
आगामी फागुन २ गते (भ्यालेनटाइन डे)बाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘रंगी’को अघिल्लो साता सार्वजनिक ट्रेलरमा एउटा दृश्य छ, जसमा अभिनेता सलोन बस्नेतले मन्दिरमा एक युवतीसँग विवाह गरेको देख्न सकिन्छ । तर, ती युवती को हुन् भन्ने गोप्य राखिएको थियो । मंगलबार शीर्ष गीतले त्यो रहस्य खुलाएको छ । ती युवती अरु कोही नभएर अभिनेत्री मलिका महत हुन् ।

भेट्रान निर्देशक तुलसी घिमिरेले आफ्नो कमब्याक फिल्म ‘पहाड’को छायांकन सुरु गरेका छन् । मंगलबार ऐतिहासिकस्थल गोर्खा दरबार परिसरमा मुहूर्त पूजा गरेपछि फिल्मका मुख्य अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ, अरुण क्षेत्री र अभिनेत्री पञ्चमी घिमिरेको पहिलो सट लिइएको थियो । पञ्चमी निर्देशक घिमिरेकी कान्छी छोरी हुन् । उनले यही फिल्मबाट अभिनयमा डेब्यु गर्न लागेकी हुन् ।


सम्पादन र निर्देशन दुवै विधामा आफूलाई स्थापित गरेका सुरेन्द्र पौडेल अब चौथो फिल्मको रुपमा ‘वरिष्ठ बलराम’ निर्देशन गर्ने तयारीमा छन् । यसको घोषणा करिब एक वर्षअघि नै भएको थियो । तर, कलाकार, निर्माता र लेखक फेरबदलका कारण निर्माण अन्योल बनेको थियो । अब भने आगामी फागुन पहिलो साताबाट फिल्मको छायांकन सुरु हुने निर्देशक पौडेलले जानकारी दिए ।


आगामी फागुन २ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘दुःखी आत्मा’को ट्रेलर सार्वजनिक गरिएको छ । वसन्त पञ्चमीको दिन पारेर सोमबार सार्वजनिक चार मिनेट लम्बाईको ट्रेलर एक पात्रको वरिपरि घुमेको छ, जो यौन दुर्बलता (इरेक्टाइल डिस्फङ्कसन)बाट पीडित छ । उसमा यौन चाहना भएपनि यौन दुर्बलताका कारण भोग्नुपरेको समस्यालाई ट्रेलरमा हास्य शैलीमा प्रस्तुत गरिएको छ ।

