कोरोना महामारीका कारण करीब दुई वर्षदेखि फिल्म क्षेत्र ठप्प छ । गत वर्ष ९ महिना बन्द भएर खुलेको यो क्षेत्र कोरोनाको दोस्रो लहर सुरु भएसँगै फेरि अनिश्चितकालका लागि बन्द भयो । संक्रमण दर अझै स्थिर भएकाले दशैंअघि सरकारले छायांकन गर्न र सिनेमा हल खोल्न अनुमति दिने सम्भावना कम छ । यस्तो अवस्थाले यस क्षेत्रमा आश्रित जो कोहीको भविष्य अन्योल बनेको छ ।
निषेधाज्ञा खुकुलो भएदेखि जोखिम मोलेरै केही निर्माताहरुले फिल्म बनाइरहेका छन् । तर, उनीहरुसँग फिल्म बनाएर देखाउने चाहिँ कहाँ भन्ने प्रश्नको उत्तर छैन । ‘बनाएर राखौंन’ भन्ने जवाफ मात्र सुन्न पाइन्छ । नेपालमा शक्तिशाली ओटीटी प्लेटफर्म नहुँदा निर्मातासँग फिल्म रिलिजका लागि हल कुर्नुको अरु विकल्प छैन । तर, कुर्ने चाहिँ कहिलेसम्म ? यो अहिलेको टट्कारो प्रश्न हो ।

कोरोनाका कारण सिनेमा हल खुल्ने अनिश्चित हुँदा केही निर्देशकहरुले डिजिटल प्लेटफर्मका लागि वेब सिरिज बनाइरहेका छन् । यसमा फिल्मभन्दा कम जोखिम मानिन्छ । ‘बलवान, जंगली मान्छे, मार्यो नी मायाले मार्यो, जंगल क्विन’ जस्ता फिल्मका निर्देशक तथा निर्माता बाबु बलामी पनि सिनेमा हल बन्द भएपछि नयाँ फिल्मको कामलाई थाती राखेर वेब सिरिज निर्माणमा जुटेका छन् ।
उनको निर्देशनमा बन्न लागेको ‘क्रियापुत्री’ वेब सिरिजको सोमवार कमलादीस्थित गणेश मन्दिरमा मुहुर्त गर्दै छायांकन थालिएको छ । पिउस मगर, देव महर्जन, बद्री शाह, सौरभ नूतन, सिजन तिवारी, विकास थापा, मेनुका माझी लगायतका कलाकारको अभिनय रहने सिरिजमा आमा-बुबाको निधनपछि क्रियाकर्म गर्ने एक नारी समाजमा कसरी अगाडि बढ्छे भन्ने देखाउने बलामीले बताए ।
अहिलेको अवस्थामा फिल्मभन्दा सिरिज बनाउन कम जोखिम रहेको उनको भनाई छ । ‘सिरिजमा सानो लगानी हुन्छ र जोखिम पनि सानै हुन्छ । तर, फिल्म ठूलो लगानीमा बन्ने भएकाले जोखिम पनि ठूलै हुन्छ । कोरोनाअघि मैले पनि एउटा फिल्म बनाउन लागेको थिएँ । तर, हल बन्द भएपछि आँट गरिनँ । अहिले फिल्म बनाएर देखाउन कहाँ ? त्यसैले वेब सिरिज बनाउन लागेको हुँँ ।’

शिबानी बलामीको प्रस्तुति रहेको यस सिरिजमा शिबानी बलामी, रवीराज आचार्य र बद्री शाह निर्मातामा रहेका छन् । त्यस्तै, सिरिजमा पारस कुँवरको लेखन, सौखिन तिमिल्सिनाको सम्पादन, जीवन श्रेष्ठको छायांकन, तर्कराज न्यौपानेको सहायक निर्देशन, देव महर्जनको द्वन्द्व र सुरेश पाण्डेको कोरियोग्राफी रहनेछ । निर्देशक बलामीले यो सिरिजलाई फिल्मी शैलीमा बनाइने बताए ।

