Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘हे राम’ संवादका लागि अनुपमले गरेका थिए २०० पटक अभ्यास

फिल्मीखबर, काठमाडौं, 2026/11/18

Anupam Kher

 

काठमाडौं । नितेश तिवारीको निर्देशनमा बनेको फिल्म ‘रामायण’मा हिन्दू महाकाव्यका महत्त्वपूर्ण घटनाहरूलाई पर्दामा उतारिएको छ । त्यसमध्ये एक हो, सीतालाई रावण (दशानन)बाट बचाउन खोज्दा जटायु र रावणबीच हुने भीषण युद्ध । उक्त लडाइँमा जटायु गम्भीर घाइते भएर जमिनमा पछारिन्छन् । भगवान् रामसँगको भेटपछि भने उनको निधन भएको देखाइएको छ । 

फिल्ममा जटायुको पात्रमा अभिनेता अनुपम खेरले आवाज दिएका छन् । यस पात्रलाई जीवन्त बनाउन उनले आवाजमा निकै मिहिनेत गरेका थिए । विशेषगरी जटायुको अन्तिम संवाद ‘हे राम’लाई भावनात्मक र स्वाभाविक बनाउन उनले झन्डै २०० पटक अभ्यास गरेका थिए । पहिलो दिन आवाजमा पर्याप्त अभ्यास नपुगेको भन्दै उनले स्वरांकन समेत गरेका थिएनन् ।

‘भेराइटी’सँगको कुराकानीमा अनुपमले भनेका छन्, ‘विशेषगरी अन्तिमको ‘हे राम’ संवादका लागि मैले कम्तीमा २०० पटक प्रयास गरेको हुनुपर्छ । किनकि, यो निकै छोटो संवाद हो । हामीले यो शब्द धेरैपटक सुनेका र बोलेका पनि छौँ । तर, त्यतिबेलाको परिस्थिति सुहाउँदो आवाज र भाव निकाल्नु आवश्यक थियो । त्यसका लागि मैले धेरै दिनसम्म घरमै अभ्यास गरेको थिएँ ।’

जटायुको पात्रलाई आवाज दिँदा त्यसको अवस्था र मनोभावलाई आत्मसात् गर्नुपरेको उनको अनुभव छ । ‘जटायु एउटा साहसी पक्षी हो, जो वृद्ध छ, मृत्युको मुखमा छ र भर्खरै रावणसँग भव्य युद्ध गरेर आएको छ । सीतालाई रावणबाट बचाउन नसकेको पीडा पनि उसमा छ । यस्तो पात्रलाई जीवन्त बनाउन आत्मा र हृदयदेखि नै महसुस गर्नुपर्छ,’ उनले भने । 

दुई भागमा निर्माण गरिएको ‘रामायण’को पहिलो भागले विश्वभरबाट झन्डै १ हजार ५ सय करोड भारु कमाइ गरिसकेको छ । भारतमा मात्र फिल्मको व्यापार ८२० करोड भारु पुगेको छ । त्यसमा सबैभन्दा ठूलो योगदान हिन्दी भर्सनको छ । हिन्दी भर्सनबाट मात्रै फिल्मले ६२६ करोड भारु नेट कमाएको छ । भारतमा फिल्मको नेट कमाइ १ हजार करोड भारु पुग्ने आकलन गरिएको छ ।