
भारतीय अभिनेत्री तथा राजनीतिज्ञ किरण खेरका छोरा तथा अभिनेता सिकन्दर खेरले सोसल मिडियाको माध्यमबाट काम मागेका छन् । उनले इन्स्टाग्राममा एक पोस्ट गर्दै काम मागेका हुन् । उनले आफ्नो एक तस्विर पोस्ट्याउँदै लेखेका छन्, ‘मलाई काम चाहिएको छ । म हाँस्न पनि सक्छु ।’ तस्विरमा उनी निकै निराश मुद्रामा देखिएका छन् भने ओठमा मुस्कानसम्म देखिएको छैन ।
उनको यो पोस्टमा कमेन्ट गर्दै निर्देशक अपूर्व लखियाले लेखेका छन्, ‘सर अमिताभ बच्चनपछि कुनै व्यस्त कलाकारलाई जान्दछु भने त्यो तपाईं हो ।’ हालै सिकन्दर डिज्नी प्लस हटस्टारको वेब सिरिज ‘आर्या’ मा देखिएका थिए । यो सिरिजमा उनी सहायक भूमिकामा थिए । योसँगै उनी अर्को एक सिरिज र फिल्ममा काम गर्ने तयारीमा छन् । उनी ‘मुम भाई’ सिरिजमा पनि देखिँदैछन् ।
सिकन्दर खेर, किरण खेरका पहिलो श्रीमान गौतम बेरीका छोरा हुन् । जब उनी तीन वर्षका थिए तब किरणले अभिनेता अनुपम खेरसँग विवाह गरेकी थिइन् । सिकन्दर र अनुपमको बीच निकै राम्रो बोन्डिङ छ । हालै छोराका लागि अनुपमले निकै लामो पोस्ट लेखेका थिए । सिकन्दरले कयौं टिभी सिरिज र फिल्ममा अभिनय गरिसकेका छन् । उनी चाँडै फिल्म ‘सूर्यवंशी’ मा देखिँदैछन् ।

