
फिल्म ‘ए मेरो हजुर ३’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी सुहाना थापा फूलपातीदेखि फिल्म ‘ए मेरो हजुर ४’ को छायांकनमा व्यस्त छिन् । डेब्यू फिल्ममा उनको अभिनयको मुक्तकण्ठले प्रशंसा भएको थियो । यो फिल्म बक्सअफिसमा सुपरहिट सावित हुँदा उनलाई बाहिरी ब्यानरको फिल्मबाट प्रस्तावको ओइरो लागेको छ । तर, उनी होम प्रोडक्सनबाट बाहिर निस्किएकी छैनन् ।
शनिवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण घोषणा गरिएको फिल्म ‘डिसेम्बर फल्स’ पनि सुहानालाई अफर गरिएको जानकारी प्राप्त भएको छ । यो फिल्ममा अभिनेता आर्यन सिग्देलले मुख्य भूमिका निर्वाह गर्दैछन् । उनको अपोजिटका लागि निर्माण टिमले सुहानालाई प्रस्ताव गरेको हो । फिल्ममा नायक र नायिकाको उमेर अन्तरको कथालाई प्रेमिल ढंगले पेश गरिनेछ ।
फिल्मको निर्माण घोषणा कार्यक्रममा निर्माता लक्ष्मण रिजालले एक अभिनेत्रीसँग कुराकानी भइरहेको बताएका थिए । तर, उनले अभिनेत्रीको नाम भने खुलाएका थिएनन् । सुहानाका पिता सुनिल कुमार थापाले फिल्म ‘डिसेम्बर फल्स’ बाट अफर आएको कुरा स्वीकार गरेका छन् । तर, सुहानाले फिल्म गर्ने वा नगर्ने टुंगो नभएको उनले बताए । सुहानाले स्क्रिप्ट पढिरहेको उनी बताउँछन् ।
सुहानालाई फिल्मको स्क्रिप्ट मन परेको बुझिएको छ । फिल्म ‘ए मेरो हजुर ४’ को छायांकन पूरा गरेपछि उनले ‘डिसेम्बर फल्स’ मा काम गर्न सक्ने स्रोत बताउँछ । ‘ए मेरो हजुर’ को दुई सिरिजमा अनमोल केसीसँग रोमान्स गरेकी सुहाना आर्यनसँग जोडी बाँध्न तयार भएको खण्डमा यी दुईलाई पर्दामा हेर्न निकै रोचक हुने देखिन्छ । फिल्ममा सलोन बस्नेतको पनि अभिनय रहनेछ ।

