.jpg)
कोरोना महामारीका कारण घरभित्रै कुँजिनुपर्दा मानिसमा मानसिक समस्या देखिएको छ । रोजगारी गुमाउँदा, आय आर्जनको बाटो बन्दा हुँदा, पठनपाठन स्थगितलगायतका कारणले मानिसमा छटपटी र चिन्ता बढेको छ । यसका कारण कतिपयले आत्महत्याको बाटो समेत रोजेका छन् । यो समयमा मनको अशान्ति भगाउँदै शरीर फूर्तिलो बनाउनु अपरिहार्य बनेको छ ।
कोरोना भाइरसका कारण आम मानिससँगै सेलिब्रेटीहरुमा पनि मानसिक समस्या उत्पन्न भएको छ । यसबाट छुटकारा पाउन कलाकारहरुले योग, व्यायाम, प्रणायमबाट मनलाई शान्त र एकाग्र बनाउने प्रयास गरिरहेका छन् । केही हप्ता अगाडि कोरोना संक्रमणलाई जितेकी भर्सटायल अभिनेत्री ऋचा शर्माले पनि मनलाई शान्त बनाउन सिङगिङ हिलिङ थेरापी सुरु गरेकी छन् ।
५ हजार वर्ष पुरानो यो थेरापीले तनाव कम गर्ने, मूड राम्रो बनाउने, ब्लड प्रेसर नियन्त्रित गर्ने, कोलेस्टेरोलको स्तर कम गर्ने, राम्रो निन्द्रा आउने, स्ट्रोकको खतरा कम गर्ने गर्दछ । यो थेरापीमा ध्वनी निस्कने कचौराको प्रयोग गरिन्छ । यसबाट निस्कने आवाजले मानिसलाई आराम प्रदान गर्छ । अभिनेत्री ऋचाले सिङगिङ हिलिङ थेरापी गरेका तस्विरहरु इन्स्टाग्राममा पोस्ट गरेकी छन् ।
हातमा सिङगिङ बाउल (गाउने कचौरा) बोकेर 🕉 उच्चारण गर्दै ध्यान गरेको तस्विर शेयर गर्दै उनले लेखेकी छन्, ‘जीवनमा मुल्यवान चिज भनेको मनको शान्ति हो । कायाकल्प गर्न र शान्त आत्मा प्राप्त गर्नका लागि सिङगिङ हिलिङ थेरापी ।’ बुढानिलकण्ठमा रहेको स्वध्यान हिलिङ एन्ड थेरापीमा ऋचाले मनको शान्तिका लागि सिङगिङ हिलिङ थेरापी गरेकी हुन् ।

