सूर्य एन श्रेष्ठको निर्देशनमा बनेको फिल्म ‘लाइफ इन एलए’ को पहिलो गीत सार्वजनिक भएको छ । सोमवार ललितपुरस्थित लबिङ मलमा रहेको क्यूएफएक्स हलमा एक कार्यक्रमका बीच निर्माण टिमले फिल्ममा समावेश ‘पागल प्रेमी’ बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको हो । यस गीतमा प्रताप दास र कविता श्रेष्ठको स्वर, सुन्दर पन्थको शब्द र एलिस कार्कीको संगीत छ ।

तनहुँ क्षेत्रको विभिन्न रमणीय स्थानमा खिचिएको गीतको भिडियोमा नव-अभिनेता ब्यास बिस्सुले अभिनेत्री द्वय शिल्पा मास्के र अकेशा विस्टसँग रोमान्स गरेका छन् । गीतले प्रेमभाव बोल्छ । त्रिकोणात्मक प्रेमकथामा आधारित भएर निर्माण भएको फिल्मलाई नेपाल र अमेरिकामा खिचिएको हो । फिल्मले अमेरिकामा बस्ने नेपालीको संघर्ष र सफलताको कथा भन्ने निर्देशक श्रेष्ठले बताए ।
फिल्ममा गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, प्रविन खत्रीका साथै अमेरिकाका कलाकार जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको पनि अभिनय छ । ब्यास इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मलाई ब्यास बिस्सुले निर्माण गरेका हुन् । संसार अन्जान सुवेदी कार्यकारी निर्माता रहेको फिल्ममा अमेरिकाको लागि राजेन्द्र ठकुराथी निर्माताको रुपमा छन् ।
भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन रहेको फिल्ममा कविराज गहतराज र सुरज श्रेष्ठको करियोग्राफी, एलिस कार्कीको संगीत, क्रिस वारेन र एडवर्ड उकेन (अमेरिका) र बाबु श्रेष्ठ (नेपाल) को छायांकन छ । सरकारले सिनेमा हल खोल्न अनुमति दिए आउँदो दशैंमा फिल्म प्रदर्शनमा आउनेछ । त्यसअघि फिल्मलाई अमेरिकाको विभिन्न ठाउँमा प्रदर्शन गर्ने ब्यासको तयारी छ ।
गीत हेर्नुहोस् :-

