
‘गैंडा’ उपनामले परिचित कलाकार, निर्माता तथा निर्देशक निर्मल शर्मा विगत दुई हप्तादेखि कोरोना भाइरससँग लडिरहेका छन् । सामान्य ज्वरो आएपछि पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । यसपछि उनी होम आइसोलेसनमा बसेर स्वास्थ्य लाभ गरिरहेका छन् । कोरोना पुष्टि भएपछि उनले यसापालीको तिहार समेत मनाउन पाएनन् ।
सामाजिक सञ्जालमा दैनिक विभिन्न विषयमाथि व्यंग्यात्मक शैलीमा आफ्नो अभिव्यक्ति राख्ने गरेका कलाकार शर्माले कोरोना भाइरसलाई सामान्य रुपमा नलिन सुझाव दिएका छन् । शुक्रवार फेसबुकमा स्टाटस लेख्दै उनले कोरोनाले बडी सेप, ट्याटु, घाँटीको सिक्री नहेर्ने बताएका छन् । जाडोको मौसममा कोरोनाबाट बच्न अनिवार्य न्यानो कपडा लगाउन पनि उनको आग्रह छ ।
‘चिसो कुरा केही नखानुहोला, दिनकै २२/२५०० को दरले काठमाडौंमा संक्रमित हुँदैछन् । कोरोनाले धनी गरिब केही भन्दैन । एकदमै होस् गर्न बिनम्र अनुरोध गर्दछु,’ उनले लेखेका छन् । उनले केही दिन अगाडि कोरोना, बेरोजगारी, गरिबी र भोकमरीको अवस्थामा सत्ता र शक्तिका लागि घिनलाग्दो गाईजात्रे लडाँईमा रमाउनेहरुलाई जनताको आँशुको श्राप लाग्ने बताएका थिए ।
पछिल्लो समय फिल्म निर्माण र अभिनयमा सक्रिय रहेका कलाकार शर्माले फिल्म ‘चलकेट’ को निर्देशन समेत गरेका छन् । हास्य टेलिसिरियल ‘तीतो सत्य’ पछि उनले दीपकराज गिरी र दीपाश्री निरौलाको समुहमा रहेर ‘६ एकान ६ र वडा नम्बर ६’ को निर्माण गरेका थिए । यसपछि उनी दीपक-दीपाको समुहबाट बाहिरिए । अब फेरि उनको यो टिममा इन्ट्री भएको चर्चा फिल्मवृतमा छ ।

