Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आर्यनलाई अंग्रेजी नामको फिल्म फाप्ने हो ?

फिल्मीखबर, काठमाडौं, 2020/11/22
विराज भट्ट र निखिल उप्रेतीको एकछत्र दबदबा तोड्दै नेपाली फिल्ममा भित्रिएका अभिनेता आर्यन सिग्देल एक समय लभस्टोरी फिल्ममा पहिलो रोजाई थिए । लभस्टोरी फिल्ममा उनी जति उम्दा अभिनय गर्ने अभिनेता नेपाली फिल्ममा अरु नभएको चर्चा अहिले पनि हुने गरेको छ । डेब्यू फिल्म ‘किस्मत’ सफल भएपछि उनले एक दशक करिअर पछाडि फर्केर हेर्नु परेको थिएन । 
 
करिअरको उत्कर्षमा रहँदा उनले नेपाली फिल्मको नम्बर वान अभिनेताको पगरी समेत पाएका थिए । तर, नेपाली फिल्ममा राम्रो माग हुँदा गुणस्तरभन्दा संख्यात्मक अभिनयमा जोड दिएपछि उनको स्टारडम कमजोर बनेको छ । कुनै समय बक्सअफिसका हिट मेशिन मानिने आर्यन केही वर्षयता एउटा हिट फिल्मको खोजीमा छन् । उनी अभिनीत पछिल्ला कुनै फिल्म सफल छैनन् । 
 
 
गत वर्ष उनी अभिनीत दुई फिल्म ‘हजार जुनीसम्म’ र ‘चच हुईं’ प्रदर्शनमा आएका थिए । तर, दुवै फिल्मले उनको डुब्न लागेको करिअर बचाउन सकेनन् । अब उनी नयाँ फिल्म ‘डिसेम्बर फल्स’ मा काम गर्ने तयारीमा छन् । शनिवार यो फिल्मको राजधानीमा एक कार्यक्रममा बीच निर्माण घोषणा गरिएको छ । माघबाट छायांकन सुरु हुने फिल्ममा सलोन बस्नेतको पनि अभिनय रहनेछ ।
 
‘डिसेम्बर फल्स’ अंग्रेजी नाम हो । आर्यनले यसअघि पनि अंग्रेजी नाममा बनेका ‘फस्ट लभ, नोभेम्बर रेन, क्लासिक, होमवर्क, आई एम सरी’ फिल्ममा अभिनय गरिसकेका छन् । उनलाई अंग्रेजी नाममा बनेका फिल्म फाप्छ समेत भन्ने गरिन्छ । ‘फस्ट लभ, नोभेम्बर रेन र क्लासिक’ यसका उदाहरण हुन् । आर्यन भने अंग्रेजी नामका फिल्ममा आबद्ध हुनुलाई संयोगको रुपमा लिन्छन् ।
 
‘डिसेम्बर फल्स’ को घोषणा कार्यक्रममा उनले भने, ‘मलाई अंग्रेजी नाम फापेको हो कि अंग्रेजी महिना फापेको हो, थाहा भएन । तर, फिल्मको मुडलाई बोक्ने टाइटल हुनुपर्छ । अन्तर्राष्ट्रिय भाषा भए पनि समस्या छैन ।’ यो फिल्ममा आर्यन सिग्देलले आफ्नो उमेरभन्दा निकै कान्छी यूवतीसँग अनस्क्रिन रोमान्स गर्नेछन् । तर, अहिलेसम्म फिल्मका लागि अभिनेत्रीको टुंगो लागेको छैन । 
Most Visited News (monthly)