)