
काठमाडौं । पछिल्लो समय पूर्वी सहर धरान नेपाली फिल्मको ठूलो व्यापारिक केन्द्रमध्ये एक बनेको छ । ‘पूर्णबहादुरको सारङ्गी’, ‘कबड्डी ५’, ‘जारी’ र ‘पेन्सन पट्टा’ जस्ता फिल्मले धरानमा आकर्षक कमाइ गरेका थिए । अब धरानमा फिल्मसम्बन्धी अन्य गतिविधि पनि बढ्न थालेका छन् । यसैक्रममा धरानमा पहिलो पटक फिल्म फेस्टिभल आयोजना हुने भएको छ ।
पूर्वमा फिल्म पत्रकारितामा सक्रिय विनोद विश्वकर्माले ‘धरान फिल्म फेस्टिभल’ आयोजना गर्न लागेका हुन् । मंसिर २७ र २८ गते हुने महोत्सवका लागि मंगलबार फिल्म आवेदन खुला गरिएको छ । इच्छुक निर्माताले क्यूआरमार्फत फिल्म दर्ता गर्न सक्नेछन् । फिचर फिल्म, सर्ट फिल्म र डकुमेन्ट्रीका लागि आवेदन खुला गरिएको महोत्सवका निर्देशक विश्वकर्माले जानकारी दिए ।
महोत्सवमा फिल्म प्रदर्शनसँगै कलाकारसँग अन्तरक्रिया, वर्कशप, मास्टरक्लास, प्यानल डिस्कसन, सम्मान तथा सांस्कृतिक प्रदर्शनी पनि राखिएको छ । फेस्टिभलले नेपाली फिल्म उद्योगको विकासमा टेवा पुर्याउनुका साथै धरानलाई कला, संस्कृति र फिल्म गतिविधिको महत्त्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुग्ने आयोजकको विश्वास छ ।

