
जिबी आग्रीको निर्देशनमा फिल्म ‘द महावीर’ बन्ने भएको छ । आइतबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो । पोस्टरमा दुईवटा घोडामा चढेका दुई व्यक्ति आमनेसामने भएको देखिन्छ । र, बीचमा ठूलो तरवार रातो कपडाले बेरिएको अवस्थामा छ । पृष्ठभूमिमा भने युद्ध भइरहेको देखिन्छ । पोस्टरबाट फिल्म ऐतिहासिक कथामा आधारित रहने प्रष्ट हुन्छ ।

‘मेयर’पछि अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा राउतले दोस्रो पटक सहकार्य गरेको फिल्म ‘हर्ष’को छायांकन सकिएको छ । शनिबार चितवनमा एक गीत खिच्दै ३५ दिनमा फिल्मको छायांकन प्याकअप भएको हो । यो अवधिमा ५ वटा गीतसहित फिल्मको सम्पूर्ण दृश्य खिचिएको निर्देशक एकता पौडेलले जानकारी दिइन् ।

नामकै कारण चर्चा र विवादमा रहेको फिल्म ‘जनै हराएको बाहुन’को मुहूर्त गरिएको छ । आइतबार बिहान काठमाडौंको प्रसिद्ध बूढानीलकण्ठ मन्दिरमा क्यामरा र स्क्रिप्ट पूजा गर्दै मुहूर्त गरिएको हो । मन्दिर परिसरभित्रै फिल्मका कलाकारहरु मिरुना मगर, सुशांक मैनाली, गौरव पहाडी र भोलाराज सापकोटाले मुहूर्त सट दिएका थिए ।

अभिनेता राजेश हमालको ८ वर्षपछिको कमब्याक फिल्म ‘नरसिंहाः अवतार’को अघिल्लो साता सार्वजनिक फर्स्टलुक पोस्टरपछि विदेशमा माग बढ्न थालेको छ । र, निर्माताले फिल्मको प्रदर्शन अधिकार बिक्री गर्न सुरु गरिसकेका छन् । त्यसको सुरुवात जापानबाट भएको छ । जापानका लागि फिल्मको प्रदर्शन अधिकार यूएनए इन्टरटेन्मेन्टले खरिद गरेको हो ।

गायक प्रकाश सपूत गीतसंगीत क्षेत्रका ‘हिट मेसिन’ हुन् भन्दा अतिशयोक्ति हुँदैन । विगत ५/६ वर्षयता उनले सिर्जना गरेका प्रायः गीत लोकप्रिय छन् । र, फिल्म अभिनयमा पनि उनले निरन्तर सफलता पाइरहेका छन् । उनको डेब्यु फिल्म ‘परदेशी २’ नै हिट बनेको थियो भने दोस्रो फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले त व्यापारमा कीर्तिमानी नै बनायो । यसअर्थ उनलाई दुवै क्षेत्र फापेको छ ।

फिल्म ‘रणवीर’बाट डेब्यु गरेकी अभिनेत्री सुपुष्पा भट्ट पछिल्लो फिल्म ‘फेरि रेशम फिलिली’सम्म आइपुग्दा ‘लभर गर्ल’को भूमिकामा बढी देखिइन् । तर, यही चैत २९ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘पिताम्बर’मा भने उनी फरक भूमिकामा छिन् । यसमा उनले विधवा महिलाको भूमिका निभाएकी छन् । उनी आफूले खोजेको जस्तो भूमिकामा काम गर्न पाएकोमा खुसी छिन् ।

