नेपाली दर्शकले सिनेमा हलमा फिल्म हेर्न नपाएको ८ महिनाभन्दा बढी भइसकेको छ । कोरोना भाइरसका कारण सिनेमा हल बन्द हुँदा निर्माण सम्पन्न भएका फिल्म समेत प्रदर्शनमा आउन सकेका छैनन् । फिल्म प्रदर्शनका लागि उपयुक्त समय मानिने दशैं र तिहारमा समेत बन्द रहेका सिनेमा हल अब कहिले खुल्छ, कुनै टुंगो छैन । सरकारले सिनेमा हल खोल्न चासो देखाएको छैन ।
(1)(3).jpg)
लामो समयदेखि ठूलो पर्दामा फिल्म हेर्न नपाएका दर्शकलाई यूट्युबमा सार्वजनिक भएका फिल्मले धेरथोर न्यास्रो मेटाएको छ । लकडाउनमा ‘पोइ पर्यो काले, ए मेरो हजुर ३, साइँली’ लगायतका केही फिल्म यूट्युबमा सार्वजनिक भए । छठ पर्वको छेकोमा दुई वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘प्रसाद’ पनि यूट्युबमा सार्वजनिक भएको छ । यो फिल्मका निर्देशक दिनेश राउत हुन् ।
जातीय छुवाछूत र निःसन्तान दाम्पतीको कथा वाचन गरेको फिल्ममा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतको प्रमुख भूमिका छ । विपिन र नम्रता श्रीमान-श्रीमतीको भूमिकामा रहेको फिल्ममा निश्चल नेगेटिभ रोलमा छन् । व्यापारिक र समीक्षात्मक रुपमा सफल ठहरिएको फिल्मलाई यूट्युबमा पनि दर्शकले प्रशंसा गरेका छन् । प्रायःले विपिन कार्कीको अभिनय मन पराएका छन् ।
यूट्युबमा रिलिजको २० घण्टामा साढे ५ लाख भ्यूजसहित ट्रेन्डिङको ८औं नम्बरमा रहेको फिल्मलाई २३ हजार लाइक्स मिलेको छ । २० घण्टामा फिल्मलाई प्राप्त १७ सयभन्दा बढी कमेन्टमा अधिकांशले कलाकारको अभिनय, गीतसंगीत, कथावस्तु र निर्देशकिय पक्षको तारिफ गरेका छन् । फिल्मले नेपाली समाजको तीतो यथार्थलाई पेश गरेको भन्दै दर्शकले प्रशंसाको पुल बाँधेका छन् ।
‘प्रसाद’ को सफलतापछि अहिले यसको निर्माण टिम सिक्वेल/प्रिक्वेलको तयारीमा छ । स्थिति सामान्य भएपछि छायांकन सुरु हुने फिल्मलाई सौरभ चौधरीले निर्देशन गर्नेछन् । सुभाष थापाले निर्माण गर्ने फिल्ममा विपिन, नम्रता र निश्चलको नै अभिनय रहने छ । करीब ६ महिनादेखि लेखक सुशील पौडेलले फिल्मको स्क्रिप्टमा काम गरिरहेका छन् । फिल्मको नाम ‘प्रसाद २’ राखिएको छ ।
भिडियो :-

